गिडीदह यात्रा भाग-३

घमाइलाे गिडीदह किनार

BreaknLinks
BreaknLinks

पहिलाे दिनभरि पत्रकार साथीहरुसँग हिँडेकाे मलाई पछिल्लो दिन साथी फेर्न मन लाग्याे। यात्रामा किरण चाैलागाईं र म सँगसँगै भयाैं। तातोपानी गाउँपालिकाकाे वडा नम्बर ६ का अध्यक्ष विशाल खड्का पनि सँगै थिए। जनयुद्धका कमान्डर उनी रमाइला रहेछन्। जनयुद्धताका जंगलमा हिँडेका कयौं किस्साहरु सुनाए। लामाे यात्रा पनि छाेटाे लाग्याे।

अघिअघि स्वयंसेवक र पछिपछि हामी थियाैँ। उनीहरुसँग निकै कम समय मात्रै सँगै हुन पाइन्थ्यो। उनीहरु अरबियन घाेडा जस्ता थिए। हामी गलेका आले पाठा जस्ता। फुलचाउँलेबाट पानसय पाटन नलागी जंगलै-जंगलकाे बाटाे लागेकाे भए गिडीदह जाने बाटाे छाेटाे पर्थ्याे। तर जंगलकाे ठाउँठाउँमा गिडीशाेभा नदी वारपार गर्नुपर्ने हुँदा यात्रामा कयौं कठिनाइहरु बेहोर्नुपर्ने थियाे। त्यसैले लामाे तर सजिलो बाटाे अपनाइयाे।

लामाचाैर पाटन काटेर पानसय पाटन लाग्दै गर्दा स्वयंसेवक ओरालो लागेपछि हामी पनि ओरालाे लाग्याैं। स्वयंसेवकहरुमा केही साथीअरु धेरै पल्ट गिडीदहमा पुगिसकेका रहेछन्। जडीबुटी काेर्ने र शिकारसमेत खेल्ने उनीहरुलाई बाटाे कता छ भन्ने थाहा थियाे। त्यसैले हामीले उनीहरुका पाइला समाइरहेका थियौं। जताजता सीता उतैउतै राम भनेजस्तै।

अग्लाे डाँडाबाट निलाे आकृतिमा गिडीदहकाे छेउ देखियाे। अब पुगियाे भन्ने लाग्याे। भालुलाई उकालाे दाैडिन सरल, सर्पलाई ओरालाे सरल। हामी सर्पकाे चालमा दाैडियाैं। ओरालाे हिँडेर गिडीदहकाे तल्लाे किनारमा पुग्ने म्याराथन चलिरहेकाे थियाे।

गिडीदह रारा ताल जस्ताे साना-साना मुहानहरुले भरिएकाे रहेनछ। ठूला खाेलाहरु मिसिएर बनेकाे रहेछ। हामी ताल छेउ पुग्नेबेला देखेकाे खाेला त्यतिबेला सानाे थियाे। तर वर्षामा भल आउँदा ठूलाठूला रुख बगाएर ल्याउने रहेछ। माटाे, बालुवा, रुखसहित बगेर तालमा मिसिने रहेछ। त्यस हिसाबले तालकाे आकार घट्दै गइरहेकाे देख्न सकिन्छ। कालान्तरमा ताल पुरिन सक्छ। तर तत्कालै हाेइन।

हामी तालकाे तल्लो किनारमा पुग्दा उत्साहित थियौं। थरिथरिका पाेजमा फाेटाे खिचेर धित मार्‍यौं। त्यस अगाडि कसैले टाढाबाट खिचेकाे फाेटाेमा   दुईवटा ताल देखिन्थ्याे। फाेटाेअनुसार हामी तल्लाे तालकाे किनारमा थियौं। त्याे पनि एक छेउबाट पुरै नदेखिने रहेछ। फाेटाेमा पुरै ताल कैद गर्न नसकिने रहेछ। टाढाबाट खिचाैं जंगलले छाेपिन्छ, नजिकबाट खिचाैं पुरै ताल देखिँदैन।

अब ठूलाे ताल कत्रो हाेला? खुल्दुली थियाे, त्याे पनि हेर्ने। सकेसम्म पुरै ताल अवलोकन गर्नु थियाे। यत्रो लेक गाड तरेर दहकाे तल्लो किनारमा पुगिसकेपछि माथिल्लो किनारमा जान पाइएन भने खुब थकथक लाग्नेवाला थियाे। त्यही माैकाकाे खाेजी गरिरहेकाे थिएँ। तर तालकाे पारी किनारमा जान नै कठिन बनिदियाे।

रारा तालबाट पास हुने पानीकाे मुहान भनेकाे खत्याड खाेला हाे। जसलाई सजिलै वारपार गर्न सकिन्छ। रारा आकर्षक पर्यटकीय गन्तव्य भइसकेकाे हुँदा वारपारका लागि पुल बनाइएकाे छ। तर गिडीदहबाट निस्कने त गिडीशाेभा नदी नै हाे। वर्षामा त्यसले गर्ने क्षतिकाे हिसास चार नम्बर वडाका चार गाउँका सबै मान्छे लागेर पनि राख्न सकेका छैनन्। कहिल्यै मान्छे नगएकाे ठाउँमा पुल कसले बनाइदिनु? गगनभेदी आवाज निकाल्ने नदीमा पस्नु कसरी? साेच्दा पनि आँङ सिरिङ्ग हुन्छ। त्यसमाथि वर्षादले नदीमा पानीकाे घनत्वो बढेकाे थियाे। आँट कसले गर्नु?

स्वयंसेवकहरु यतिका मान्छे कसरी तराउने भन्ने साेचमा थिए। एउटा रुख ढालेपछि वारीपारी पुल जस्ताे बन्ला भन्ने थियाे। रुख पनि एउटामात्र थियाे। त्यही ढालियाे। तर रुख साेचेजसरी ढल्दिएन। कस्ताे फसाद! बस्नु कि फर्किनु! त्यहीँ बसाैं नदीकाे डरलाग्दाे सुसाहट। फर्किउँ, यत्रो लेकगाड गरेर बल्लतल्ल तल्लो किनारमा पुगिएकाे छ। 'नखाउँ त दिनभरिकाे सिकार, खाउँ त कान्छा बाउकाे अनुहार' जस्ताे भयाे।

गिडीदहबारे अनेक खाले प्रचार थिए। अनेक कहानी थिए। अनकन्टार ठाउँमा अवस्थित गिडीदहमा भूत छ भन्ने कुरा त जनजनमा छ। त्यसमध्येकाे सुप्रसिद्ध कथा यस्ताे छ:

एक पटक तत्कालीन हाँकु गाविसभरिका मान्छे भेला भएछन्। ठालु भलाद्मी बसेर एउटा निर्णय गरेछन्। गिडीशाेभा नदीमा पानी कम भयाे। याे पानी बढाउन पर्‍यो। त्यसका लागि गिडीदहमा गएर पानी बढाएर ल्याउनुपर्‍यो। भाेलि नै जानुपर्‍यो भनेर सबैकाे सहमतिमा एउटा निर्णय गरेछन्। त्यसपछि भेला सकिएछ। सबै आ-आफ्नो घरतिर लागेछन्।

उक्त भेलामा उपस्थित सबैले त्याे रात एकैखालकाे सपना देखेछन्। सपनामा गिडीदहकाे भूत आएर सबैलाई धम्की दिएछ। भाेलिपल्ट सबै मान्छे गिडीदह नगएर भेलामा गएछन्। अघिल्लो दिनकाे जस्तै भेला भएछ। उनीहरु सबैले एउटै खालकाे सपना देखेकाे सुनाएछन्। सपनामा आएकाे अजंगकाे भूतले भनेकाे रहेछ, 'यदि तिमीहरुले गिडीदहकाे पानी बढाएर ल्याउने साच्याै भने लाम्रा छाल, हाँकु फाल र गिडी पञ्चपखाल हुन्छ।'

मतलब लाम्रा गाउँमा नदीकाे छाल हुन्छ। हाकुँ पुरै गाउँ नदीले बगाएर लिन्छ। गिडीखाेला गाउँकाे नामाेनिशान रहँदैन। यस्ताे धम्की सबैकाे सपनामा देखिएपछि ठालु भलाद्मी हच्किएछन्। उनीहरुलाई गिडीदहकाे छाेताे खाेल्ने आँट आएनछ। त्यसपछि सितिमिति मान्छेहरु गिडीदह छेउ जाने आँट गर्दैनथे। तर यतिबेला तातोपानी गाउँपालिकाकाे वडा नम्बर चारले आँट गरेकाे थियाे। त्यहाँका वडाध्यक्ष अमर बहादुर राेकायाले आँट गरेका थिए।

गिडीदहकाे गर्भबाट निस्किएको गिडीशाेभा नदीकाे मुहानमै गएर नदीभित्र पस्नु बाघकाे बंगरा झिक्नु बराबर थियाे। तथापि काेही न काेही सुरबिर त निस्कन्छ नै। त्यस दिनका लागि सुरबिर थिए, आँटिला स्वयंसेवक काैरव पाण्डे। उनी डरलाग्दो नदीभित्र पसे। ढालिएकाे रुखलाई ढुंगामा राख्ने काेसिस गरे। पारी किनारमा उनकाे बल, वारी किनारमा स्वयंसेवककाे बलले लगभग एक घण्टा जतिमा पुलजस्ताे बन्याे।

हामी सिंगल रुखकाे पुलमा सवार भयाैं। गिडीदहकाे भूतकाे केही लागेन, बरु हाम्राे लाग्याे। डर रत्तिभर लागेन। भूत नै डरायाे हाेला सायद। गिडीदहबारे गाउँघरमा अनेक खालका किस्सा सुनिन्थे। गिडीदहकाे किनारमा महिलाले लगाउने एकगेडेका मालामा हुने प्वालाकाे रुख छ भन्ने। त्याे त्यहाँकाे भूतले छल गरेर बनाएकाे हाे भनिन्थ्याे। प्वालाे राम्राे खालकाे माटाेबाट बन्छ भन्ने थाहा पाएपछि त्याे कुरामा विश्वास लाग्न छाेड्याे। तर तालछेउमा पुगेपछि सम्झना आइहाल्याे।

त्यहाँ पुगेपछि हरेक कठिन चिजमा अघिल्लो पुस्ताका मान्छेले भूत देखे जस्ताे लाग्याे। पुग्नलाई कठिन गिडीदहमा भूत छ साेचे हाेलान्। गहिराे खाेचमा वरिपरि जंगलले ढाकेकाे अँध्यारो ठाउँमा अवस्थित निलाे दह हेर्दा डर लाग्दाे नै छ। तर मासमा गएका हामीसँग भूत आफैँ पाैंठेजाेरी खेल्न आए पनि मुकाबिला गर्ने शक्ति थियाे। यत्ति भएपछि डर हरायाे।

किनारै किनार गएपछि माथिल्लो तालकाे दृश्यावलाेक गर्न पाइने थियाे। मख्ख थियाैं। त्यहीँ पुगेपछि थाहा भयाे, ताल दुईवटा रहेनछन्। बीचमा घाँटी परेकाे हुनाले दुईवटा जस्ता देखिएका मात्रै रहेछन्। ताल त एउटै रहेछ। ताल निकै लामाे र फराकिलो रहेछ।

यस्ताे तालमा एक छेउबाट पुरै दृश्यावलाेक गर्न गाह्रो छ। त्यहाँ पुगुन्जेल साँझ परिसकेको हुनाले माथिल्लो किनारसम्म पुग्न सकिने छाँट थिएन। हामी यात्राकाे दाेस्रा दिन गिडीदहकाे निलाे पानीले पकाएकाे भात खाँदै किनारमा बास बस्याैं। राति अबेरसम्म गिडीदह घमाइलाे थियाे। थरीथरीका गीत घन्किरहेका थिए। अनिदाे हुँदा पनि मन चंगा थियाे।

प्रकाशित मिति: : 2023-07-04 06:22:00

प्रतिकृया दिनुहोस्