कांग्रेस महाधिवेशनः

महाधिवेशनस्थल बाहिर सामान बेच्नेहरु भन्छनः ठूला मान्छे आउने ठाउँमा व्यापार नहुने रहिछ

नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि मतदान जारी छ। देशका विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरुले विभिन्न पदका उम्मेदवार मतदान गरी रहेका छन्।

१ सय ३२ पदका लागि ४८७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जसलाई मतदान गर्नको लागि देशभरबाट ४ हजार ७ सय ४३ प्रतिनिधि सहभागी छन्।

भृकुटीमण्डप र राष्ट्रिय सभागृह गरी दुुई मतदानस्थलमा मतदान भइरहँदा कार्यकर्ताहरुले आफ्नो उम्मेदवारीलाई विजयी गराउन प्रतिनिधिहरुसँग भोट मागिरहेका छन्। त्यसकारण महाधिवेशनस्थालमा मानिसको भीड बढेको छ। तर, यो भीडमा सहभागी मध्ये केही भने व्यापार गर्नको लागि समेत आएका छन्। त्यस्तै कोही भने अरुको लहलहीमा महाधिवेशनमा आएका छन्। उनीहरुलाई महाधिवेशन बारे कुनै मतलव छैन्।

त्यही भीडमा छन्, जुम्लाका ६७ वर्षीय अछैरे बुढा। उनी महाधिवेशनस्थालमा सहभागी छन्। तर, त्यहाँ के भइरहेको छ उनलाई कुनै जानकारी छैन। उनी त केवल मानिसको घुुइँचो देखेर आफ्ना समान बेच्नको लागि आएका हुन्।

अछैरे मेला पर्वका समान बेच्नको लागि काठमाडौँमा आउने गर्छन। यसपटक भने उनी महाधिवेशनमा पनि आफ्ना सामान बेच्नको लागि यहाँ आएका हुन्।

‘धेरै मनिस जम्मा भएको बेलामा व्यापार हुन्छ भनेर आएको व्यापार नै भएको छैन’, उनले भने,‘चार महिना बितिसक्यो जुम्लाबाट आएको व्यापार छैन।’

त्यस्ता सोही कार्यक्रममा भारतका २० वर्षीय रणबहादुर मण्डल पनि फुलफूल बेच्नको लागि आएका छन्। उनी मौसम अनुसारका फुलफूूल बेच्ने काम गर्छन्। उनलाई पनि महाधिवेशनमा व्यापार हुन्छ भन्ने आश थियो तर सोचे जस्तो भएन।

‘ठूलो ठाउँमा मान्छे जम्मा भएको बेलामा व्यापार होला भन्ने सोचे त्यस्तो भएन’, उनले भने,‘ठूला नेताहरु आउने ठाउँमा व्यापार नहुने रहिछ।’

त्यस्तै अर्का व्यक्ति हुन्, रौतहटका बसिर खान। उनी पनि महाधिवेशनमा सहभागी छन्। तर, बसिरलाई नेपाली काँग्रेसको बारेमा थाहा छैन। कसले उम्मेदवारी दिएको छ, कसलाई भोट दिँदा उचित हुन्छ भन्ने बारे उनलाई कुनै चासो छैन।

‘हामीलाई गाउँको मुखियाले भोट हाल्न काठमाडौँ ल्याएका हुन्, अरु दुई चार साथी अरु पनि छन्,’ उनले भने।

प्रकाशित मिति: : 2021-12-13 22:00:00

प्रतिकृया दिनुहोस्