प्रथम लिगलिगे साइकल दौड

लिगलिगकोटमा साइकलेको मेला [फोटोफिचर]

सुरेन्द्र राना ‘घुमफिरे’

लिगलिगकोट, गोर्खा  

ऐतिहासिक गन्तव्य लिगलिगकोटले ‘एडभेन्चर डेष्टिनेशन’का रुपमा नयाँ चिनारी बनाएको छ। प्रजातन्त्र दिवसका अवसरमा गत फागुन ७ गते लिगलिगे साइकल दौड आयोजना गरेसँगै लिगलिग फेरि एकपटक चम्किएको छ। 

कोटको ऐतिहासिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाइ उजिल्याउँदै पर्यटन विकास गर्ने उद्देश्यले ’प्रथम लिगलिगे साइकल दौड’ गरिएको हो। 

नेपाल एकीकरण अघि लिगलिगकोटमा घले मगरहरु दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो। त्यो वेला दौडेर राजा हुने परम्परालाई पछ्याउदै अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन साइकल दौड गरिएको आएको आयोजक लिगलिग भिलेज स्पोर्ट्सका अध्यक्ष सञ्जिव रानाले जानकारी गराएका थिए। 

लिगलिगकोट (१४३७ मिटर) ऐतिहासिक स्थल हो। कोट क्षेत्रमा बसोबास गर्ने मगर, ठकुरी तथा दलित समुदायको जीवनशैली र संस्कृति मनमोहक छ। यहाँबाट देखिने उत्तर–पूर्वतर्फ मनोरम बौद्ध हिमाल, मनास्लु, हिमालचुली, गणेश हिमाल लगायतका दर्जन बढि हिमश्रङखला अवलोकन गर्न सकिन्छ। दक्षिण–पश्चिमतर्फ हरिया महाभारत पर्वत शृङ्खला, नागवेली चेपे नदीका साथै विशाल फाँट र गाउँवस्तिका दृश्य अत्यन्तै रमणिय छ।

लिगलिगकोट क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिले निकै महत्वपुर्ण छ। नेपालमा २ सय ४० वर्ष शासन गरेको शाह बंशको उद्गमस्थल हो लिगलिगकोट। 

इतिहास, संस्कृति र प्रकृतिको संगम लिगलिगकोट। ’साहसिक खेलका माध्यमबाट यस ठाउँको प्रचारप्रसार र प्रवर्धन हुनेछ ’ लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष सञ्जीव रानाले भने, ’साइकल दौडले यस क्षेत्रको प्रचार गरेर पर्यटन विकासमा सघाउ पुर्याउनेछ।’

लिगलिगको इतिहास

चौबिसे राज्यकालमा लिगलिग छुट्टै राज्य थियो। "लिगलिग" शव्दको उत्पत्ति बारे बिभिन्न मतहरु मध्य मगर भाषाको "लिंगलिंग" शब्दबाट आएको मानिन्छ। जसको अर्थ सफा ,ताजा र सुन्दर दृश्य हो। स्थानीय शिक्षक तथा समाजसेवी वेदवहादुर राना मगरका अनुसार करिव ४०० वर्ष अघि यहाँ घले मगर राजाद्वारा राजकाज चलाइन्थ्यो। तिनताका प्रत्यक वर्ष दसैँका दिन चेपेदखि लिगलिगकोटसम्म दौडने चलन थियो। दौडमा जित्नेले एक वर्षका लागि राजा हुने लोकतान्त्रिक परम्परा थियो। 

यहि नियमअनुसार लमजुङका ठकुरी राजकुमार द्रव्य शाहले दौडेर जिते। घले मगर राजाको शासन अन्त्य भयो र नेपालमा शाह वशीय शासनको उदय भयो। कालन्तारमा पृथ्वीनारायण शाहले नेपालका अन्य सा–साना राज्य एकीकरण गरेर आधुनिक राज्य नेपालको स्थापना गरे। हाल लिगलिगकोट गोरखाको पालुङटार नगरपालिका–२, खोल्लीमा पर्दछ। यस क्षेत्रभित्र मूलकोट, पाँचवटा गढी, श्रीकालिका माई, भूमे, भीमसेन र द्रव्यदेवीको स्थान, शिलालेखसहित पाटी छन्। यहाँ द्रव्य शाहको दरवारको भग्नावेश छ। गोरखका ३९ वटा कोटमध्ये लिगलिगकोट पनि एक हो।

पालुङटार नगरपालिकाका प्रमुख दीपक बाबु कँडेलले भन्छन्, ’दौडेर जितेपछि एक वर्षका लागि राजा हुने लोकतान्त्रिक अभ्यास गर्ने ठाउँ लिगलिगकोट सम्भवत विश्वमै पहिलो हो।’ नेपाल एकीकरणको जग यहिवाट सुरु भएको थियो। त्यसवखत वाइसे-चौविसे राज्यको पालामा नेपालमा टुक्रा टुक्रा राज्य थियो, भुरेटाकुरे राजाद्वारा शासन सत्ता सम्हालिन्थ्यो। 

शिक्षक राना मगर भन्छन, ’यति ठुलो इतिहास र महत्व बोकेको लिगलिगकोट ओझेलमा परेको छ,’ राज्यकातर्फवाट समेत उपेक्षित गरिएको छ, अव सरकारले यो ठाँउको विकास र प्रवर्धनमा सहयोग गर्न पर्छ। स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर लिगलिगकोटको विकास र पुर्वधारमा विशेष पहल गर्न पर्ने देखिन्छ।

साइकल दौड कार्यक्रममा वोल्दै नगरपालिका प्रमुख कँडेलले भन्छन ‘आधुनिक नेपालको जग बसाल्ने ऐतिहासिक ठाउँ लिगलिगलाइ पर्यटनका माध्यमद्वारा विकास गर्नेछौ।’ 

लिगलिगकोटलाइ केन्द्रमा राखेर पर्यटन विकासमा जुटेका र साहसिक खेल पर्यटनलाई जोड दिएको उनले वताए।  पर्यटन विकासले यस क्षेत्रका स्थानीयको आर्थिक आयआर्जनमा सहयोग पुर्याउने उनले विश्वास लिएका छन्।

कोरोना महामारीदेखि लामो समय सुस्ताएको पर्यटन क्षेत्र यति भव्य र महत्वपुर्ण साइकल इभेन्टले आन्तरिक पर्यटनमा पुनर्जिवित भएको सन्देश दिएको छ ’ नेपाल पर्यटन वोर्डका सिईओ डा. धनन्जय रेग्मीले भनेका थिए। 

आगामी दिनमा ऐतिहासिक र पुरातत्विक महत्व वोकेको लिगलिगकोटलाइ पर्यटन वोर्डले निरन्तर सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त उनले जनाएका छन्। 

त्यसैगरी नेपाल साइकल संघका अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिले कार्यक्रम अत्यन्तै सफल भएको र सहभागी सम्पुर्ण खेलाडी भाइ बहिनलाई वधाई समेत दिएका थिए। उनले पालुङटार नगरपालिकालाई अझै नयाँनयाँ खेलाडि दिन आग्रह गर्दै उनीहरुलाई प्रविधिक रुपले निखार्न संघ सधै तत्पर रहेको वताए।

सुनसान लिगलिगकोट साइकल प्रतियोगिताले चहलपहल 

सयौ साइकल खेलाडीसहित प्राविधिक टोली गत विहीबारकै दिन लिगलिग पुगेका थिए। नेपालभरवाट जम्मा भएका साइकलेलाई थप हौसला दिन सयौं मानिस लिगलिगकोटमा उपस्थित थिए। केहि दिन देखि चहलपहल वढेको गाउँमा प्रतियोगिताका दिन बिहानैदेखि मानिसको भिडभाड थियो। कार्यक्रममा विभिन्न कलाकार र समुहद्वारा सांस्कृतिक कार्यक्रमद्वारा मनोरञ्जन दिइएको थियो। स्थानीय तथा छिमेकी कलाकारहरूले लिगलिगकोट कालिका मन्दिर परिसरमा कौरा, सोरठी, मारुनी, लाखे नाच, एकल नृत्य, लोकदोहोरी तथा अन्य सांस्कृतिक कार्यक्रमले थप रौनकता वढाएको थियो। 

हर्मिचौर गुरुङ समाज, आँपिपल नेवार समुह, लाखे नाच सहित वाजा समूह,  हर्मिचौर भजन मण्डली, तथा घाँसिकुवा युवा क्लव तनहुँ लगायतले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। शुक्रवार लिगलिगकोटमा मेला लागेको थियो।

साइकल खेल प्रतियोगि र पाहुनालाई आयोजकले लिगलिगकोट सामुदायिक होमस्टे तथा टेन्टमा खाना र बासको राम्रो प्रवन्ध मिलाएको थियो।

लिगलिग सामुदायिक होमस्टे

लिगलिगकोटको काखमा अवस्थित खोल्ली गाउँमा गत मंसिर १३, २०७७ सालमा होमस्टे सुरु गरिएको हो। ७ खोपिवाट सुरु गरिएको होमस्टेमा एक डवल वेड र २ सिङगल वेड छ। प्रत्येक खोपिमा ३ जना अटाउँछ, छुट्टै ट्वाइलेट तथा वाथरुम  व्यवस्था छ। 

शाकाहारी भोजनमा दाल, भात, ढिँडो, गुन्द्रुकको अचार, सिस्नोको साग लगायत स्थानिय उत्पादनका तरकारीको साथै मांसाहारीका लागी लोकल कुखुरा, खसी, बया वंगुरको मासु खुवाउने व्यवस्था रहेको होमस्टेका संरक्षक वेदवहादुर रानाले वताएका छन।

होमस्टे निर्माणमा पालुंटार २ सिमपानी निवासी हाल अमेरिका बस्ने डा. बालकृष्ण शर्माको पहलमा छुट्टै घर निर्माण भएका हुन्। उनकै पहलमा ७ घर निर्माणका लागी २१ लाख आर्थिक सहयोग प्राप्त भएको होमस्टेका अध्यक्ष चन्द्रवति रानाले वताइन्। निर्माण सामाग्री ढुवानीका पालुङटार नगरपालिकाले सहयोग गरेका हुने भने होमस्टेका फर्निचर भने बौद्ध हिमाल युवा क्लब पालुङटार स्वदेश तथा अमेरिकावाट सहयोग जुटाएका हुन्। 
हामी पाहुनालाइ गाउँको स्वच्छ वातावरणमा अर्गानिक खाना, आरमदायी वास र सांस्कृतिक नाचगान प्रस्तुत गर्दछौ।’

वेलुकीको खाजा, साहाकारी भोजन , रातको वास र विहानको खाजासहित प्याकेज मूल्य रू ८०० मुल्य राखिएको छ। 

कसरी पुग्नेः

तनहुँ जिल्लाको डुम्रेबाट तुरतरे हुँदै पालुङटार एयरपोर्ट, ठाँटिपोखरी हुँदै खोल्ली करिव २६ किमी पक्कि सडक छ। त्यस्तै लमजुङको बेसीसहरबाट राइनस नगरपालिका धमिलिकुवा हुदै। र गोरखा सदरमुकामबाट छेपेटार, खोप्लाङ, लुइँटेल, बडडाँडा हुँदै पुगिन्छ।

सम्पर्कः ९८५१२३४८१४, ९७४१७२५२७१, ९८६२३८५१५५ 

प्रथम लिगलिगे साइकल दौड 

सय भन्दा धेरै साइकल खेलाडीले दर्ता गरेकोमा ७२ पुरुषसहित १६ जना महिलाले दौडमा भाग लिएका थिए। देशका विभिन्न भागवाट खेलाडि भाग लिन लिगलिग पुगेका थिए। लिगलिगकोटबाट सुरु भएको साइकल दौड आपँपिपल भञ्ज्याङ, हर्मी भञ्ज्याङ, मुकुनडाँडा, आँपपिपल अस्पताल, बनटार, भण्डारथोक, चेपेपुल, गरमबेंसी, चेपेघाट दोभान, पालुङटार हवाइग्राउन्ड एयरपोर्ट, तालपोखरी, कालमाटा, ठाँटीपोखरी, लुइँटेल, वटडाडाँ, बोहोरागाउँ, बिजुली डाँडा, खोल्ली हुँदै फेरी लिगलिगकोटमा आएर टुंगिएको थियो। साइकल खेलाडिले कुल ५२.९ किमि दूरी साइकल कुदाएर पार गरेका थिए। 

लिगलिग भिलेज स्पोर्टसद्धारा आयोजना गरिइएको कार्यक्रम पालुङटार नगरपालिका र नेपाल पर्यटन वोर्डले प्रायोजन गरेको थियो। त्यस्तै लमजुङको राइनास नागरपालिका र गोरखाको सिरानचोक गाउँपालिकाले पनि हातेमालो गरेका थियो। प्रतियोगितामा आँपिपल निवासी मनकाजी श्रेष्ठले टिशर्ट शौजन्य गरेका थिए भने गोर्खा समाज, हङकङले झण्डा सहयोग गरेका थियो। प्रतियोगितालाई नेपाल साइकल संघको प्राविधिक सहयोग, हाइलाइटस टुरिजमको मिडिया सहकार्य, बौद्ध हिमाल युवा क्लवले रेस रुट भोलिन्टेयर, स्टोरी साइकलले कम्युनिकेशन सपोर्ट, साथै चितवन फिजिकल फिटनेस सेन्टरले २० जना खेलाडीको दर्ता शुल्क प्रायोजन गरेको थियो।

इतिहास संरक्षणका लागि ’लिगलिगे दौड प्रतियोगिता’

विसं १६०४ मा शुरु भएको घले मगरहरुले दौडेर राजा वन्ने प्रचलनलाई प्रतिकात्मक झल्को दिन २०६७ बाट प्रत्येक वर्ष लिगलिग दौड प्रतियोगिता गर्दै आएको लिगलिग भिलेजका अध्यक्ष सन्जिव रानाले जानकारी गराए। राजा द्रव्य शाहले दौडमा विजय प्राप्त गरेर राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ। त्यही दौडेर राजा हुने परम्पराको प्रतीकात्मक झल्को दिने गरी २०६७ सालदेखि लिगलिगे डौड आयोजना गरेको थियो। 

त्यहि परम्परा पछ्याउँदै दौडमा सहभागी खेलाडिले चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरेर १३.८ किलोमिटर दूरी दौडेर लिगलिग कोटसम्म पुगेर टुंगिन्छ। लमजुङ र गोरखाको सिमाना चेपेघाटबाट सुरु हुने दौड ठाँटीपोखरी, छाप्थोक, बडडाँडा, साउनेपानी, बोहरा गाउँ, मैबल, दर्खेपानी, राई गाउँ, बिजुलेडाँडा हुँदै लिगलिगकोट दरबारमा पुगेर टुंगिन्छ। दौडमा प्रथम हुनेलाई एक दिनको लिगलिगे राजा घोषणा राजा घोषणा गर्दै श्रीपेचको लगाएर साठी हजार एक सय रुपैयाँ पगरी, मेडल र ट्रफी प्रदान गरिंदै आएको छ।  

यसवर्ष भने कोरोना महामारीका कारण दौड प्रतियोगिता स्थगित गरेको थियो। यसवर्ष देखि साइकल दौड सुरु गरिएको र यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको उनले सुनाए।   

यो वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसका दिन आयोजना गरिएको 'लिगलिगे साइकल दौड’ प्रतियोगिता कार्यक्रमका माध्यमबाट लिगलिगकोटको प्रचारप्रसारमा सहयोग पुग्ने अध्यक्ष रानाले वताए।

यसपल्टको ’प्रथम लिगलिगे साइकल दौडका’ उपाधि पुरुषतर्फ धादिङ निवासी एपिएफका लक्ष्मण मल्ल, कञ्चनपुरका हिमाल टमटा र ओकेशराज वज्रचार्यले क्रमश प्रथम , दोस्रो र तेस्रो जितेका थिए। महिला तर्फ भने र एपिएफकै धादिङका सोनि गुरुङ, नुवाकोटका लक्ष्मी मगर र उषा खनाल प्रथम, दोस्रो र तेस्रो जित हासिल गरेका थिए। 

विजेतालाई काँधमा बोकेर परम्पारिक वाजागाजा सहित हर्षोल्लाका साथ लिगलिगकोट कालिका मन्दिर परिक्रमा गराएको थियो। विजेतालाई ट्रफि, प्रमाणपत्र र नगद प्रदान गरेको थियो। प्रतियोगितामा ११ बर्षका कान्छा खेलाडी काठमाण्डुका वौद्ध निवासी सुयोगमानसिंह बस्न्यातले दौड पुरा गर्न सफल भएका थिए। उनलाई पालुङटार नगर प्रमुख कडेलले प्रोत्सानस्वरुप नगद ५ हजार रुपैयाँले सम्मान समेत गरेका थिए। त्यस्तै साफ खेलकुद २०७६ का डाउनहिल गोल्मेडलिस्ट राजेश मगर र निश्मा श्रेष्ठ सहित क्रस कन्ट्रि साइकल रेसका गोल्ड मेडलस्ट लक्ष्मी मगरको सहभागिताले खेलको शोभा बढाएको थियो।

काठमाण्डु, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, ललितपुर, नुवाकोट, भक्तपुर, मकवानपुर, सुनसरी, कास्की, गोर्खा , बाँके, चितवान , प्युठान, लम्जुङ, रसुवा , मोरङ, तेह्रथुम लगायत जिल्लाका साइकल खेलाडीले उत्साहजनक रुपमा प्रतियोगतामा सहभागी जनाएका थिए। 

विजेता खेलाडिलाई हार्दिक वधाई तथा सम्पुर्ण साइकल खेलाडिलाइ नमन।



लिगलिगे साइकल दौडकाे उपाधि लक्ष्मण र साेनुलाई 



 

प्रकाशित मिति: : 2021-02-26 16:35:00

प्रतिकृया दिनुहोस्