माधव नेपालले नीरासँग खुसुक्क के भने ? जगन्नाथ, धर्मनाथ र राजेन्द्रले गरे यस्ताे कानेखुसी(तस्वीरहरू)

Breaknlinks
Breaknlinks

एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाएका माधव नेपालसहितका नेताहरु यतिबेला नयाँ पार्टी निर्माण गर्न दत्तचित्तले भएका लागिपरेका छन्। केन्द्रीय कमिटीको तीनदिने बैठकपछि  बिहीबार केन्द्रीय पदाधिकारीहरु पनि टुंगो लगाइसकेको छ।

अब नेकपा (एकीकृत समाजवादी) मा सात जना उपाध्यक्ष भएका छन् । राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राई उपाध्यक्ष भए । 

त्यस्तै पुराना नेता बेदुराम भुसाल महासचिव बनेका छन् । त्यस्तै प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेल उपमहासचिव भएका छन्। सचिवको जिम्मा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र  रामकुमारी झाँक्रीले पाए ।

नेतृत्वको जिम्मेवारी बाँडफाँड र पार्टीको कार्यदिशा तय गरी उक्त पार्टीको तीनदिने केन्द्रीय कमिटी बैठक बिहीवार सम्पन्न भएको छ । पार्टी पदाधिकारी टुंगो लगाएर पार्टीको केन्द्रीय स्वरुप तयार पारी नयाँबानेश्वरको अर्पण ब्याङ्क्वेटमा  बैठक सकिएको छ ।  

अर्पणमा जे देखियो

बैठक चलिरहेको हलमा भने केन्द्रीय समितिका नेताहरुबाहेक अन्य कसैलाई पनि प्रवेश दिइएको थिएन। सुरक्षाकर्मी र पत्रकारहरु हलबाहिरै प्रतीक्षारत रहे।

कार्यक्रम चलिरहेकै बेला भर्खरै महासचिव बनेका बेदुराम भुसाल अचानक बैठक हलमा बाहिर निस्के। उनी ढोकाबाट आत्तिँदै हतार–हतार  निस्किएका थिए। अनुहारमा उकुसमुकुस झल्कन्थ्यो । उनले एकपटक पनि दायाँ-बायाँ हेरेनन्।

उनलाई रोकेर सञ्चारकर्मीहरुले केही प्रश्न सोध्ने प्रयत्न गरे– बैक्वइटको गेटसम्मै पुगेर। तर पनि भुसालले पत्रकारलाई वास्ता गरेनन् । नसुने झैँ गरी सरासर बाहिर निस्किए।

बैठकको बीचमै उठेर उनी अचानक हुर्रिँदै  किन बाहिरिए ? नवघोषित महासचिवले त्यसबारे सञ्चारकर्मीलाई बताउनु पनि आवश्यक ठानेनन्। उनी निस्किए तर बैठक चलिरहकै थियो। पत्रकारहरु उनलाई हेरेर चकित थिए। 

कार्यक्रम सकिनै लाग्दा उपाध्यक्ष बनेका हलबाट राजेन्द्र पाण्डे बाहिर आए । उनको पनि मुहारमा खुशी झल्कन्थ्यो । एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्षमै पराजित भएका पाण्डे नयाँ पार्टी बनाएर भए पनि उपाध्यक्ष भइछाडेका थिए । उनले भने पत्रकारलाई भित्र डाके, 'साथीहरु, बैठक सकिनै लाग्यो, तपाईंहरु भित्र आउन सक्नुहुन्छ।'

उनले यति भनिसकेपछि सबै सञ्चारकर्मीहरु एक-एक गर्दै बैठक हलमा प्रवेश गरे। प्रवेश गर्दा पार्टी अध्यक्ष माधव नेपालले समापन मन्तव्य दिइरहेका थिए।

मञ्चको राेचक दृश्य

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल बोलिरहँदा अगाडि अथितिको आशनमा गंगालाल तुलाधर र राजेन्द्र पाण्डेसहित नवघोषित पदाधिकारीहरु आसिन थिए। त्यतिबेला मञ्चमा एउटा रोचक दृश्य देखिन्थ्यो।

मञ्चको दायाँपट्टिबाट अध्यक्ष नेपालले मन्तव्य दिइरहेका थिए भने बायाँपट्टि भने केही नेताहरुको लामै खासखुस देखियो।

हातमा केही फाइल (प्रतिवेदनजस्तो देखिने) बोकेर जगन्नाथ खतिवडा सरासर बाँयापट्टि कुर्सीमा बसिरहेका पाण्डेकहाँ पुगे र फाइल दिए। तर पाण्डेले उक्त फाइल खोल्नै लाग्दा खतिवडाले फेरि उक्त फाइल आफैँले ताने।

ठीक त्यतिबेला फेरि अर्का नयाँ उपाध्यक्ष धर्मनाथ साह पनि त्यही आइपुगे। त्यसपछि नेता साह, खतिवडा र पाण्डेबीच एकछिन कानेखुशी चलिरह्यो। खतिवडाको हातको फाइल साहले पनि एक छिन सर्सर्ती पल्टाए।

त्यसको केही बेरपछि साह र खतिवडाले उक्त फाइल पुनः पाण्डेको हातमा दिए। पाण्डेले पनि गोजीबाट कलम निकाले र केही लेखे (शायद् दस्तखत गरे)। फाइलमा पाण्डेसँगै बसिरहेका अर्का नेताले पनि सही ठोके।

मञ्चको दायाँपट्टिबाट माधव नेपाल बोलिरहेकै थिए, 'पार्टीको आफ्नो गन्तव्य तय भइसक्यो। अब सरकारमा सहभागी हुन पृथक तरिकाले प्रस्तुत हुनुपर्नेछ।' तर, नेपालको भाषणभन्दा पनि पत्रकारहरुको रुचि भने बाँयापट्टिमा चलिरहेको खासखुसमै थियाे।

त्यसाे त, बैठकमा  किसान श्रेष्ठ र मेटमणि चाैधरीकाे सक्रियता भने खासै देखिएन। उनीहरू बैठक हलकाे अन्तिम लहरका कुर्सीमा शान्त भएर बसिरहेकाे थिए। 

नेपाल पनि खासखुसमै

कार्यक्रम सकिएपछि वरिपरिका सुरक्षाकर्मीसहित अध्यक्ष नेपाल सरासरमा आफ्नो गाडीतिरै हानिए। उनले पनि सञ्चारकर्मीतिर ध्यान दिएनन् । उनले पनि खासखुसमै रुचि देखाए । एकछिन सांसद् नीरा जैरूसँग खासखुस गरे।

नीराले पनि आफ्ना अध्यक्ष नेपालकाे कानमै खुसुक्क केही भनिन् । नेपाल पनि नीराकाे कानमै केही फुस्फुसाए। उनीहरूकाे खासखुसमा पनि अन्य नेता र पत्रकारहरुले अर्थपूर्ण रुचि देखिन्थ्यो । 

उनले आफ्नो मोटरको ढोका खोल्दै गर्दा बिएल नेपाली सेवाले भने एउटा प्रश्न सोध्न भ्यायाे- 'अध्यक्षज्यू, तपाईंहरुलाई नै पर्खेर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन। सरकारमा चाहिँ कहिले मन्त्री पठाउने ?'

अध्यक्ष नेपालले पनि आफ्नो गति नरोकी गाडीमा प्रवेश गर्दागर्दै भने, 'बल्ल पार्टीमा राम्रो वातावरण बनेको छ। अब केही दिनमै मन्त्रिपरिषदले पूर्णता पाएको समाचार सुन्न सक्नुहुनेछ।'

उनी ब्याङ्क्वेटबाट निस्केपछि नवघोषित सचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ  खतिवडाले बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए।

 

प्रकाशित मिति: : 2021-09-23 19:17:00

प्रतिकृया दिनुहोस्