जीवनको हरेक मोडमा तय भैदिन्छन् यात्राहरु। फरक यति मात्रै हुन्छ –कोही छोटा हुन्छन् कोही लामा। लकडाउन भएदेखि निस्सासिएको मन। पाएको थिइनँ खासै यात्रा गर्न पनि। होटेल व्यवसायी दीपक खड्काले बेलाबखत दिइरहेकै थिए खप्तड घुम्ने निम्तो। बीचको समयमा कहिले उनको मिलेन कहिले मेरो मिलेन।
यतिखेर दीपकले पुनः दोहोर्याए उही रटान। साइत जुर्यो झिग्रानास्थित उनको रिसोर्टेमा बास बस्ने। तर सकिएन यसपटक पनि खप्तडतिर पाइला बढाउन। उता पत्रकार वसन्त प्रकास सिंह र कवि युगिन विवेकसँग दुई तीन पटक भैसकेको थियो खप्तड घुम्ने योजना। कारणवस ती योजनाहरु पनि सकेनन् सफल हुन।
कार्तिक २१ गते बिहान पालैपालो फोन आउछ पर्यटनकर्मी अमरबहादुर शाहीको र होटल व्यवसायी दीपक खड्काको। यो कोरोनाकालमा जिन्दगीका गराहरु उताना पारेर कहिले कता कहिले कता भौतारिरहेको मन सोचमग्न बन्यो।
तल हाइवेसम्म जाने गाडी छुटिसकेका थिए। यात्रा तय भयो झिग्रानासम्मका लागि। छ किमी पैदल हिँडेर डोटी धुर्कोट पुगेका पाइला लम्के ट्याक्टरतिर। संयोगले भेटिएको थियो उक्त ट्याक्टर पनि। जीवनमा पहिलो पटक ट्याक्टरमा चढेको थिएँ।
ड्राइभरसँगै अगाडी बस्दा ठिकै त होला ठानेको मन अत्तालियो एकछिनमै। पिङ खेलेझै झुलिन थाल्यो शरीर। घरिघरि सोच नबनाएको हैन उत्रिउँ र हिँडेर जाउँ। तर समय कम थियो । चार बजे पुग्नु पर्ने भनिएको थियो हाइवेमा। दुखेको तन झन दुखाउँदै यात्रारत रहेँ बेस्सरी उफारीरहेको ट्याक्टरमा।
घाम अस्ताइउन थालिसकेको थियो कालागाड पुगुन्जेल। अमर शाहीसँग एकछिनको भलाकुसारीसँगै आइपुग्छ वेदकोट नगरपालिकाका मेयर अशोक चन्द लगायत पाँच जना सवार गाडी।
कालागाडमा सेतीका माछा र चिउराले पेटको एक कुना भरेका मनहरु रमाइरहेका थिए यात्रामा। सिलगढीबाट झिग्राना जाने बाटोमा मोडिदासम्म कालो रातले च्यादर बिछाइसकेको थियो। धुलाम्मे देखिन्थ्यो सडक। कालोपत्रे गर्ने हिसावले काम भइरहे जस्तो देखिन्थ्यो सडकमा। बाटोमा एक प्रकारको परिहास चलिरह्यो।
बेलाबखत एकअर्काका मुखबाट छुटिरहेकै थिए परिहासका त्यान्द्राहरु। ड्राइभर चौधरी पछाडिको सिटमा बिस्तारै खित्खिताइरहेका थिए। होटेल व्यवसायी परमानन्द भण्डारीले गाडी दौडाइरहेका थिए। बिग्रेको धुलाम्मे सडकमा रातको समयमा ड्राइभिङ गर्नु आफैमा चुनौतीपूर्ण छदै थियो। त्यसैमा हामीभन्दा अगाडी सवार जर्सावले रामचन्द्र रेग्मीलाई फोनमा भनिरहेका थिए –‘बाटो खराब छ राम्ररी आउनोस् है।’ परमानन्द भण्डारीलाई मेयर चन्दले बेलाबखत भनिरहेका हुन्थे – ‘...यति नम्बर गेयर लगाउनोस् त।’ गिलगिल हाँसो उठ्थ्यो। परिहासलाई सजिलै पचाउन सक्ने क्षमता भएका भण्डारी जुँगामा ताउ लगाउँथे – ‘मेरो लाइसेन्स हेर न कहिलेदेखि चलाउन थालेको हुँ गाडी।’ म मनमनै सोचिरहेको हुन्थेँ –जिन्दगी कहाँ कति गेयरमा चलाउनु पर्यो र फेरि पनि चलाउनु पर्ने हो थाहा छैन। असली गेयर त जिन्दगीका हुन्।
गाडिका गेयर त मिनेट कै अन्तरमा पनि बदल्न मिल्छ। तर, कहाँ मिल्दो हो र त्यति चाँडै र त्यति सजिलै जिन्दगीको गेयर बदल्न। गाडीका जस्ता उस्तै खाले गेयर कहाँ हुँदा हुन् र मान्छेका जिन्दगीका। उसो त गाडीको गेयरमा तलमाथि हुँदा मान्छेको जिन्दगीकै गेयर सिद्धिन के बेर। त्यसैले त उद्योग वाणिज्य संघ डोटीका पूर्व अध्यक्ष नरेन्द्र खड्काले सुनएका यी पंक्ति आइदिन्छन् सम्झनामा।
सुख् भया बाँडेर खानु दुःख एक्लै काट्नु
सुखसँग दुःखका माना काँ गएर साट्नु
बाटोको हाँसो ठट्टाले झिग्रानासम्मको यात्रा रोचक अनि अविष्मरणी बनिरह्यो। जीवनमा आइदिन्छन् कहिले सामाजिक भेटघाटका अवसरहरु त कहिले व्यक्तिगत भेटघाटका अवसरहरु। झिग्रानासम्मको यात्रा मेरा लागि कतिपय मनहरुसँगको चिनाजानी र भेटघाटको अवसर थियो। कोरोना कहरले गाउँतिर थन्किएका मेरा पाइलाहरु उबेलऽको बाच्छीकाझैं बनेका थिए।
दीपक खड्काको रिसोर्टमा पुग्दा एक हुल मान्छेहरु बाहिर आँगनमा आगो तापिरहेका थिए। ठुल्ठुला बाजका मुडा दन्दन्ती बलिरहेका थिए। धिमागतिमा प्रकाश फ्याकिरहेका थिए चिमहरु। बिजुली बत्ती छैन झिग्रानामा।
सोलारबाटै काम चलाएका छन् दीपकले। पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर भनिरहेका थिए –‘जन्ति आएका छौं कि भन्ने आभास पो हुन थाल्यो।’ प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम, पत्रकार डिल बहादुर सिंह भलादमी पाराले नियालीरहेका थिए उक्त दृश्य। लेनिनकट दाह्री टल्काएर सबैलाई हँसाइरहेका थिए सभासद भरत खड्काले।
एकाएक सुनियो उनको मुखार बिन्दुबाट एउटा वाक्य – आखिर फस्काऽइ त हुन्। डोटेली भाषामा फस्काको अर्थ हुन्छ कुनै चिज घटना आदिका बारेमा बढाइचढाइ गरी गफ लगाउनु। एकमा दुई थपेर गफैगफमा मान्छेलाई भुलाउनु। बेसी फुर्ति गर्नु। पत्याउनै नसकिने खालका कुरा गर्नु।
साउन र मासलाई कन्भेन्स गर्ने कला छ ती सभासदसँग। एकछिन सोचमग्न बनेँ वर्षौपछि सुन्न पाएको ठेट डोट्याली शब्द फस्का लाउनुको अर्थ सम्झेर। राजनीति आफैमा एउटा फस्कै त रहेछ। चुनाबका बेला भाषण गर्छन् फस्का लडाउछन्।
जितिसके पछि यदाकदा जिल्लातिर आइहाल्दा पनि फस्कै लडाउछन्। फस्काको खेती गरे नेताहरुले। फस्कै फस्कामा उडाइदिए तिनले खप्तडजस्ता कैयौं पर्यटकीय क्षेत्रमा तय गर्नु पर्ने बिकासका योजनाहरु। बरु सुदूरपश्चिमको पर्यटन क्षेत्रका हस्ती अमरबहादुर शाहीदेखि दीपक खड्का,नरेन्द्र खड्काहरुलाई चिन्ता छ यस क्षेत्रको पर्यटन प्रर्वधनका बारे। ठाउँको माया भएर त पुगे दीपक झिग्राना। जहाँ दुःखै दुःख छ। अन्कन्टार जस्तो लाग्ने ठाउँ छ। तै पनि खप्तडको मनमोहक दृश्य हेर्न जाने र उक्त दृश्यले मोहित भएर फर्किनेहरुलाई स्वागत गर्न रिसोर्ट तयार गरेका छन् उनले।
जहाँ भाडामा लिइएको पाँच रोपनी जमिनमा आफैले उब्जाएको अग्र्यानिक साग तरकारी खुवाउछन्। अडर अनुसार च्याग्रादेखि लोकल कुखुराको मासु पाइन्छ त्यहाँ। लेकाली भेकमा चरेका गाई भैसीको दूध दही पाइन्छ।
त्यो दुर्गममा गाउँलेहरुलाई उत्प्रेरणा जोगाउने काम पनि गरिरहेका छन् उनी। नौ वर्षसम्म बाँझो रहेको करिव ७० रोपनी जमिन बर्खे आलु खेतीका लागि स्थानीयवासीलाई खन्न लगाएर तयार पारेका छन्। १६ वटा प्लास्टिक टनेलमा गोलभेडा खेती गराएका छन्। ५०० बोट कागती रोपेका छन्। स्थानीयहरुलाई बीउ उपलब्ध गराउनेदेखि उनीहरुको उत्पादनलाई खपत गर्ने जिम्मा समेत आफैले लिएका छन्।
उनको रिसोर्टले गर्दा पछिल्लो समय अधिकांश पर्यटकहरु त्यो ठाउँमा बास बस्ने योजना बनाइरहेका छन्। हाल २५ जनालाई आरामसँग बस्न मिल्ने सुबिधा छ। ५० जना अट्ने तालिम हल छ। ५० जनालाई बस्न मिल्ने गरी संरचना थप्दै छन् उनी। निकट भविष्यमै डोटेली पहिचान झल्काउने संग्रहालय खोल्ने सोचमा छन् उनी।
दुब्ला पात्ला दीपकसँग आकर्षक व्यक्तित्व छ। परोपकारी मन छ। उदार दिल छ। काली हुँ तो दिलवाली हुँ भने झैं दिलदार छन् उनी। अमर शाहीले बाटैमा भनिसकेका थिए –‘दीपकसँग म्यानेज गर्ने क्षमता छ। सय जना हुदा नि म्यानेज गरेरै छोड्छन् उनले।’ नभन्दै ४० जना जतिको व्यवस्था मिलाएरै छोडे त्यो रातमा । डाँडाको फेदीमा रहेको खोच। यस्तै जाडो याममा विगतका छोट्टा छोरेट्टीहरुले आगो बालेर रातमा चोर डेउडा खेल्ने ठाउँ जस्तै देखिन्थ्यो झिग्राना।
साक्षात्कार र अनुभूतिभन्दा परका सम्झनाभित्र गुटमुटिए जस्ता च्याङ्गाको मासु र कोदोको रोटी खाएर सिरकमुनि लुकिसकेका थिए पर्यटनकर्मी अमर शाही। एकातिर दीपक खड्काको प्रेमपूर्ण व्यवहार अर्कोतिर धेरै मान्छेको भीडमा कोभिडको चिन्ता। त्यो चिन्तालाई पनि बिर्साइ दिने खालको गाउँले जीवनको मज्जा दिलाउने अग्र्यानिक खानेकुरा। त्यहाँको स्थानीय आलुको तरकारीसँग कोदाको रोटी चपाउदाको मिठासको वर्णन गर्न कठिन प्राय छ।
मै हुँ भन्नेलाई अहंकार भुल्न सिकाउने खालको थियो चिसो। जिन्दगीसँग बात मार्न खोज्ने प्रिय रात थियो। सोलारबाट उज्यालो फ्याकिरहेका शालिन अनि निर्धा जस्ता चिमहरु थिए। कोठै भरि बिस्कुन पोखिए जस्ता ओछ्यान थिए। नधेरै उज्यालो न धेरै अँध्यारो जीवनको रमरमता बोकेको थियो त्यो रातले। विगतको स्मृतिबाट मुक्त हुन नदिने थुप्रै कुराहरु थिए त्यहाँ। अशोक चन्दले बाटोमा ठट्टा गरेर भनेझैं झिग्रानामा बास बस्दाको जिन्दगी आधी नम्बरको गेयरमा थियो या एक नम्बरको गेयरमा थियो। सजिलै कहाँ बुझ्न सकिन्थ्यो र जिन्दगीलाई।
भोलिपल्ट प्रातकालिन समयमा बिस्तारै लम्किदै थिए सूर्यका किरणहरु बगलेक हुँदै झिग्रानातिर। मनमोहक देखिन्थ्यो दृश्य। भारी हुन थाल्थे विगतका यादहरु। बातमारिरहेको हुन्थेँ आफैले आफैसित – ‘ठुल्ठुला भाषण गर्दै आश्वासनको विस्कुन छरेर हिँड्ने नेताहरु छद्मभेषी भैदिए। ती त केवल बोलीमा लोली मिलाउन जन्मेका हुन् कि जस्तो लाग्छ। हैन भने यतिका वर्षसम्म के नै लछारपाटो लगाएर यी नेताहरुले। पश्चिम सेती उस्तै छ। खप्तड लगायतका कैयौं पर्यटकीय स्थलहरुले आश्वासनको ध्वनि सुनेको पनि वर्षौ बितिसक्यो। जस्ताको त्यस्तै त छन्।’
उतातिर तयार भैसकेका थिए खप्तडको यात्रामा निस्किने पाइलाहरु। ती पाइलाहरु थिए सुदूरपश्चिम सरकारका मुख्यसचिव रामकृष्ण सुवेदी, नेपाली सेनाका २५ नम्बर बाहिनीपति जर्साव कृष्ण जिसी, बेदकोट नगरपालिकाका मेयर अशोक चन्द, होटेल व्यवसायी परमानन्द भण्डारी, रामचन्द्र रेग्मी लगायत थुप्रै पुरुष तथा महिलाहरुका। क्षणभरको फोटो सेसन पछि बिहान पुनः भुल्किने वाचा गरी साँझको सूर्य ओझेल परेझैं ओझेल परे ती पाइलाहरु पुनः डाँडाको टेप्पातिर देखिने गरी।
आर्मी पोष्टबाट फर्केर पुनः रिसोर्टमा आइपुग्दा टल्किरहेको थियो रिसोर्टको पछाडीपट्टि उतानो परेरे बाक्लो अनि वजनदार सिलौटो। उनले तयार पारेका खानेकुरामा थप स्वाद बढाउने भूमिका त्यही सिलौटाको थियो। तथापि रिसोर्टको पछाडी नाङ्गै उतानो परेको सिलौटो र लोडो प्रतीक पनि हुन् दीपकलगायत हामी सबै मनुवाकका जीवनको। लोडो र सिलौटोको रगडाहट नै जीवनको सार हो। चाहे त्यो रगडाहट भक्तले परमात्मा पाउन गरेको संघर्ष होस् वा दीपकको बालबच्चा र ठाउँको लागि केही गर्न प्रयत्नरत संघर्ष होस्। या होस् कतै छोट्टा छोरेट्टीहरुका भावनाका धर्साहरुको रगडाहट।
जर्मन दार्शनिक सोपेनहावरले भनेका छन् – आवर लाइफ इज द पनिसमेन्ट फर द क्राइम अफ आवर वर्थ। अर्थात् हामीले जन्मने पाप गरे वापत दिइएको दण्ड नै हाम्रो जीवन हो। सोपेनहावरले भनेझैं रगडिनु छ दीपकले पनि सिलौटामा लोडो रगडिएझैं सघर्षको दुनियामा जसरी रगडिन्छन् अरु मानवहरु। तथापि दीपकको जीवनको रगडाइमा ऊर्जा छ। आशा छ। केही गरेरै छोड्ने प्रण पनि छ।
कुन्नि के कत्ति सजाए भोग्नु पर्ने हो सुदूरपश्चिमको पर्यटनले। कहिलेसम्म हावामा कावा खाएर विवशताका दिनहरु व्यतित गर्नु पर्ने हो सुदूरपश्चिमबासीले। प्रर्वधन र बिकासको पर्खाइमा कहिलेसम्म टोलायमान बनिरहनु पर्ने हो खप्तडले। लोडो र सिलौटोको त नियति नै रगडिनु हो। ती निर्जीव बस्तुहरुको रगडाइले बरु मान्छेको भोजनको स्वाद बढाइरहेकै छ। तर हाम्रा जनप्रतिनिधिहरु वर्षौ जेलनेल भोगेको, जीवनमा निकै संघर्ष गरेको कुरा सुनाउछन्। सजिलैसँग भनिरहेका हुन्छन् राजनीति समाज सेवा भनेर।
भित्रभित्रै गरिरहेका हुन्छन् केवल आफ्नो र आफ्नाहरुको पेटको सेवा। हग्नेलाई नभएर देख्नेलाई लाज भनेझैं खप्तडको बिकासका नाममा आएको बजेट कसले कति घोटाला गरे प्रसंग उठाउनु नै लज्जाको विषय भैसक्यो अब त। जन प्रतिनिधि भनाउदाहरुले जनसमुदायको आशा र विश्वासमा छर्न सकेका छैनन् बिकासका किरणहरु। तथापि धार्मिक संस्कृतिक एवम् पर्यटकीय महत्त्व बोकेको भूस्वर्ग खप्तड लमतन्न परेकै छ छातीमा पर्यटकका पाइला बिछाएर स्वागत गर्न। अमर शाही दीपक खड्का लगायत कतिपय मनहरु प्रयत्नरत छन् खप्तडको पर्यटन प्रवर्धनमा टेवा पुर्याउन।
जिन्दगीका कति रात कहाँ व्यतित भए। कहाँ कति जनासँग यात्रारत भइयो। राखिएन कही कतै हिसाबकिताब पनि। त्यो त्यही झिग्राना थियो जहाँबाट तीन पटक उक्लिसकेको थिएँ खप्तड। नजिक भएर, बास बसेर साक्षात्कार गर्दा यतिखेर प्रिय बनिदियो झिग्राना। सम्झिनयोग्य ठाउँका रुपमा मानसपटलमा झिग्रानालाई दर्ज गरेर हतारहतार फर्किएँ अमर शाहीसँगै। दृष्टि परुन्जेलसम्म फर्कीफर्की हेरिरहेँ बीचपानीको डाँडोतिर। यात्राहरु आफैमा जीवनका नम्बरबिहिन गेयरहरु न हुन्।