काठमाडौं उपत्यका केही दिनदेखि खुलेको थिएन। तुवाँलोले ढाकिएको शहरमा ज्येष्ठ नागरिक, बालबालिका तथा श्वास प्रश्वाससम्बन्धी रोग भएकाहरुलाई घरबाहिर ननिस्कन सरकारको आग्रह थियो। स्वाथ्यकर्मीहरुले पनि सन्देश प्रवाह गरिरहेका थिए।
कोभिड १९ को महामारीले गर्दा निरन्तर सञ्चालन गरिरहेको जेसुम कला साहित्य यात्रा अवरुद्ध भएको लामो समय भएको थियो। यही हप्तामा पुनः सुचारु गर्न लागेको जेसुम यात्राका लागि काठमाडौंको धुमिल वातावरणले मन पनि धुमिल बनाइरहेको थियो– यात्रा अभियन्ताहरुलाई।
त्यसैले दिन छनौट गर्न सकिरहेको थिएन तर जसै गत बुधबारदेखि काठमाडौ खुल्न थाल्यो उनीहरुमा खुशीको सीमा रहेन। तुरुन्तै जेसुम यात्रा श्रृङ्खला–१३ का लागि तयार भए। अभियन्ता अनिता लामा र फूलमान बल तथा स्नेह सायमीले तीन दिनमै तयार भई यस पटकको जेसुम अभियान सुचारु गरेको रोमाञ्चक भएर सुनाए।
२०७७ पौष २४, शुक्रबारको बिहानी घामले छोएपछि भक्तपुर दरबार स्क्वायर सुन्तले माटोले पोतेको जस्तो देखियो। घामले चम्किएको सुनौलो सुकुलढोकाले स्वागत गर्यो जेसुम यात्रीहरुलाई। र, दरबार क्षेत्रमा प्रवेश गरायो।
यति बेला मानिस फाट्टफुट्ट मात्रै ओहोरदोहोर गरिरहेको देखिन्थ्यो। घामको ताप रनक्क हुँदै गयो। जेसुम यात्रीहरू तातो चियागफसँगै बाफिँदै गयो। लामो अन्तरालपछिको यात्रा–श्रृङ्खला र भक्तपुरको ऐतिहासिक मौलिकता, कलाकृति, सम्पदाको सभ्यता, स्थानीय बजार, जनजीविका, लोकसंस्कृति, नेवारी पहिचानका विविध आयामहरूले जेसुम यात्रीहरूमा उत्साह भरिदियो।
घामको परिपक्वतासँगै दरबारक्षेत्रभित्र मानिसको बाक्लै चहलपहल सुरु भइसकेको थियो। यहीबीच जेसुम यात्राको संयोजन गरिरहेकी मैले भनेँ, ‘अब हामी केही घण्टा भक्तपुरको कला संस्कृति, भौगोलिकताका विविध पहिचानहरुसँग हराउने छौँ, छरिने छौँ र आ–आफ्नो सृजना गर्नेछौँ।’
लगत्तै चित्रकारहरू क्यान्भासको मोहडा मिलाउन थाले। कवि लेखकहरू विम्व बतासमा लुप्त भए। रङ्गकर्मी तथा पत्रकारहरू आ–आफ्नै ढर्रामा व्यस्त देखिए।
कवि स्नेह सायमी भक्तपुरका प्रत्येक देवल र दरबारका पटाँगिनीका ढुङ्गाहरुलाई बढो ध्यानपूर्वक नियालिरहेका थिए। कवि सुरेश हाचेकाली, कवि शशी लुमुम्बु पच्पन्नझ्याले दरबार सामुन्ने विचार सेयर गर्दै थिए– जेसुम यात्राको अग्र्यानिक स्वाद नै यही हो कि तपाईं केही देख्नुस् र केही लेख्नुस्।
कवि वासुदेव अधिकारी भन्दै थिए, ‘निकै सताइएको थिएँ, पटक–पटक जेसुम यात्रामा सहभागी हुन नपाउँदा, आज पहिलोपटक यो स्वाद चुम्न आइपुगेको छु। दत्तात्रेयको प्राङ्गणमा टक्कएको होरिएका छन् चलचित्र निर्देशक, समीक्षक दीपेन्द्र लामा र यसरी अभियानको विषयमा यसरी भावना पोख्न भ्याउँछन्– कला क्षेत्रसँग दशकौादेखि संगतमा छु तर आज एउटा छुट्टै टेष्टमा प्रवेश गरिरहेछु, रोमाञ्चकताले छुँदैछ।
कवि–कलाकारहरुको चकचक चलिरहेकै थियो। समाजसेवा तथा मानवीय कार्यहरूमा आफ्नो बेग्लै पहिचान बनाउँदै आइरहेकी प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी÷प्रथम महिला राधिका शाक्य अभियानका यी दृश्यहरू हेर्दै नियाल्दै दरबार क्षेत्रमा आइपुगिन्।
कलाकार चन्द्रा श्रेष्ठको कलाकृतिले उनको ध्यान खिच्यो। टक्क उभिएर उनले सोधिन्, ‘केको चित्र उतार्नुभएको ?’ चित्रकार चन्द्रा अगाडिको मन्दिरछेउको हात्तीको मूर्तिलाई केन्द्र मानेर घुमफिरमा रमाइरहेका मानिसलाई क्यान्भासमा आकृति दिइरहेका थिए।
सँगै चित्र कोरिरहेका बालक सौगात यकामीको चित्रले पनि राधिकाको ध्यान आकृष्ट गरायो। सौगात सामुन्नेको मन्दिरलाई चित्रमा उतारिरहेका थिए।
दरबार क्षेत्रभित्र मानिसको आवतजावत र चहलपहल देखेपछि प्रथम महिला शाक्यले भन्नुभयो, ‘मैले तपार्इं जेसुम यात्राका साथीहरु मात्रै हुनुहुन्छ भनेको त धेरै दाजुभाइ/दिदीबहिनीहरु यसरी खुशीका साथ दरबार क्षेत्रमा घुमफिर र आराम गरिरहेको देख्दा आनन्द लाग्यो। कोरोना महामारी र त्यसको पीडाबाट मानिस बिस्तारै उठ्न थालेको, रमाउन थालेको देख्दा खुशी लाग्यो।’
चित्रकार राजेन्द्र यकामीले दरबार पटाँगिनीको काठको कलात्मक खाँबोलाई जीवन्त उतारिरहेका थिए भने राधेश्याम श्रेष्ठले क्यान्भासमा सुकुल ढोकालाई टलक्क टल्काइरहेका थिए।
दीपेन्द्र बनेपालीले मन्दिरको कलात्मक आमाछोराको मूर्तिलाई आफ्नो क्यान्भासमा स्वरूप दिइरहेका थिए। पूण्यराम माताङ, कान्छाकाजी भासिमा, लक्ष्मीप्रसाद कोतेजाले पनि भक्तपुरका महत्वपूर्ण देवल, मन्दिर, सुनौलो सुकुलढोकालाई आ–आफ्नो स्वरूपमा सुन्दर स्केच गरिरहेका थिए।
प्रथम महिला राधिका शाक्यले यी सबै जीवन्त कलाकृतिहरूसँगै दरबार क्षेत्रको अवलोकन गर्नुभयो र त्यसपछि स्थानीय बज्र रेष्टुरेन्टको बगैंचामा सबै जेसुम यात्रीहरूले भर्खरै रचित सृजना प्रस्तुत गर्ने क्रम सुरु भयो।
कवि स्नेह सायमी, कवि फूलमान बलले भक्तपुरलाई मुख्य मिथक मानेर भक्तपुरको मौलिक सांस्कृतिक पहिचान संरक्षण, सम्बद्र्धनमाथि रचेको कविता सुनाए।
कवि अनन्त वाग्लेले भक्तपुर विशेष गरी नेवारी समुदायको विशिष्ट शहर सभ्यतामात्रै नभई त्यही सभ्यताबाट उठेको परिश्रमी किसानले उपत्यकाबासीलाई खुवाएको, उभाएको सभ्यता पनि बिर्सन नहुने भन्दै खर्पनलाई आफ्नो कविताको प्रमुख विम्व बनाएको कविता सुनाए।
मेरो कवि हृदय पनि कम्ति पुलकित भएको थिएन। मैले आधुनिक बजार र वैज्ञानिक समयले गुमाउँदै, हराउँदै गएको ख्वःप (नेवारी भाषामा भक्तपुरको नाम) सँग गाँसिएका नेवारी पूर्खाको परिश्रमले स्थापित सभ्यता, संस्कृति र पहिचानको मर्मलक्ष्यित कविता सुनाएँ।
कवि रोजिता बुद्धाचार्यले सगरमाथा आरोहणसँग सम्बन्धित प्रसङ्गसहित भक्तपुरका मर्म बोकेको कविता सुनाइन्। कवि गणेश बुढाले राष्ट्रियतासँग सम्बन्धित कविता भने। अर्का कवयित्री अस्मिता मालीले माटोले दिने वासना र आकृति लक्ष्यित दार्शनिक कविता सुनाए।
पत्रकार बालकृष्ण बस्नेतले जेसुम अभियान एक सकरात्मक दृष्टि लक्ष्यित कविता प्रस्तुत गरे भने लेखक, पत्रकार तथा फिल्म निर्देशक दीपेन्द्र लामाले चलचित्र निर्माणका क्रममा धेरै स्थानहरु पुगेको भए पनि यस प्रकारको बहुप्रतिभा समेटिएको कार्यक्रममा आफू आउन पाएकोमा खुशी व्यक्त गरे। उनले आफूलाई लाभदायक लागेको भावना पोखे।
पत्रकार मनोहरि थापाले राष्ट्रिय भावनाको गीत तथा रङ्गकर्मी सन्तोष लामाले लोकलयको असारे गीत सुनाउन भ्याए। पर्वतारोही देउराली चाम्लिङ र पत्रकार जगत तामाङ्ग र रङ्गकर्मी शान्ति वाइबाले अभियानको दर्शनबोधभित्र समेटिन पाउँदाको अनुभूति सुनाए। चित्रकारहरूले आ–आफ्नो सृजना प्रदर्शन सहित सृजितचित्रको विषयमा जानकारी गराए।
सबै प्रस्तुतिहरुमा रमाइरहनुभएकी प्रथम महिला राधिका शाक्यले अभियानलाई शुभकामना दिने क्रममा भनिन्, ‘सबै रचना, सृजनाहरू एक से एक रहेको छ। यस्तो कार्यक्रमले तनाव व्यवस्थापन गर्न, मानसिक, शारीरिक तन्दूरुस्ती कायम गर्न निकै सहयोग पुग्ने छ।’ उनले यो अभियान नै सकारात्मक सोच तथा एकअर्काप्रतिको प्रेमिल भावनाले सुरु भएकोले आफूले अभियानको विषयमा सुने पनि पहिलोपटक यसरी प्रत्यक्ष अनुभव गर्ने अवसर पाएको बताइन् ।
प्रथम महिला शाक्यले भनिन्, ‘हामी दुवै (पति केपी शर्मा ओलीसमेत) जना कला, संस्कृतिलाई मन पराउँछौं। त्यसैले बालुवाटार (प्रधानमन्त्री निवास) मा पनि हामी साहित्यिक, साँस्कृतिक र मानवीय तथा परोपकारको काम पनि बारम्बार आयोजना गर्ने गर्छौँ।’
शाक्यले भनिन्, ‘यस्ता कार्यक्रमहरुले दिने उर्जाले हामीलाई निरन्तर काममा लागिरहन प्रेरित गरिरहन्छ। त्यसैले बालुवाटार पहिले–पहिले राजनीतिको मात्र केन्द्र भाग थियो होला तर अहिले बालुवाटार राजनीतिमात्रै होइन, मानवीय कल्याणकारी काम, साहित्य, संगीत र संस्कृतिका पक्षमा पनि कार्यक्रमहरु भइरहन्छन्।’
शाक्यले भनिन्, ‘जीवनलाई जीवन्त बनाउन यस प्रकारको काम र सहकार्य हामी दुवै लाई निकै महत्वपूर्ण लाग्छ। परिश्रम गर्नुस्, आफ्नो मेहेनतमा रमाउनुस्, निरन्तर खट्नुस्। खटेपछि कामको परिणाम अवश्य आउँछ। तपाईंहरुको यो जेसुम अभियान हेर्दा सानो छ, तर यसको उद्देश्य र फैलावट निकै सुन्दर छ। यो अभियानले उद्देश्यअनुसारको उचाइलियोस्। सानो प्रयत्नबाटै सम्भावनाहरु अघि बढ्छन्, तपाईंहरु अघि बढिरहनुहोस्, मेरो धेरै शुभकामना छ।’
कला, साहित्य, रङ्गमञ्चको माध्यममार्फत् स्थानीय कला, सम्पदा र संस्कृति प्रतिबिम्बित एक सकरात्मक अभियान हो– जेसुमयात्रा।
विगत दुई वर्षदेखि देशका विभिन्न स्थानीय भौगोलिक, सांस्कृतिक, स्थानीय जनजीविकासँग सम्बन्धित रही यो अभियान सञ्चालन गरिएको छ। जेसुमयात्राको १३ औं श्रृङ्खलाको संयोजन गर्ने अवसर पाएकीमा म अनिता लामाले पनि गौरव महसुस गरेँ।