डोल्पा। शहरभन्दा परको गाउँ।
यस्तोपनि भन्न सकिन्छ कि राजधानीको आँखामा नअटाएको भुगोल। र शतप्रतिशत मोफसलपनि। जहाँ बतासले सत्ताको खबर पुर्याइरहन्छ।
काठमाडौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट प्रवेश गरेपछि जहाजमा आसन गर्न सकिन्छ।
विस्तारै जहाजका खुट्टाहरुले कालोपत्रे मार्ग छाडेपछि सुरु हुन्छ, डोल्पासम्म को सुन्दर यात्रा।
प्रसंग यो पनि हुन सक्छ की यात्रा त हिडेर गर्नुपर्ने। कुनै पुरानो बसको अन्तिम सिटमा बसेर गर्नुपर्ने। तरपनि यसबीच देखिएको दोष र विडम्बनालाई डोल्पाको छानोमा बजार्न भने सकिदैन। खैर, काठमाडौंको आकाशबाट धादिङको आकाश हुदै डोल्पासम्मको हवाई यात्रा सुरु हुन्छ।
जहाज उडेको केही समयपछि हाम्रो आँखाहरुले सुन्दरता र स्वर्गको दृश्य अनुभत गर्न थाल्छन्। यसैपनि हिमालहरुको देश हो,हाम्रो। त्यसैमाथि डोल्पाको उडानमा देखिने असंख्य हिमालहरुले हामीलाई भुतुक्कै पार्छ। सेताम्मे मनमोहक हिमालहरुपनि हामीलाई हेरेरै मुस्कुराएको जस्तो देखिन्छन्। कतै ती हिमालहरुपनि हाम्रै स्वागतको खातिर उभिरहेका त हैनन्?
धादिङको भुगोलमाथि बाट जहाजले गति झन तिब्र बनाउछ। तर तिब्र गति किमार्थ टिक्दैन भने झै हामी क्षणभरमै पोखरा पुग्छौ।
पोखराले त झन कसलाई पो आर्कषित नगर्ला र? पोखरा शहरमाथि दन्ते लहर देखाईरहेका हिमाल, फेदमा पानीको ताल र चारैतिरको हरियो जगंलले जसलाईपनि लालायित बनाउँछ। त्यतीबेलाको यात्रामा हामी आफुलाई भाग्यमानी मान्न पछि पर्दैनौ।हामीलाई पुग्नु त, डोल्पा छ। पोखरामै अल्झियौ भने डोल्पाको सपनाले तर्साउनपनि सक्छ। ठिक त्यतीबेला हाम्रो डोल्पाको सपनालाई जहाजले झस्काउछ। हामीलाई गन्तब्य सम्झाउँछ।
यात्राको गति बढिरहदा हामी भित्र डर र जिज्ञासाले ठाउँ बनाईसकेको हुन्छ। जहाजले विस्तारै पोखराको भुगोलबाट टाढा हुँदै जादा मनलेपनि थुप्रै प्रश्नहरु खेलाउन थाल्छ।पोखराको आकाशमा उडेपश्चात केही समयपछि जहाज बाग्लुङ हुँदै ढोरपाटन पुग्छ।
ओहो ढोरपाटन त झन कस्तो अलौकिक भुगोल? यहाँका भिरहरुमा चराहरुको बस्ती कस्तो अदभुत्? यहाँका पहाडहरुमा जंगली फुलहरुको रङ कस्तो पृथक ? ढोरपाटन पुगेपछि जहाजको पखेटाहरु पाखाहरुमा टाँसिएको महशुस हुन्छ। त्यतीबेलाको अनुभव त झन् सायदै लेख्न सकिएला।
ढोरपाटन क्षेत्रमा प्रवेश गरेपछि जहाजपनि जमिनदेखि नजिकैको दुरीमा हुन्छ। त्यतीबेला हुने जहाजको हलचलले कसो कसो मृत्युको झलकपनि देखाउँछ।
ढोरपाटनबाट केही समयमै जहाजले डोल्पाको विमानस्थल क्षेत्रमा पुर्याउँछ। पहाड ढालेर बनाइएको जुफाल विमानस्थल टाढैबाट देखिन्छ। तर जहाजे जमिन नटेकेसम्म मनबाट डर र त्रासले ठाउँ छाड्दैन।
जसोतसो जुफाल विमानस्थलमा ओर्लिएपछि बल्ल मुटुले ढुक्कसँग धड्कीन थाल्छ। त्यसपश्चात डोल्पाको चिसो हावा, हावामा फर्फराईरहेका स्थानीय ध्वँजाहरु, अलग सभ्यता हुर्काइरहेका त्यहाँका मानिसहरुको चेहेरा र चारैतिरको पहाडका चुचूराहरुले आँखालाई शान्ती दिलाउछ। अनुहारमा वेग्लै मुस्कान दिन्छ। मन फुरुङ्ङ बनाउँछ।
त्यतीबेला प्रश्न गर्न मन लाग्छ, प्रकृतिलाई। काठमाडौँको आकाशमा उड्ने चराहरु डोल्पासम्म पुग्छन् होला की नाई? काठमाडौँमा चल्ने हावा डोल्पासम्म बहन्छ होला की नाई? प्राकृति पनि कस्तो अचम्मको? जसले डोल्पालाई डोल्पा बनायो।
यसरी काठमाडौंबाट डोल्पासम्म पुग्न हामीलाई करिब १ घण्टा ५० मिनेट आकाशमा सयर गर्नुपर्ने हुन्छ। जसको लागि निजी हवाई कम्पनी समिट एअरले साताको २ पटक डोल्पासम्मको उडान व्यवस्था गर्दै आएको छ।