गण्डकीमा दुई महिनापछि प्रदेशसभा बैठक बस्दैः आज दुई समितिमा सभापति चयन गरिने, यस्ता छन् अन्य कार्यसूची

गण्डकीको प्रदेशसभा बैठक आज मंगलबार बस्दै छ।

३० असारमा प्रमुख प्रतिपक्षीको विरोधका बीच मार्सल लगाएर बजेट पास भएपछि स्थगित सदन मंगलबारबाट सुरु हुन लागेकाे हाे।

संसद् सचिवालयमा पाँच वटा विधेयक दर्ता भएका छन्। एउटा विधेयक सामान्य छलफलपछि दफाबार छलफलका लागि विधायन समितिमा पठाइएको छ भने चार वटा विधेयक मंगलबारको बैठकमा ‘टेबुल’ हुनेछ।

आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्तासम्बन्धी विधेयक र बालबालिकासम्बन्धी विधेयक संसदमा प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ।

आज दुई समितिमा सभापति चयन हुने

मंगलबारको बैठकले दुईवटा समितिको सभापति चयन गर्ने छ। प्रतिपक्षी सत्ता र सत्तापक्ष प्रतिपक्षी बनेपछि समिति पनि हेरफेर हुन लागेको हो। तत्कालीन सत्तापक्ष एमालेले सम्हाल्दै आएको विधायन समितिको सभापति अब कांग्रेसले पाउने छ भने तत्कालीन प्रतिपक्षी कांग्रेसले सम्हालेको सार्वजनिक लेखा समिति एमालेले पाउने छ।

स्राेतका अनुसार कांग्रेसबाट विष्णुप्रसाद लामिछाने विधायन समितिको सभापति बन्नेछन् भने लेखा समिति सभापति एमाले सांसद रोशन गाहा थापालाई बनाउन लागिएकाे छ। दुबै नवलपुरका हुन्।

सत्तारुढ र प्रतिपक्षबीच के सहमति भयो ?

एमाले सरकारले अघि सारेका विकास निर्माणका आयोजना अहिलेको सरकारले रोकेको भन्दै सदन अवरुद्ध हुँदै आएको थियो।

गण्डकीमा  पहिलो पटक प्रतिपक्षी बनेको एमाले २७ सांसदसहित बलियो छ। चार पार्टी मिलेर बनेको सत्ता गठबन्धनलाई प्रतिपक्षी निकै भारी परेको छ। बैठकको अघिल्लो दिन सोमबार कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तयार पारेको छ।

अब बैठकमा प्रतिपक्षीले अवरोध नगर्ने सहमति भएको समितिका एक सदस्यले बताए। संसद खुलाउन आइतबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङबीच वार्ता भएको थियो।

सरकार छोड्ने बेलामा एमालेले स्राेतको सुनिश्चितता बिना १४ वटा आयोजनामा पाँच अर्बभन्दा बढीको टेण्डर गरेको आरोप सरकारका प्रवक्ता  कुमार खड्काले पत्रकार सम्मेलनमा लगाएका थिए।

अहिले  सबै आयोजना पुनः कार्यान्वयनमा लैजाने सहमति अनुसार मन्त्रिपरिषदबाट निर्णय पनि भइसकेको छ। चालू वर्षमा मोबिलाइजेसन रकम दिएर योजनाको काम अघि बढाउने निर्णय भएको खड्काले बताए।

प्रकाशित मिति: : 2021-09-14 09:55:00

प्रतिकृया दिनुहोस्