कोहलपुर–नेपालगञ्ज सडक खण्डमा दैनिक सयौँको संख्यामा सवारी आवागमन हुन्छ। छोटो दुरीको लागि एकमात्र विकल्प हो, अटो रिक्सा व्यवसाय। सडकमा समृद्धि खोज्ने हजारौंमा एक पात्र हुन्, कृष्णाकुमारी चौधरी। कोहलपुर नगरपालिका वडा नम्बर २ थारु गाउँ माइती र पोइली दुबै हो।
चार पाङग्रे निलो रङको अटो रिक्सा। चिराचिरा परेको पहेँलो रङको त्रिपालको छत्। दायाँपट्टी लेखिएको छ, ‘नराम्रो नजरले हेरेमा तेरो मुखै कालो’ भन्ने सायरी। अटो नम्बर रा १ ह २०७४। बायाँपट्टी सम्पर्क नम्बर ९८५८०...। नेपथ्यमा गित बजिरहेको थियो। आउनुहोस्, ‘न्युरोड, दशविगाह हुँदै मदनचोक, अटो चलाउनेहरु भन्दै थिए, अन्य व्यवसायी।'
५–६ जना पुरुष पनि यात्रुको पखाईमा छन्।उनी व्यस्त कोहलपुरको चोक–चोक चहार्ने सयौंमा एक अटो रिक्सा चलाउने थारु महिला हुन्। यात्रुहरुलाई मुसुक्क हाँसेर स्वागत गर्छिन्। सकुशल गन्तव्यमा पु-याउने उनको दैनिकी हो। माघको अन्तिम साता अटोमा यात्रा गर्ने क्रममा भेटिइन्। उनलाई भेट्दा न्युरोड चोकमा आफ्नो कर्ममै तैनाथ थिइन्।
विवाहपछि केही समय ज्याला मजदुरी गरिन्। परिवारमा आम्दानीको स्रोत थिएन। घरधन्दा चलाउन निकै हम्मेहम्मे भयो। आफैँले केही काम गर्नुपर्छ भन्ने लाग्यो। विकल्प रोजिन्, अटो रिक्सा चलाउने।
लगानीको लागि उनीसँग प्रयाप्त स्रोत थिएन। घरको अवस्था पनि उस्तै। गाउँकै महिला समूहमा ऋण निकालेर १ लाख रुपैयाँमा सेकेण्ड ह्याण्ड अटो रिक्सा खरिद गरिन्। जुन उनको जिन्दगीको निकै कठोर निर्णय/कदम थियो।
पहिला खासै नखुलेकी उनी विस्तारै खुल्न थालिन्। अटोभित्रै कुराकानीको क्रममा आफ्ना जिन्दगीका संघर्षका कथा सुनाइन्। आफूले भोगेका हिंसाका बारेमा समेत अनुभव साटिन्। उनका अनुसार अटो रिक्सामा समेत महिललाई हिंसा हुन्छ।
नेपाली समाज अहिले पनि पुरुषप्रधान छ। समाजले महिला के गर्छन्, उनीहरुको पारिवारिक पृष्ठभूमि, पढाई, पेशा के हो ? स–साना कुराको समेत ख्याल राख्छ।
‘देशमा जतिसुकै परिवर्तनको विगुल फुकिए पनि महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेको छैन’, थारु गाउँकी पहिलो महिला अटो चालक चौधरीले भनिन्। ‘महिलालाई अहिले पनि आर्सित रुपमा हेर्ने गरिन्छ। नेपाली समाज अहिले पनि महिलामैत्री छैन,’ थारु लवजमा बोलेकी थिइन्।
यो अवधिमा उनले थुप्रै प्रकारका प्रवृत्ति र व्यवहार भएका पुरुष यात्रुसँग साक्षत्कार गरेकी छन्। कृष्णा भन्छिन्– ‘कतिले दुर्व्यवहार गर्छन् त कतिले हौसला दिन्छन्।’ समाजमा कर्म गरेर जिविकोपार्जन गर्ने महिलालाई समेत पुरुषले होच्याउने गर्छन्।
'रक्सी खाएका केटाहरु आउँछन्। सुरुमा अटोमा आएपछि, बुरा (श्रीमान) छैनन् ? भनेर सोध्छन्,’ उनी सुनाउँछिन्, ‘श्रीमान हुनुहुन्छ भन्दा ल किन अटो चलाएको त भन्छन्। घरमै रानी बनाएर राख्नु भन्ने कुरा गर्छन्। घरमा नराम्रो भएरै अटो चलाएको होला सोच्छन् हामीलाई।’
‘किन अटो चलाएको नी? बुढाले पैसा दिदैनन्? किन यस्तो गरेको नी? उनले दैनिक जसो सुनिरहने प्रश्न हुन्। 'कतिपटक त रक्सीले मात्तिएका केटाहरुलाई निकालिदिएकी छु। साँझपख अलि धेरै डर हुन्छ’, उनले भनिन्, ‘मैले पनि केही न केही गर्नुपर्छ। मेरो पनि पेट छ। छोरीछोरी छन्। श्रीमानको कमाईले मात्र कहाँ हुन्छ। मैले पनि कमाउनु पर्छ नी। भनेर दुःख गरिरहेकी छु।'
‘यत्ति मात्रै कहाँ हो र? (हाँस्दै) कोही त नम्बर पनि माग्छन्। भेटम्ला भन्छन्। नास्ता खान जाउँ भन्छन्। यस्तो सोध्दा चाहीँ निकै नरमाइलो लाग्छ,’ कृष्णाले भनिन्, ‘अहिले पनि समाजमा महिलामाथि हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन। महिलालाई जहाँ पनि समस्या छ।यस्ता कुराले कहिले पेशा परिवर्तन गरौँ कि जस्तो पनि लाग्छ। तर एकातिर बाध्यता समेत छ। घरको खर्च जोहो गर्ने माध्यम पनि यहीं नै हो।'
उनलाई नराम्रो सोच्ने मात्रै होइन राम्रो भन्नेहरु समेत धेरै छन्। 'अटोका केही यात्रुहरुमा मैले मानवीयता पनि भेटाएको छु। छोरी, बहिनीको जस्तो व्यवहार गर्दछन्। निकै खुसी लाग्यो। विदेश नगएर महिलाले आफ्नै ठाउँमा गर्नु भएको छ। राम्रो गर्नु होला है भन्छन्। यस्तो सुन्दा चाहीँ राम्रै गरेको छु जस्तो लाग्छ', उनले भनिन्।
घर, श्रीमान, छोरी, सासु र ससुराले साथ दिन थालेका छन्। श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा छन्। घरमा सबैको साथ छ। श्रीमानले पनि राम्रो गर भन्छन्। यो सुख उनले साना कष्टले आर्जिएकी होइनन्।
आफ्नो विगत सम्झिँदै भन्छिन्, ‘पहिला पाँच सय रुपैयाँ माग्दा पनि कसैले दिँदैनथे। तर उनीहरुले नै अहिले माग्छन्।आँट र विद्रोहका कारण आर्थिक तथा पारिवारिक रुपमा मजबुत भएकी छु। पैसा पनि छ, इज्जत पनि छ अहिले।’
‘पहिलो गाँसमै ढुंगा’ भने झैँ भयो। अटो के किनेकी थिइन्, छिमेकीले अनेक थरी कुरा काट्न थालिहाले। कृष्णा अब बिग्रने भई। महिला भएर पनि अटो चलाउने। गाउँको नाकै काटी जस्ता तथानाम् कुरा सुनाउन थाले। कुल खानदानको इज्जत माटोमा मेटाउने भई आरोपसम्म लाग्यो।
कारण थियो– यसअघि गाउँमा कुनैपनि महिलाले अटो चलाएका थिएनन्। उनी भन्छिन्, ‘पुरुषले भर्खर सुरु गरेका थिए अटो चलाउन। झन् परिवारले समेत साथ दिएन।’
थारु समुदायका महिला अझै पनि खुल्दैनन्। पहिला अहिले जस्तो अवस्था थिएन। अहिले भने महिलामा केही परिवर्तन आएको छ। अर्काको ज्याला मजदुरी गर्ने थारु महिलाको मुख्य पेसा हो।
एक त थारु समुदायकी महिला, त्यसमाथि बुहारी। अटो चलाउने कुरा त धेरै परको कुरा थियो। निकै आँटका साथ जुन कुरा उनले आफैंबाट सुरु गरिन्। एक प्रकारको बिद्रोहको रुप हो उक्त निर्णय।
थारु महिला अहिले पनि चुलोचौकोमै सिमित छन्। उनले सुरुमा निकै कठिनाइ पनि झेल्नु पर्यो। घरमा अटो नचलाउन दबाव थियो। तर उनी आफ्नो निर्णयबाट पछि हटिनन्।
उनी भन्छिन्, ‘परिवार र श्रीमानलाई कन्भिन्स गराएँ। अरुका कुरा सुनिनँ। आफ्नै निर्णयमा अडिक रहेँ। त्यही निर्णयले यो स्थानसम्म पु-याएको छ। सत्कर्मको फल पाइन्छ भन्ने लागेको छ।'
उनको निर्णयमा स्वार्थ थिएन। थियो त केवल सफल हुने विश्वास। २७ औँ बसन्तमा लागेकी उनी निरन्तर अटो चलाइरहेकी छन्।
गाउँका अन्य महिलाले समेत कृष्णाको सिको गर्न थालेका छन्। अटो रिक्सा चलाएर मनग्य आम्दानी समेत गर्छन्। गाउँका महिलाहरुकै प्रेरणाको स्रोत बनेकी छन्।
उनले सिकाएका दुई महिला अहिले अटो चलाउँछन्। आफ्नो प्रेरणाले अरुको जीवनमा आएको परिवर्तन उनलाई आफ्नो सम्पत्ति भन्दा ठूलो लाग्छ।
उनी अहिले पुरुषले कमाउने भन्दा पनि बढी कमाउँछिन्। दैनिक न्यूनतम एक हजार कमाई हुन्छ। सुरु–सुरुका दिनमा पन्ध्र सयसम्म कमाई हुने गरेपनि अहिले कम कमाई हुने बताइन्।
‘पहिला थोरै अटो रिक्सा भएकोले बढी हुन्थ्यो, अहिले रिक्सा बढेकोले कमै हुन्छ’, उनले भनिन्, ‘दैनिक एक हजारका दरले महिनामा ३० हजार भन्दा बढी कमाई छ।’ अटो रिक्सा यहाँको स्वरोजगारको वैकल्पिक माध्यम हो।
श्रीमान र आफ्नो कमाइले पक्की घर बनाउने सोच छ। ६ वटा भन्दा बढी सहकारीमा दैनिक बचत गर्छिन्। केही रकम ऋण लगानी गरेकी छन्।
अबको केही समय अटो नै चलाउने सोचमा छिन्। त्यसपछि भने महिलालाई पनि स्वरोजगार बनाउने उनकाे सोच छ। भन्छिन्, ‘अन्य महिलालाई समेत सहयोग गर्छु। आफ्नै लगानी ठुलो सवारी चलाउने धोको छ।’