साढे दुई दशकअघि संखुवासभाका प्रभुराम दाहाल आफूलाई संसारकै भाग्यमानी व्यक्ति ठान्थे। उनी दुई छोरा, छोरी र श्रीमतीका साथ खुसी थिए। मेहनती स्वभावका थिए, प्रभुराम। बिहानकाे २ बजे उठ्थे। तीन बजे कालीमाटी पुग्थे। अनि त्यहीबाट किनेर ल्याएकाे तरकारी ६ बजेदेखि चाबहिलकाे सब्जी मण्डीमा बेच्न सुरू गर्थे।
दिनभरि बेचेकाे तरकारीबाट उनी दिनको ७ हजार कमाउँथे। त्यही पैसाबाट उनले घर खर्च र छाेराछाेरीकाे पढाइ खर्च उठाइरहेका थिए। खान लगाउन समस्या थिएन। सुखी थियाे, दाहाल परिवार। तर २०५८ सालमा सिसा फुटेझैँ छरपस्ट भयो, उनको परिवार।
१९ वर्षका जेठा छाेरा शंकर ‘एसएलसी’ पास थिए। १७ वर्षका कान्छा छाेरा बासु चाबहिलकाे एक ‘बाेर्डिङ’ स्कुलमा कक्षा–८ मा पढ्थे। जेठा कलेज पढ्ने तरखरमा थिए भने कान्छाे स्कुलले दिएकाे छुट्टीमा थिए। त्यसैले उनीहरूले आफ्नो विदा गाउँमा गएर मनाउने निधाे। दाजुभाइकाे याेजना थियाे, पढाइ सुरु हुनुअघि गाउँ घुमेर काठमाडौं फर्किने।
गाउँ जाने छाेराहरूकाे याेजना सुनेर झस्किएका उनले विगतमा गाउँमा घटेका घटनाहरू सम्झन थाले। गाउँमा माओवादीकाे बिगबिगी थियाे। हट्टाकट्टा केटाहरू देख्नासाथ माओवादीले फकाउँदै जंगलतिर लैजान्थे र आफूजस्तै माओवादी बनाएर फर्काउँथे। तर भनेका नमान्नेहरूलाई माओवादीले गाेली ठाेकेर मारिदिन्थे। त्यही गाेलीमा परेका थिए, प्रभुरामकाे साथी।
‘मेरा साथीहरुलाई माओवादीले घरबाट फकाएर लैजान खोजे तर साथीहरु माओवादी बन्न मानेनन् र उनीहरुलाई गोली ठोकेर मारिदिए’ स्वर्गीय साथीलाई सम्झदै उनले भने, ‘मेरा साथीहरु बलिया थिए, माओवादीको फन्दामा परे तर म सिकुटे थिएँ। त्यसैले मलाई माओवादीले उनीहरूसँग जानका लागि कहिल्यै फकाएन। माओवादीले काम गर्नसक्ने केटालाई मात्र छानेर लैजान्थ्याे।’
भाग्यवश माओवादीको चंगुलबाट बचेका उनी छोराहरुलाई गाउँमा पठाउन चाहदैनन् थिए। उनले छोराहरुलाई गाउँमा नजान पनि सुझाए। उनले छोराहरुलाई भने, ‘गाउँमा तिमीहरुको को छ र? बाआमा सबै जना यहीँ छ किन जान्छौँ घर?’ गाउँ जान नदिएपछि छोराहरुले उनलाई भनेका थिए, ‘घरमा हाम्रो कोही नभएपनि बूढो मावली त छ नि बा! उहाँलाई नै भेटेर चाँडो फर्किन्छौँ।’
साता दिनभित्र घर फर्किने वाचा गर्दै बाआमाको खुट्टा ढोगेर दुई दाजुभाइ गाउँ हानिए। काठमाडौंबाट संखुवासभा गएका छोराहरु बूढो मावलीमा बस्न थाले। यता बाआमा भने गाउँ गएका छाेराहरू छिट्टै काठमाडाैं फकियाेस् भन्दै कामना गर्न थाले।
छाेराहरू गएकाे साता दिन बित्याे। छाेराहरू काठमाडाैं फर्किएनन्। उनले गाउँका मामालाई फाेन गरेर साेध्न थाले, ‘केटाहरू कहिले घर फर्किन्छन्, मामा?’ गाउँबाट मामाले नातीहरू दुई दिनअघि काठमाडाैंका लागि निस्किएकाे बताए।
मामाकाे सुनेर आत्तिएका प्रभुरामले छाेराहरू काठमाडाैं नआएकाे बताउँदै गाउँमा खाेजिदिन आग्रह गरे। भाञ्जाका पीडा बुझेका मामाले पनि छाेराहरूलाई खाेज्न थाले। त्यहीबाट थाहा भयाे अन्तिमपटक शंकर र बासु माओवादीकाे साथमा थिए।
छाेराहरूलाई गाउँ पठाउनअघि जुन कुरासँग उनी डराइरहेका थिए, त्यही कुरा भयाे। उनका दुई छाेरा नै माओवादीकाे चंगुलमा परे। उनीहरू जंगलमा भाँसिए।
२१ वर्षअघि गाउँ जाँदा हराएका दुई छोराहरु अझै बेपत्ता छन्। उनीहरूकाे न सास भेटिएको छ न त लाश नै फेला परेको छ।
‘मेरा छोराहरुलाई माओवादीले बन्दुक ठोकेर मारिदिए होलान्’ अहिले आफूलाई सबैभन्दा अभागी पिता मान्ने उनी भन्छन्, ‘यदी छोराहरु जिउँदो भएको भए घर फर्किएर आउँथे होला तर अझैँ उनीहरु फर्किएर आएका छैनन्।’
रहरले जन्मिएका बेपत्ता छाेराहरूकाे यादमा विक्षिप्त भएका दाहाल दम्पत्ति छाेरीकाे कारण बाँचिरहेका थिए। उनीहरूका लागि छाेरी नै सबथाेक थिइन्। तर २०६२ सालमा उनीमाथि अर्को ठूलो वज्रपात पर्याे। जब उनीहरूकी एउटी छाेरीले पनि सदाका लागि संसार छाडिन्।
टन्सिलबाट ग्रसित भएकी १४ वर्षकी छोरीलाई उनले सक्दो उपचार गरे। तर छोरीलाई बचाउन सकेनन्। ‘छोरीको निधनले हामी बूढाबूढी बौलाएका थियौँ’ छोरीलाई सम्झिएर भावुक भएका उनी भन्छन्, ‘सडकमा भौतारिएर कति दिन हिड्यौँ हामीलाई नै पत्तो छैन।’
छोराछोरीको शोक सहेर जसोतसो बाँचिरहेका थिए, दाहाल दम्पत्ति। तर २०७५ सालमा ग्यास्टिक र २०७७ सालमा मुटुका बिरामी भए, प्रभुराम। तरकारी पसल गरेर जमाएकाे पैसा उनकै उपचारमा खर्चियाे। भएकाे एउटा पसलपनि उनकै उपचारका लागि बेचियाे।
‘म काम गर्न नसक्ने भएको थिएँ, त्यसैले तरकारी पसल बेचिदियौँ’ उनले भने, ‘हामीसँग अर्को कुनै विकल्प नै थिएन।’ काम गर्न नसक्ने भएका उनले आफ्ना पूराना साथीलाई ऐलानी जग्गा खाेजेर टहरा बनाइदिन आग्रह गरे।
‘अब हामी काम गर्न सक्दैनौँ, त्यसैले हामी कोठा भाँडा तिर्न सक्दैनौँ, हामीलाई टहरा बनाइदिनु है’ साथीलाई भनेको कुरा कोट्याउँदै उनले भने। दुख पाएका प्रभुरामलाई सान्त्वना दिँदै ती साथीले भनेका थिए, ‘टहरा भन्दापनि म तपाईंहरुलाई राम्रो ठाउँ पुर्याइदिन्छु।’ नभन्दै साथीले उनीहरूलाई काठमाडौंको रानीवनमा रहेको मानव सेवा आश्रम पुर्याइदिए। साथीकाे साहरामा आश्रम आइपुगेका दाहाल दम्पत्ति अहिले खुसी छन्।
डेढ वर्षदेखि आश्रममा रमाइरहेका उनी भन्छन्, ‘हाम्रो बूढेशकालकाे साहरा बनेकाे छ, याे आश्रम। याे आश्रम नभइदिएकाे भए हामी बेसाहरा हुन्थ्याैँ। त्यसैले हामी यहाँधेरै खुसी छाैँ।’
अहिले आश्रमकाे साहरा बाँचिरहेका आफूले विगतमा धेरै दुख सहनुपरेकाे उनी बताउँछन्। ‘मरेर बाँचेको मैले जीउनका लागि धेरै दुख र संघर्ष गरेँ’ उनले बिएल नेपाली सेवासँग दुख पाेखे।
मरेर बाँचेका थिए, प्रभुराम
२००५ सालमा जन्मिएका उनी दाहाल परिवारका कान्छा छोरा हुन्। उनीमाथि एक दाजु थिए भने दुई बहिनी थिइन्।
चार वर्षको उमेरमा उनले आमा गुमाए। उनलाई याद छैन, उनकी आमा कस्ती थिइन्। सानै बेला आमाको मायाबाट वञ्चित भएका उनी हजुरबाआमाको मायाले हुर्किए।
सानैदेखि मेहनती उनी पढाइमा रुची राख्थे। गाउँमा कुनै स्कुल थिएन त्योबेला। तर उनीहरूलाई गाउँका जान्नेबुझ्ने दाइहरूले पढाउने गरेका थिए। त्यही पढ्न उनी कोइला र काठ बोकेर पढ्न जान्थे। ‘दाइहरुले सिकाउनु भएकै कारण मैले आफ्नो नाम लेख्न जानेकाे थिएँ’ उनी सम्झिन्छन्।
पढाइका साथै उनी कामकाजमा पनि उत्तिकै माहिर थिए। कुरा आजभन्दा ६ दशकअघिकाे हाे। जब १४ वर्षका प्रभुराम गाईवस्तुका लागि घाँस काट्न सुरिलाे सालकाे रूखमा चढे।
ढुंगामा घोटेर तिखो बनाएको हँसियाले उनी घाँस काट्दै थिए। त्यतिनै बेला उनले भाँचिएकाे हाँगामा खुट्टा राखे। र सिधैं भुँइमा बजारिए। उनी बेहाेश भए। केही समयपछि उनको होश आयो। उनलाई पत्ताे छैन कति समय उनी भुँइमै सुतिरहे।
हाेश आएपछि उनी गाईवस्तुलाई घाँस दिन थाले। उनलाई देखेर गाई कराउन थाल्यो। अरूबेला नकराउने गाई उनलाई देखेर एक्कासी कराउन थालेपछि उनी घरकाे दैलाेमा राखिएकाे ऐना हेर्न थाले। उनी आफैँ तर्सिए।
रुखबाट भुँइमा पछारिएका कारण उनकाे अनुहारकाे नक्सा नै बदलिएकाे थियाे। उनको नाक मुखमा झुण्डिरहेको थियो। रगतकाे त खोला नै बगिरहेकाे थियाे।
उनकाे अनुहार देखेर तर्सिएका गाउँलेहरूले उनलाई काठमा बाँधिएकाे पछ्याैरामा बाेकेर अस्पताल लैजान थाले।
‘त्योबेला अस्पताल नयाँ खुलेको थियो। अस्पताल कस्तो होला भनेर म उत्साहित थिएँ, तर अस्पताल भनेको त झोलामा औषधि बोक्नु रहिछ’ हाँस्दै उनले भने, ‘त्यो अस्पतालमा एउटा झोला थोरै औषधिबाहेक अरू केही थिएन।’
रातकाे समयमा अस्पताल पुगेका उनलाई उपचार गर्ने सामान छैन भन्दै अस्पतालले काठमाडाैं जान लगायाे। तर काठमाडाैं गएर उपचार गर्न सम्भव नै थिएन। त्यसैले अस्पताललाई उनले तीन सय रूपैयाँ दिदैँ उपचार गर्न लगायाे।
डाक्टरले नाक समातेर सिलाइरहेकाे उनले महसुस गरिरहेका थिए तर उनीसँग कराउनुबाहेक अर्काे कुनै उपाय नै थिएन। ‘त्यो अस्पताल नयाँ थियो, त्यसैले त्यहाँ अप्रेशन गर्दा मासु लट्याउने औषधि थिएन। त्यसैले डाक्टरले मेरो अनुहार सिलाइरहँदा हुने पीडा मैले भोगिरहेको थिएँ’ आफ्नो अनुहारमा भएको दाग देखाउँदै उनले भने, ‘मलाई निको हुनुथियो। त्यसैले दुखाइ सहेरै बसेँ।’
३० फुट अग्लाे रूखबाट लडेका उनी मरेर बाँचेका थिए। भाग्यवश त्याेबेला बचेका उनी अर्काेपटक बाँच्नपनि सफल भए। जब उनी २८ वर्षका थिए। गाउँमा ठूलाे बाढी आयो।
एक्कासी आएकाे बाढीले ६६ वटा घरले बनेको गाउँ नै बगाएर लग्यो। त्यही बाढीमा परेका थिए, प्रभुरामका परिवार। बाढी आएकाे अघिल्लाे दिन उनी मावली गएका थिएँ। त्यहीकारण उनी बाढीबाट जाेगिए।
बाढीले आफ्नो सबै परिवारलाई बगाएको बताउँदै उनी भन्छन्, ‘लगाउनेले लगाएन कात्रो, बजाएन शंख, मुर्दा बोक्न परेन, मलामीलाई सन्चो।’
गाउँमा सबैनालाई गुमाएपछि विरक्तिएका उनी २०३३ सालमा काठमाडौं आए। राजधानी आएका उनी चाबहिलमा बस्न थाले। काठमाडाैं काेही थिएनन्, उनका साहरा। उनी जहाँ काम गर्थे, त्यहीँ नै उनकाे बाँस हुन्थ्याे।
पहिलाेपटक सहर पसेका उनले ज्यामी काम गरे। जसबापत उनले ५ रुपैयाँ पाउँथे। त्यही पैसाले चलिरहेको थियो, उनको खर्च। ‘एक्लो ज्यान थियो, पैसा हुँदा खान्थे नभए भोकै बस्थेँ’ उनले सुनाए।
हेर्दा ख्याउटे भएपनि काममा इमान्दार थिए, प्रभुराम। उनले आफ्नो काम र व्यवहारले सबैलाई मोहित बनाएका थिए। त्यही स्वभाव देखेर उनलाई आफूसँगै काम गर्ने साथीले विवाहको प्रस्ताव राखे।
साथीले गरेकाे प्रस्तावलाई वेवास्ता गर्दै उनले भने, ‘म जस्तो दुब्लाे केटासँग कुन चाहिँ केटी विवाह गर्न मान्छिन् होला र साथी?’
उनको सुनेर साथीले भने, ‘हामीसँग छ, एउटी चेली। जो एकदमै शालिन छिन्।’ त्यसपछि २०३८ सालमा उनकाे विवाह काभ्रेकी सुमित्रा सापकोटासँग भयो। जाेसँग मिलेर उनले नाङलाे पसल गर्दै सब्जी पसल खाेले।
‘सुमित्रासँग विवाह गरेपछि मेराे जीवनमा आमूल परिवर्तन आयाे। उनीसँग विवाह गर्नु मेराे भाग्य थियाे’ आश्रममा आफूसँगै बसेकी श्रीमती देखाउँदै उनले भने।
तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले गरेको त्यो भाषण
तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई उनी मामा भनेर सम्बोधन गर्थे। थापाका कान्छा भाञ्जा र प्रभुराम निकै घनिष्ठ थिए। त्यही मित्रताका कारण तत्कालीन प्रधानमन्त्रीले उनीहरुलाई ‘मित’ लगाइदिएका थिए।
चार्डपर्वमा घर जाँदा उनी थापालाई मामा भनेर बोलाउँथे तर सार्वजनिक स्थलमा भेट्दा उनी नचिनेझैँ गर्थे। ‘प्रधानमन्त्री जस्तो मान्छेलाई सार्वजनिक ठाउँमा मामा भनेर बोलाउनु पनि त भएन नि!’ उनले भने।
उनका अनुसार बोलीका पक्का थिए, सूर्यबहादुर। उनलाई अझै याद छ, तत्कालीन प्रधानमन्त्री थापाले गरेको त्यो भाषण। उनी भन्ने गर्थे, ‘जगतको भलो हलो। म अहिले प्रधानमन्त्री भइरहेको छु तर भोलि आएर मैले किसानकै काम गर्नुपर्छ।’ नभन्दै उनी हलो चुनाव चिन्ह्र लिएर उठेका थिए।
प्रधानमन्त्री थापाले भाञ्जा भनेर प्रेमले बोलाएका ती दिनहरु उनलाई हिजोझैँ लाग्छ। ‘मेरा मामा असल व्यक्ति हुनुहुन्थ्यो’ उनले भने।
पहिलेका प्रधानमन्त्री किसान लाग्ने उनलाई अहिलेका प्रधानमन्त्री राजा लाग्छ। ‘उहाँ पहिले जंगलको राजा हुनुहुन्थ्यो, जसले धेरै जनालाई बिचल्ली पार्नुभयाे’ उनी भन्छन्, ‘अहिले उहाँ देश चलाउने राजा हुनुहुन्छ। जसकाे कारण मैले मेरा बूढेशकालका साहरा दुई छोरा गुमाएँ।’
माओवादी द्वन्दकालमा जंगल पसेकाहरुको खोजीकार्य गर्ने भनिरहेपनि उनी छोराहरु फेला नपर्ने कुरामा विश्वस्त छन्। उनी भन्छिन्, ‘मेरा छोराहरू फेला पर्दैनन् भन्ने कुरामा म एकदमै ढुक्क छु। किनकी वास्तविक पीडित कहिल्यैपनि न्याय पाउँदैनन्।’
२०७२ सालमा गएकाे शक्तिशाली भूकम्पमा घर भत्किनेहरूले राहत नपाएकाे सम्झदै उनी भन्छन्, ‘जसकाे घर चर्किएकाे मात्र थियाे, उनीहरूले हातभरि राहत पाए तर पूरै घर ध्वस्त भएकाहरूले राहत पाएनन्। म पीडित छु तर न्याय पाउँदिनँ।’
‘सतीले सराप’ को देशमा वास्तविक पीडितले कहिल्यै न्याय नपाएकाे उनकाे बुझाई छ।