पछिल्लाे समय नेपालमा काेराेना संक्रमितहरूकाे संख्या बढेसँगै देशभरका अस्पतालमा अक्सिजनकाे चरम अभाव हुँदै गएकाे छ।
यस्ताे विषम परिस्थितिमा अक्सिजन नपाएर छट्पटाईरहेका नेपालीकाे लागि गैरआवासीय नेपाली सङ्घ र ओमानस्थित नेपाली दूतावासले सहयाेगकाे हात अघि बढाएका छन्। खाडीमा रहेका अन्य विभिन्र संघसंस्थाले पनि सहयाेग गरेका थिए।
ओमानस्थित नेपालका लागि राजदूत शर्मिला पराजुलीसहित एनआरएनएका प्रवक्ता डिबी क्षेत्री, गैरआवासीय नेपाली सोसल क्लब ओमनका अध्यक्ष विकाल झाकाे टाेलीले अक्सिजन जम्मा गरेकाे थियाे। ‘अल होस्नी’ कम्पनीबाट सिलिण्डर खरिद गरेको र यसका लागि प्रति सिलिण्डर १ सय २० डलर खर्च भएको अध्यक्ष झाले बताए।
अक्सिजन लिन नेपाल एयरलाइन्सकाे अन्नपुर्ण (वाइड बडी ए ३३०) विमान आज बिहान १० बजे मस्कट अवतरण गरेकाे थियाे।
विमानले त्यहाँबाट पाँच सय ६० थान अक्सिजन सिलिण्डर बाेकेर नेपालकाे लागि उडिसकेकाे अध्यक्ष झाले बिएल नेपाली सेवालाई जानकारी दिए।
अक्सिजन पठाउँन राजदूत पराजुली आफै विमानस्थलसम्म पुगेकी थिइन्।
जहाज नेपाली समय आजै बेलुका करिब ७ बजे काठमाडौँमा अवतरण हुनेछ। यी सिलिण्डर आइतबार बिहान ११ बजे एक स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गर्ने बताइएकाे छ।