आम निर्वाचन

बारा-३ : साह र यादव विवादमा मुछिँदा सिंहलाई फाइदा

मंसिर ४ गते हुन लागेको आम निर्वाचनको अब २ साता मात्रै बाँकी छ। देशभरिका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरु प्रचार-प्रसारमा व्यस्त छन्।

प्रचार-प्रसारकै क्रममा बारा क्षेत्र न.३ मा वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का लालबाबु सिंह लोकप्रिय बन्दै गएका छन्।

क्षेत्रका जनतामाझ स्वच्छ छवि बनाएका सिंहलाई जनसमर्थन बढ्दै गएपछि उनी आफू विजय हुने भनी ढुक्क छन्।

दैनिक जनतामाझ गइहेका सिंह सभ्य र सालिन नेताका रुपमा पहिचान बनाएका छन्। पहिलो संविधानसभामा समानुपातिक सदस्य रहेका उनी बेदाग नेताका रुपमा चिनिन्छन्।

नेपाली कांग्रेस बाराको जिल्ला सभापति भइसकेका सिंह उम्मेदवार मोनोनयपत्र दर्ता गर्ने दिन लोसपाको उम्मेदवार बनेपछि उनलाई गठबन्धनका दल मात्रै नभई नेकपा एमाले र जसपाका समर्थकहरुले समेत साथ दिने निश्चित भएको छ।

अन्य उम्मेदवारहरु यसअघि पनि बारा-३ को प्रतिनिधित्व गरिसक्दा समेत विकास तथा परिवर्तनको महसुस गर्न नपाएपछि यसपालि सिंहलाई आफ्नो क्षेत्रको सांसद बनाउन आतुर रहेको स्थानीय नागरिकहरुले बताइरहेका छन्।

यस्तै बारा क्षेत्र न.३ बाट जनता समाजवादी पार्टी (जसपा) का रामबाबु कुमार यादव पुन: उम्मेदवार छन्, उनी वर्तमान सांसद समेत हुन्। नेकपा एमालेबाट भने यसअघि बारा ३(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ज्वाला साह उम्मेदवार छिन्।

यसअघिको आम निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेकी साह नेकपा विभाजनका बेला एमाले रोजेकी थिइन्। माउ पार्टीले उनलाई कारवाही गरेर निकालेपछि करिब २ वर्ष सो क्षेत्र प्रदेशसभा सांसदविहीन थियो। संसद विघटनपछि ओली सरकारमा केन्द्रीय मन्त्री बनेकी साह सो अगाडिसमेत २ पटक केन्द्रीय मन्त्री बनेकी थिइन्। ३ पटक मन्त्री बन्दासमेत क्षेत्रको लागि खासै काम गर्न नसकेकी साहका समर्थकहरु नै सिंहको साथमा लागेपछि उनी कमजोर बनेकी छिन्।

यता जसपाबाट सांसद जितेर पुन: उम्मेदवार बनेका यादवले विगतको ५ वर्षमा आफ्ना कार्यकर्ताको पोषण गर्नमा मात्रै व्यस्त रहेको तथा परिवारवादमा लिन भएको भन्दै उनको घरदैलो कार्यक्रम तथा चुनावी सभाहरुमै खुल्ला विरोध हुन थालेपछि उनी तनावमा परेका छन्।

क्षेत्र नं. ३ भित्रै पर्ने विवादित 'टाङ्गीय वस्ती' मा संसदीय कोषको रकम दुरुपयोग गरी बिजुलीको पोल गाडेपछि उनको विरोधको आगोमा घ्यू थपिएको जानकारहरु बताउँछन्।

चुनावको मुखमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सरकारले खाली गराउन लागेको 'इलिगल कब्जा' बस्तीमा भोटको राजनीतिका लागि पोल गाडेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ।

यता साह र यादवभन्दा अलग सफा छविका सिंह आम नागरिकको रोजाइ बन्न पुगेका छन्। युवा, बुद्धिजिवी, व्यापारी, महिला तथा हरेको वर्गको सहयोग पाइरहेका सिंहको लोकप्रियता बढेसंगै आउने दिनमा क्षेत्रको चौतर्फी विकास हुने भन्दै यहाँका जनता ढुक्क छन्।

गठबन्धनका साझा उम्मेदवार सिंहले पनि आफू निर्वाचित भए सर्वप्रथम राजनीतिक कारणले राेकिएको मानवत-मटिअर्वा सडकखण्ड अन्तर्गतको औधापुर-विश्वम्भरपुरको सडक निर्माण गराउने तथा कलैयामा ठुला-ठुला योजनाहरु सञ्चालनमा ल्याउने घोषणासमेत गरेका छन्।

प्रकाशित मिति: : 2022-11-05 15:27:00

प्रतिकृया दिनुहोस्