अमेरिकी मध्यावधि चुनाव २०२२

अमेरिकी मध्यावधि चुनाव: गधा चम्केला कि हात्ती लम्केला ?

आज नोभेम्बर महिनाको पहिलो सोमबारपछिको मंगलबार। यही दिन अमेरिकाको निर्वाचन दिन हो। हरेक वर्ष यही दिन अमेरिकामा त्यो वर्ष गर्नुपर्ने विभिन्न स्तरका निर्वाचन हुन्छन्।

यस वर्ष भने नोभेम्बर ८ मा परेको छ यो दिन। र, आज  अमेरिकामा मध्यावधि निर्वाचन हुदैछ। राष्ट्रपतिको चार वर्षे कार्यकालमध्ये पहिलो दुईवर्षे कार्यकाल बितेपछि हुने निर्वाचनलाई अमेरिकामा मध्यावधि निर्वाचन भनिन्छ। यो निर्वाचनमा संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सका सबै ४३५ स्थानका अतिरिक्त खालि हुने अन्य विभिन्न पद र स्थानका लागि निर्वाचन हुन्छ। यही क्रममा यस वर्ष हाउस अफ रिप्रेजेन्टेटिब्सका सबै ४३५ स्थान, माथिल्लो सदन सिनेटका ३५ स्थान तथा ३६ राज्यका गर्भनर र संसदका लागि निर्वाचन हुदैछ। 

यसपटकको मध्यावधि निर्वाचन राष्ट्रपति बाइडनको पहिलो दुईवर्षे कार्यकालमाथिको जनमत संग्रह जस्तै हो। यो निर्वाचन अमेरिकाका दुबै ठूला राजनीतिक दल डेमोक्रेटिक र रिपब्लिकनका लागि महत्वपूर्ण रहेको छ। खासगरी २०२४ को राष्ट्रपति निर्वाचनमा कुन पार्टीको पल्ला भारी हुन्छ, त्यसका लागि अनुमान दिने भएकाले पनि यो निर्वाचनको थप महत्व भएको हो। 

अमेरिकी राजनीतिका पण्डितहरू यसपटक हाउस अफ रिप्रेजेन्टेटिब्स रिपब्लिकनको पक्षमा जाने र सिनेट यसै भन्न नसकिने परिस्थिति  रहेको बताइरहेका छन्। पछिल्लो समय रिपब्लिकनलाई बहुमत जुटाउन ३० प्रतिस्पर्धात्मक स्थानमा जीत हात पारे पुग्ने देखिन्छ भने डेमोक्रेटलाई बहुमत जोगाउन ५३ प्रतिस्पर्धात्मक स्थानमा जीत निकाल्नुपर्ने हुन्छ। यो आँकडा हेर्दा पनि रिपब्लिकनलाई बहुमत जुटाउन सजिलो देखिन्छ। अपवादलाई छोडेर अमेरिकी मध्यावधि निर्वाचनमा विपक्षी दलले नै बहुमत ल्याउने गरेको पाइन्छ। यस अर्थमा पनि ह्वाइट हाउसमा रहेको बाइडनको डेमोक्रेटिक सत्ताविपक्षकै पालोजस्तो देखिएको छ। तर, डेमोक्रेटहरू दुबै सदनमा आफ्नो बहुमत जोगाउने दाबी गरिरहेका छन्। अहिले अमेरिकी कंग्रेसका दुबै सदनमा सानो भए पनि सत्तारूढ डेमोक्रेटिक पार्टीकै बहुमत रहेको छ। 

अमेरिकामा आज विहानै ७ बजेदेखि सुरू भएको मध्यावधि निर्वाचनले अमेरिकाको दशा र दिशा निर्धारण गर्दैछ। हात्ती लम्क्यो भने अमेरिका फेरि ट्रम्पलाई थेग्न तयार हुनुपर्छ तर गधा चम्क्यो भने त्यो सम्भावनाबाट अमेरिका जोगिन सक्छ। 

अमेरिकामा यसपटकको चुनावको मूलमुद्दा बढ्दो महङ्गी र मुद्रास्फिति, गर्भपतन, आप्रवासन, मौसम परिवर्तन, युक्रेन युद्ध, विद्यार्थी ऋण, बन्दुकआतंक आदि नै हुन्। लगभग सदाबहार रहेका यी मुद्दाहरूमा डेमोक्रेटिक पार्टी र रिपब्लिकन पार्टी सधैंभरी दुई फरक ध्रुवमा रहेर वकालत गरिरहेका हुन्छन्। यद्यपि, यसपटक बढ्दो महङ्गी, मुद्रास्फिति र गर्भपतन स्पटलाइटमा छन्। 

अहिलेका लागि योभन्दा पनि ठूलो मुद्दा चाँहि डोनण्ड ट्रम्प नै हुन्। अमेरिकाका निवर्तमान राष्ट्रपति ट्रम्प एक कार्यकाल मात्र ह्वाइट हाउसमा रहे। २०२० मा पराजित भएका उनले अहिलेसम्म हार मानेकै छैनन् र २०२४ को राष्पति उम्मेद्वार हुन उनी दिलोज्यानले तयारी गरिरहेका छन्। उनले रिपब्लिकन पार्टीमा दक्षिणपन्थी धारको नेतृत्व गर्दै ठूलो संख्यामा आफू समर्थकहरूलाई उम्मेद्वार बनाएका छन्। यो चुनावमा उनले इन्डोर्स गरेका ती उम्मेद्वारहरू जिते भने ट्रम्पले २०२४ का लागि राष्ट्रपतिको उम्मेद्वारी घोषणा गर्नेछन्।

अमेरिकामा उनको उम्मेद्वारीलाई रोक्न डेमोक्रेटहरू त लागेका छन् नै, उदारवादी रिपब्लिकन र 'अमेरिकी क्यारेक्टर' बोकेको दाबी गर्ने धेरै अमेरिकीको पनि सदासयता छ।  ट्रम्पको पुनरागमनले अमेरिका अरू विभाजनमा जानसक्ने चिन्ता गरिएको छ। 

आजको चुनावी परिणामले अमेरिका ट्रम्प फोबिया बाटोमा जाने कि ट्रम्पमेनिया बाटोमा जाने भन्ने फैसला गर्छ। त्यसैले पनि आजको निर्वाचन परिणामले अमेरिका र अमेरिकी जीवनमा ठूलो प्रभाव राख्छ। 

हेरौं, गधा चम्कन्छ कि हात्ती लम्कन्छ, त्यो त आजै साँंझ थाहा हुन्छ।

प्रकाशित मिति: : 2022-11-08 22:10:00

प्रतिकृया दिनुहोस्