थाहा छैन -
कहिलेदेखि खुला नै छन्
अनिद्राको ओछ्यानमा अलपत्र यी आँखाहरु।
म नियालिरहेछु -
आफ्नै अस्तित्वको आतङ्कले सन्त्रस्त
र घटनाद्वारा परिचालित कवित्वको क्षणभङ्गुर आयु।
म नियालिरहेछु -
आफ्नै प्रतिबिम्बलाई सुम्सुम्याइरहेको
र मिथ्याको मास्क पहिरिएको शैतानको खूनी हत्केला।
म नियालिरहेछु -
विचारको वाफमा मस्तिष्कलाई उसिनेर
सूचनाको प्लेटमा सुसज्जित बौद्धिकताको खुराक।
म नियालिरहेछु -
भावनाहीन भावुकताको कारोबारमा
सटहीमा राखिएको प्रेमको सुपथ मूल्य-सूची।
म नियालिरहेछु -
एउटा हठी बालकको उपद्रवजस्तै
नैतिकताको मंचमा नाङ्गै नाचिरहेको नालायक नेतृत्व।
म नियालिरहेछु -
सडकपेटीमै लम्पसार बेहोस जड्याहाजस्तै
काटिएका यौनाङ्ग र स्तनमाथि सुतिरहेको निर्लज्ज समय।
म नियालिरहेछु -
म्युजियममा सजाइएको पुरातात्त्विक सामानजस्तै
तृष्णाको तापमा रङ्ग उडाइरहेको आदर्शको अमिल्दो आवरण।
म नियालिरहेछु -
कुनै आत्मपीडामा आनन्दित बौलाहाजस्तै
आवाजहरु निलेर खितखिताइरहेको भाषाको थोते अनुहार।
होइन!
किन बन्द हुँदैहुँदैनन् हँ यी आँखाहरु ?
म नियालिरहेछु -
आफ्नै परेलाहरुमाथि पिङ खेलिरहेको क्रूरता।
विज्ञापनमा हाँसो बेचिरहेको गरीब अभिनेता।
सहानुभूति गुमाएको आफ्नै मृत्युको समाचार।
विकारको तराजुमा जोखिएको लाचार विचार।
र ऐनाले नै जिस्क्याइरहेको आफ्नै कुरुप मुहार।
होइन!
किन झर्दैझर्दैनन् हँ अझै आँशुहरु ??
जब छामिहेरेँ आँखाहरु -
यान्त्रिकताको कुहिरोबाहेक
भेटाउनै सकिनँ कुनै सजीव स्पर्श।
त्यहाँ थिएन कुनै -
चाल / आद्रता / र भावको प्रतिक्रिया।
त्यसैले -
काँचका आँखाहरु देख्न सक्दैनन् कुनै सुन्दर सपना।