प्रदेश २ का मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिने

फाइल तस्वीर
फाइल तस्वीर

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन्।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले असोज २० गतेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसँग सिफारिश गरेको अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए।

उनका अनुसार संवैधानिक व्यवस्थाअनुसार २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिनेछन्।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका हुन्।

जसपा विभाजन भएपछि महन्थ ठाकुरकाे नेतृत्वमा लोकतान्त्रिक समाजवादी दल बनेको छ। प्रदेश २ मा जसपाका ५५ सांसद रहेकामा १६ जनाले लोकतान्त्रिक समाजवादी दल रोजेका थिए।

अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ।

प्रकाशित मिति: : 2021-09-29 14:05:00

प्रतिकृया दिनुहोस्