कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले।
नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।
दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।
दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।
त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।
त्यसलाई कवितामार्फत मुखरित गर्न ’कालीगण्डकी बचाऔँ अभियान’ले 'नदी सप्तक श्रृङखला' (आन्दोलन कविता) सुरू गरेकाे छ।
यस अन्तर्गत पन्ध्राैँ श्रृंखलामा कवि लक्ष्मण थापाकाे कविताः
कालीगण्डकी
चाँदी झैं टल्केका माछाहरु छन्
सुन झैं झल्केका माछाहरु छन्
जो सलल बगेको पानीमा
ढलपल ढलपल गर्दै नाचिरहन्छन्
मौन कालीगण्डकी आफ्ना पवित्रताका
अथाह परकम्पहरू पर-परसम्म बाँडिरहन्छिन् !
शालिग्रामहरू छन्
जो संस्कृतिका सोपानहरूमा रङ भरिरहन्छन्
जो विश्व पर्यावरणीय चिन्तनको आराधना गरिरहन्छन्
हिमशिखर र हरित पाखाहरूको ऐना हेरिरहन्छन्
र प्रीतिकर ध्वनि निकाल्दै एकापसमा ठोक्किइरहन्छन्
अनन्त बैंस बोकेका
अनन्त भोगेच्छा बोकेका
शालिग्रामहरू तुलसीसँग विवाह गर्छन्
तर सन्तानोत्पादन गर्दैनन्
त्यसैले शालिग्रामहरू
संकट मोचन गर्दागर्दै संकटापन्न छन् !
दामोदरकुण्ड, मुक्तिनाथ, देवघाट, त्रिवेणी
कण-कणमा देवताको बास छ
र फैलिएको छ ज्ञानरश्मि, ध्यानरश्मि र मोक्षरश्मि
हिमाल, पहाड, मैदानमा ऊर्जाशील वाङ्गमयिक उफानहरू
समेटेर आफ्ना छातीभरि
बगिरहन्छ आदिसृष्टिदेखि अन्त्यसृष्टिसम्म !
आज
धर्मबिम्व, कर्मबिम्व र मोक्षबिम्व
कालजयी कालीगण्डकी काल कवलित हुँदै छ
किनभने
त्यहाँ भित्रभित्रै सुरुङ बनाउने मुसाहरू पसेका छन्
त्यहाँ मेरुदण्ड खुस्काउने डोजरहरू पसेका छन्
र भष्मासुरहरूले चारैतिरबाट हुँडलिरहेका छन् !
देशले आत्महत्या गरोस्
वा कालीगण्डकी पातालमा भास्सियोस्
उनीहरुलाई मतलब हुँदैन
किनकि
द्रव्यपिशाचहरू बिरालीको घिउ बेच्न पछि पर्दैनन्
द्रव्यपिशाचहरू बुहारीको जिउ बेच्न पछि पर्दैनन्
द्रव्यपिशाचहरू बेच्ने कुरा बेच्न पछि पर्दैनन्
द्रव्यपिशाचहरू नबेच्ने कुरा बेच्न पछि पर्दैनन् !
रगत बेचे सायद रगत सकियो
नदी बेचे सायद नदी सकिए
अब बालुवा बेच्दै छन्
ढुंगा बेच्दै छन्
गिट्टी बेच्दै छन्
र, बेच्दै छन् विश्व पर्यावरणका अवयवहरू !
हे ! कालीगण्डकी
तिमीलाई जोगाउने हातभन्दा
तिमीलाई मासिखाने हातहरू बलिया हुने हुन् कि ?
यसलाई पाेस्टरमा पनि पढ्न सकिन्छः