कविता

सानिध्यता 

तिमीले नछोउन्जेल 
म रहस्य थिएँ 
एउटा अनाैठो रहस्य, 
नजिक आउनै डराउथ्याै तिमी 
लाग्थ्यो होला तिमीलाइ म बर्मुढा ट्रेङ्गल हुँ 
हो म ब्ल्याक होल हुँ 
म खग्रास हुँ 
या त सोच्थ्याै होला म देउता हुँ
म अमुक इश्वर हुँ,

तिमीले एकदिन आँट गरेरै छोयाै
सुमसुम्यायाै 
कुन्नी कस्तो तुष्टि मेटियो 
सबै डर हराएछ 
तब म  बर्मुढा रहिनँ तिम्रो 
न रहें तिम्रो अमुक इश्वर 
म त ढुङ्गा भइगएछु  कुनै बेकामे 
भर्खर लात हानेर गयाै

ओ प्रिय मान्छे 
मान्छे सङ्गको सानिध्यता 
यति भयानक हुन्छ भन्ने थहा हुन्थ्यो त
म पहिलै अमुक इश्वर बन्थें  तिम्रो 
तिमी भक्त बनेर ढोगिरहन्थ्याै।

प्रकाशित मिति: : 2021-04-10 14:55:00

प्रतिकृया दिनुहोस्