केपी ओली हरुवा, भगौडा हुन्, कम्युनिस्ट आन्दोलनबाट भागेः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओली भगौडा भएको आरोप लगाएका छन्।  

काभ्रेमा बिहीबार आयोजित कार्यक्रममा बाेल्दै प्रचण्डले केपी प्रवृत्ति कम्युनिस्टविरोधी, राष्ट्रविरोधी र सामन्ती प्रवृत्ति हो भन्ने प्रमाणित भएको बताएका हुन्।

'केपी हरुवा हो। भगौडा हो। कम्युनिस्ट आन्दोलनबाट भाग्यो। मार्क्सवाद, समाजवादबाट भाग्यो,' प्रचण्डले भने, 'मार्क्सवाद, समाजवाद, एकताविरोधी चरित्रलाई उदांगाे पारेर पार्टी निष्कासित गरेको हो। हामी विजेता हौँ। ऊ हरुवा हो।'

'प्रचण्ड'ले माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादी बनाउन आफ्नो ठूलो भूमिका रहेको बताए।

'केपी ओलीलाई हामीले एक्सपोज गर्‍यौं। माधव र झलनाथको पार्टी बन्यो। पार्टी बनाउनमा कम मेहनत चाहिँ हाम्रो पनि थिएन,' उनले भने, 'उहाँहरूसँग सहकार्य बढाउनुहोला। मोहन वैद्य किरण, विप्लवसँग, बाबुरामसँग हार्दिकता बढाउनुहोला। हामी केन्द्रमा सहकार्य बढाउँदैछौं।'

प्रचण्डले एमालेमा फर्किएका भीम रावलहरूप्रति दया लागेको बताए। उनीहरू ढिलोचाँडो माधव नेपालको पार्टीमा फर्किने उनको भनाइ थियो।

'केपीसँग आत्पसमर्पण गरेका साथी देख्दा दया लाग्छ। ढिलोचाँडो निस्किन्छन्। बस्ने अवस्था नै छ। राजनीतिक रूपबाट होइन ओलीले गरेको कुकर्मका कारण बस्न मिल्ने अवस्था हुने छैन,' उनले भने।

प्रकाशित मिति: : 2021-09-23 14:12:00

प्रतिकृया दिनुहोस्