दृष्टिविहीन अधिवक्ता सुनिताको सांसद बन्ने सपना (भिडियो)

बाआमालाई सबैभन्दा धेरै सन्तानको माया लाग्छ। आफ्नो छोराछोरीको औँलामा थोरै चोट लाग्दा त बाआमा अत्तालिन्छन् भने म त झनै दृष्टिविहीन। मेरा बाआमालाई म देखेर कति दुख लाग्थ्यो होला। तर मेरो अगाडि उहाँहरूले कहिल्यै दुख देखाउनुभएन। सधैं मलाई अगाडि बढ्न प्रोत्साहन गर्नुभयो। 


बिहानको मिरमिरेमा ब्युँझिन्छिन्, उनी। कलेज पढाउन बूढानीलकण्ठ पुग्छिन् अनि त्यहीँबाट सामाखुसीको ‘श्री मनोहरा माध्यमिक विद्यालय’ पुग्छिन् त कहिले जिल्ला अदालत पनि धाइरहेकी हुन्छिन्। उनी अर्थात् सुनिता थापा।

पेशाले थापा एउटा शिक्षिक हुन्। उनी कक्षा ७ देखि १२ सम्मका विद्याथीहरूलाई पढाउँछिन्। उनकाे परिचय त्यतिमा मात्र सीमित छैन, उनी एक अधिवक्ता पनि हुन्। थापा बलात्कार, सम्पत्तिसम्बन्धी जस्ता विषयमा वकालत गर्छिन्।

३५ वर्षीय थापाले तीन वटा विषयमा ‘ब्याचलर’ गरेकी छन्। ‘शिक्षा, मानविकी संकाय र कानुन’ मा स्नातक गरेकी उनले ‘समाजिक’ विषयमा स्नाकाेत्तर गरिसकेकी छन्।

मास्टरसम्मकाे पढाइ पूरा गरेर अधिवक्ताकाे पहिचान कमाउन सफल भएकी सुनिता अब न्यायाधीश बन्न चाहन्छिन्। त्यसैले त उनी अहिले ‘एलएलएम’ काे तयारीमा जुटिरहेकी छन्।

संघर्ष मानिसकाे सफलता भएकाे बताउँदै उनले बिएल नेपाली सेवासँग भनिन्, ‘संघर्ष हो जीवन, संघर्ष गर्दै बाँच्नुपर्छ। यतिले मात्र पुग्दैन, मलाई अझै प्रधानमन्त्री हुने रहर छ।’

खासमा सुनिताको सानैदेखिको सपना थियो, न्यायाधीश बन्ने। सानाे छँदा कसैले उनलाई भविष्यमा के बन्छौँ भनेर प्रश्न गर्दा उनी एकै वचनमा जवाफ फर्काउँथिन्, ‘न्यायाधीश बनेर न्याय गर्छु।’

न्यायाधीशको अर्थ नबुझ्दै उनमा न्यायाधीश बन्ने हुटहुटी थियो। ‘मलाई थाहा छैन, न्यायाधीश बन्ने सोच मलाई कहाँबाट आयो’, विगत कोट्याउँदै उनले भनिन्, ‘तर कलिलो मस्तिष्कमा बसेको कुरा मैले हटाउन पनि सकिनँ।’

पढाइप्रति सुनिताको मोह

काठमाडौंमा २०४४ सालमा जन्मिएकी उनी थापा परिवारकी तेस्रो सन्तान हुन्। उनीमाथि दिदी र दाइ छन्। सुनिताको जन्मपछि खुसी थिए, सारा परिवार। तर जन्म भएको केही दिनमै उनको परिवार दुखी भए, जब सुनिता दृष्टिविहीन भएको कुरा चाल पाए।

सुनिताको वास्तविकता थाहा पाएलगत्तै बाआमाले उनलाई डाक्टर सन्दुक रुइतकहाँ पुर्याए। तर बिडम्बना उनको उपचार त्यहाँ हुन सकेन। सुनिताकाे उपचार आफ्नाे अस्पतालमा नहुने भएपछि डाक्टर रुइतले ‘बच्चाको आँखा अप्रेशन गर्ने इक्यूमेन्ट’ छैन भन्दै दिल्लीको अस्पतालमा लैजान सुझाव दिए।

जन्मिएकाे २१ दिनमा उनलाई बाआमाले उपचारका लागि भारतको राजधानी दिल्ली पुर्याए। तर दुर्भाग्यबस उनको आँखाकाे उपचार दिल्लीको अस्पतालमा समेत भएन। दिल्लीकाे अस्पतालमा सुनिताको उपचार नभएपछि परिवारका सबै जनाले उनको तितो सत्यलाई अपनाउन थाले।

‘बाआमालाई छोराछोरीको धेरै माया लाग्छ, आफ्नो सन्तानलाई केही भयो भने बाआमा अत्तालिन्छन्। औँलामा थोरै चोट लाग्यो भने त पीर हुन्छ भने म त झनै दृष्टिविहीन थिएँ। मेरा बाआमालाई कति दुख लाग्थ्याे होला’, उनी सुनाउँछिन्, ‘तर मेरा बाआमाले मेरो अगाडि कहिल्यै दुख देखाउनुभएन।’

बाआमाको ६ जना छोराछोरी भएपनि आफूले सबैभन्दा धेरै माया पाएको उनको बुझाई छ। उनी भन्छिन्, ‘धेरै छोराछोरी भएपनि परिवारबाट पाउने प्रेमको मलाई कहिल्यै पनि कमी महसुस भएन। मलाई सबै जनाले धेरै माया गर्नुभयो।’

सानैदेखि सुनितालाई पढाइमा खुबै चासाे लाग्थ्याे। सानाेबेला उनी दाइ र दिदीले पढेकाे सुनिरहँदा साेच्ने गर्थिन्, ‘म पनि धेरै पढ्छु।’

पढाइप्रतिकाे माेह भएकै कारण उनी पाँचै वर्षकाे उमेरमा स्कुल भर्ना भइन्, त्यही पनि झुट बाेलेर। पाँच वर्षको उमेरमा स्कुल भर्नाका लागि जाँदा सानो उमेरको कारण स्कुलले भर्ना नलिएको उनलाई अझै याद छ।

‘म पाँच वर्षकी थिएँ, मेरा बुबाले मलाई स्कुल भर्ना गर्न लैजानुभयो तर स्कुलले सानै उमेरको छ, स्याहार गर्न सकिँदैन भनेर मलाई भर्ना लिन अस्वीकार गर्यो’, उनी सम्झिन्छिन्, ‘त्यसपछि बुबाले मेराे उमेर ९ वर्षकाे बनाउनुभयो र भक्तपुरको एक स्कुलमा भर्ना गरिदिनुभयो।’

पाँच वर्षकी उनी हेर्दा खाइलाग्दी थिइन्, आफ्नो काम आफैँ गर्न सक्थिन्। सोहीकारण स्कुलले ५ वर्षकी उनलाई ९ वर्षको भनेर पत्याएको सुनिताको ठम्याइ छ। पढाइ उनको रुचिको विषय थियो, त्यसैले उनी कहिल्यै फेल भइनन्। उनी कक्षाको असल विद्यार्थीको ‘लिस्ट’ मा पर्थिन्।

दुख र संघर्ष गरेर पढेकी उनले २०५९ सालमा ‘एसएलसी’ दिइन्। र ६० सालमा उनी ‘नेपाल अपाङ्ग महिला संघ’ मा आवद्ध भइन्। अहिले उनी त्यही संघको सचिव छिन्। उनले अपाङ्गता भएकाहरुको हकहितका लागि आवाज उठाइरहेकी छिन्।

पढाइप्रति उनको ज्यादै लगाव थियो। त्यसैले त उनी मास्टर्स डिग्री गरिसकेपछि पनि ‘एलएलएम’ गरिरहेकी छिन्।

ख्यालख्यालमै विवाह

निडर स्वभावकी थिइन्, सुनिता। पढाइका साथै बोल्नमा पोख्त उनी सामाजिक अभियन्ताको रुपमा परिचित थिइन्। २०६२ सालताका उनी भक्तपुरमा ‘एफएम’ मा काम गर्थिन्। उनी ‘हाम्रो आवाज’ कार्यक्रम चलाउँथिन्।

‘बोल्न मलाई एकदमै मनपर्थ्यो, त्यसैले रेडियोमा बोल्थेँ’, उनी सुनाउँछिन्, ‘मलाई सबैजनाले रेकर्डिङ गरेर बोल भन्थे तर म त लाइभ नै बोलिदिन्थेँ।’ रेडियोमा लाइभ बोल्दा छुट्टै आत्मविश्वास बढ्ने उनको विश्वास थियो।

‘लाइभ बोल्दा मान्छे डराउने गर्छन् तर मलाई भने लाइभ बाेलिरहँदा छुट्टै एनर्जी मिल्थ्यो’, रेडियोमा बोल्दा आफूले गरेको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘रेडियाेमा कार्यक्रम चलाउँदा मलाई धेरै खुसी मिल्थ्याे।’

रेडियाेमा बाेलेकाे ८ वर्षपछि उनी एक कार्यालयमा आवद्ध भइन्। त्यही कार्यालयमा काम गर्दा उनलाई विवाहको प्रस्ताव आएको थियो। सँगै काम गर्ने सहकर्मीले उनलाई भनेका थिए, ‘सुनिता, मैले चिनेको एउटा साथी छ। केटा जेहेनदार छ। तिमीसँग जोडी सुहाउँदो छ, के तिमी विवाह गर्छौ?’ साथीको कुरा सुनेर उनले ठट्टा गर्दै भनिन्, ‘गरौँला नि!’

साथीसँगकाे ख्यालठट्टामै २३ वर्षको उमेरमा उनको विवाह पाटनका सुदन तन्दुकारसँग भयो। जो एयरपोर्टमा काम गर्थे। ‘मैले विवाह गर्छु भनेर सोचेकी थिइनँ तर अचानक विवाह भयो। विवाहका बेला म एलएलबी गर्दै थिएँ’, उनले भनिन्।

विवाह गरेको वर्ष दिनपछि उनले पढाउन थालिन्। अहिले उनी गणितबाहेक सबै विषय पढाउँछिन् तर आफ्नो मुख्य विषय सामाजिक रहेको उनले सुनाइन्।

स्कुलका विद्यार्थीहरुलाई पढाउन धेरै चुनौती रहेको बताउँदै उनी भन्छिन्, ‘सायद उमेरको कारण होला स्कुलका भाइबहिनीहरु पढ्नभन्दा धेरै हल्ला गर्न रुचाउँछन्, मैले भनेको मान्दैनन् तर कलेजका भाइबहिनीहरु चाहिँ ज्ञानी नै छन्।’

आफूलाई स्कुल पढ्ने बच्चाहरुलाई सम्हाल्न समस्या भएको बताउने उनी स्नातक तहका विद्यार्थीहरुलाई पढाउन चाहन्छिन्। उनी भन्छिन्, ‘ब्याचलरका भाइबहिनीहरुलाई पढाउन सक्छु भन्ने आत्मविश्वास छ, त्यसैले म उनीहरुलाई पढाउन चाहन्छु।’

‘ह्यारेस्मेन्ट’ को शिकार

अपाङ्गता भएकाहरु ‘ह्यारेस्मेन्ट’ को शिकार हुनु परेको उनको गुनासो छ। ‘मानिसहरुले हामीलाई विचराको पात्र बनाउँछन्’, उनले भनिन्, ‘हामीलाई हेप्छन्, हामीले गरेको कामलाई समेत शंकालु नजरले हेर्छन्। हाम्राे वास्तविकता जानेर ए हाे र भनेर सान्त्वना देखाउँछन्।’

मानिसहरुले गरेको व्यवहारका कारण आफूहरु ‘डिप्रेशन’ मा पुग्न खाेजेकाे उनको भनाई छ। ‘हामीसँग मान्छेहरुले हेपेर बोल्छन्’, उनले भनिन्, ‘हामीले ती हेपाईहरुलाई बेवास्ता गरेर अगाडि बढिरहेका छौँ। नभए त हामी डिप्रेशनमै जान्छौँ।’

दृष्टिविहीन भएकै कारण आफू ह्यारेस्मेन्टको शिकार हुनु परेको उनले बताइन्। ‘मैले ल पढ्नेबेला धेरै ह्यारेस्मेन्ट सहनुपर्यो। मैले कसैलाई किताब पढ्न लगाउँदा समेत कसैले सहयोग गरेनन्’, उनी भन्छिन्, ‘आफ्नै बलबुतामा पढाइ सकाएँ।’

सांसद बन्ने इच्छा

सरकारले अपाङ्गता भएकाहरुलाई बेवास्ता गरेको उनको आरोप छ। सडकमा हिँड्न र सवारी साधन चढ्न अपाङ्गता भएकाहरुलाई असहज हुने गरेको उनले बताइन्। ‘हामीलाई सडकमा हिँड्न र सार्वजनिक बस चढ्न धेरै समस्या छ तर सरकारले खोई हेरेको?’, उनी प्रश्न गर्छिन्, ‘यो सरकारको लापरवाही हो।’

अपाङ्गता भएकाहरुको हकहितका लागि आवाज उठाउनका लागि आफू नै सांसद उठ्ने उनको इच्छा छ। ‘मलाई मैदानमै लडेर चुनाव जित्ने इच्छा छ। तर त्यो मेरो इच्छा कसरी पूरा हुन्छ, मलाई थाहा छैन’, उनी भन्छिन्, ‘यदि कुनै पार्टीले टिकट दिए पनि, स्वतन्त्रबाट उठे पनि चुनाव लड्ने चाहना छ।’

पिछडिएका वर्ग र अपाङ्गताहरुको समस्या ज्यूँका त्युँ रहेको उनले बताइन्। ‘यही समस्या उठाउनका लागि म सभासद बन्न चाहेकी हुँ’ उनले भनिन्।

अपाङ्गता भएकाहरुलाई बेवास्ता गरेपनि सरकारले स्वास्थ्य र शिक्षामा ध्यान दिनुपर्ने उनी बताउँछिन्। ‘सरकारले हाम्रा लागि केही नगरेपनि शिक्षा र स्वास्थ्यमा पहल गरिदियोस्’, उनी भन्छिन्, ‘मैले समयमै पढ्न पाएपनि म जस्ता धेरै छन्, जो शिक्षाबाट बञ्चित छन्।’

आफूजस्तै हजारौँ जनाको समस्या समाधान गर्नका लागि सांसद बन्न चाहेकी सुनिता भन्छिन्, ‘सरकारले नगरेकाे काम गर्नेछु।’

प्रकाशित मिति: : 2023-04-03 21:00:00

प्रतिकृया दिनुहोस्