मोदीको लाचारी, प्रियंकाको गिरफ्तारीः किसान 'मार्ने' मन्त्रीका छोरा अझै परेनन् पक्राउ

Photo: PTI
Photo: PTI

भारतको उत्तर प्रदेशस्थित लखीमपुर–खेरी हिंसात्मक प्रकरणले भारतीय किसानहरू झन्–झन् आन्दोलित र आक्रोषित बनेका छन्।

किसान मोर्चासँगै विपक्षी पार्टीहरूको चौतर्फी हमलाले सत्तारुढ भारतीय जनता पार्टी थप राजनीतिक संकटमा फसेको छ। कांग्रेस महासचिव प्रियंका गान्धी ३० घण्टा प्रहरी नजरबन्दमा बसेपछि बिहिबार गिरफ्तारीमा परिन्। उनी सीतापुरस्थित पीएसीको गेस्ट हाउसबाट पक्राउ परेकी हुन्।

नेत्री गान्धीविरुद्ध भारतीय संविधानको धारा–१४४ को उल्लंघन र शान्ति भङ्ग गरेको आरोपमा उजुरी दर्ता गरिएको छ। यसअघि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई लक्षित गरी लखीमपुर हिंसाबारे खरो आलोचना गरेकी थिइन्। उनको उक्त भिडियो सामाजिक सञ्जालमा खूब् भाइरल छ।

लखनऊ यात्रामा रहेकै बखत नेत्री गान्धीले प्रधानमन्त्री मोदीलाई प्रश्न गरेकी थिइन्– तपाई स्वतन्त्रता मनाउन लखनऊ आउनुभएको हो? लखीमपुरखेरी हिंसाको भिडियो देख्नुभएको छ? तपाईकै सरकारका एक मन्त्रीका छोराले चलाएको कारले आन्दोलित किसान कुचलिरहेको देखाइएको छ। तपाई यो भिडियो हेर्नुहोस् र देशलाई भन्नुहोस् किन मन्त्री बर्खास्त भएनन्?

आन्दोलनरत किसानमाथि कार कुदाउने केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रा र उनका छोरा आशिष मिश्राको सुनियोजित षड्यन्त्र भएकाे एनडीटिभीले जनाएकाे छ।

लखीमपुर हिंसाबारे मोदी नेतृत्वको केन्द्र सरकार र योगी आदित्यनाथले सम्हालेको यूपी सरकार एक शब्द बोलेको छैन। विपक्षी पार्टीका नेताहरूले किसानमाथि कार कुदाउने मन्त्रीका छोरालाई ‘एफआईआर’ दर्ज नगरेकोप्रति आपत्ति जनाएका छन्। बरू उल्टै किसान मोर्चाको मागमा समर्थन गर्ने अन्य नेतृत्वलाई पक्राउ गरी हिरासतमा राखिएको छ।

लखीमपुर–खेरी हिंसा के हो?

भारतीय किसान मोर्चा लामो समयदेखि देशभर आन्दोलित छ। कारण– केन्द्र सरकारले संसदमा पेश गरेको कृषि विधेयकप्रति समर्थन छैन। आइतबार लखीमपुरमा प्रदर्शन गरिएका किसानको भीडमा एउटा कालो र सैन्य रंगकाे कार पछाडिबाट आउँछ। कुनै संकेत नगरी किसानतिर दौँडिन्छ।

आन्दोलन गरिरहेका किसानहरू तितर–बितर हुन्छन्। उनीहरूलाई कुचेर कार अघि बढ्छ। घटनास्थलमा चिच्याइरहेको दृश्य भिडियोमा प्रस्टै देखिन्छ। कतिपय सडकछेउमा घाइते देखिन्छन्। अहिलेसम्म चारजना किसानको मृत्यु भएको छ।

हिंसाका मुख्य पात्र माेदी सरकारका गृहराज्य मन्त्री अजय मिश्राका छोरा हुन्। उनकाे पक्राउका लागि दबाब दिन पुगेकी नेत्री गान्धीसहित कांग्रेस सांसद दीपेन्द्र हुड्डा र यूपी कांग्रेस अध्यक्ष अजय कुमार लल्लू सहित ११ जना पुगेका थिए। उनीहरूविरूद्ध हिंसा फैलाउन आएको आरोपमा भाजपा सरकारले मुद्दा दर्ता गरेको छ।

कांग्रेस नेत्रीको गिरफ्तारीबाट आक्रोषित कांग्रेस कार्यकर्ताहरूले यूपीमा नाराबाजी तथा तोडफोड गरेका छन्। लखीमपुर–खेरी हिंसा प्रकरणमा विपक्षी पार्टीहरूले लगातार राज्य सरकार र केन्द्र सरकारमाथि हमला गरिरहेका छन्।

प्रियंका गान्धीले केन्द्रीय मन्त्रिपरिषद्बाट अजय मिश्रालाई हटाउन माग गरेकी छन्। उनीहरूले मोदी र योगी नेतृत्वका दुबै सरकारलाई लाचारीको संज्ञा दिएका छन्। भाजपा सरकार अपराधीहरूलाई न्यायको दायरामा ल्याउने पक्षमा नरहेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: : 2021-10-06 08:33:00

प्रतिकृया दिनुहोस्