हेटौंडाकी सुमिरा लामाले चाहन्थिन् भने अहिले अमेरिकामा बसेर डलर कमाइरहेकी हुन्थिन्। उनी चाहन्थिन् भने सरकारी जागिरे हुन्थिन्। तर सेवा गरेर धर्म कमाउने सपना बुनेकी उनले सरकारी जागिर र सपनाको सहर अमेरिका त्यागिन्। बेसहारा भएकालाई सहारा दिने लक्ष्य लिएकी उनी मानव सेवा आश्रममा आवद्ध भइन्। करिब ८ वर्षअघि आश्रम आएकी उनी दुई सय जना बाआमाको सेवामा जीवन कटाइरहेकी छिन्।
मकवानपुरमा जन्मिएकी सुमिरा घरकी कान्छी छोरी हुन्। दाजु र दीदीकी प्यारी बहिनी। त्यसैले पनि उनलाई घरमा कुनै कुराको कमी थिएन। चुलबुले स्वभावकी उनी पढाइमा भन्दा धेरै घुमघाममा रुचि राख्थिन्।
कलेज गएर पढ्नु र चलचित्र हेर्न जानु नै उनकाे दैनिकी थियाे। घरकाे सारा काम दिदी र आमाले गर्थे। घरमा पुल्पुलिएर हुर्किएकी सुमिरालाई एकदिन उनकी साथी सम्झनाले एक तालिममा सहभागिता हुन आग्रह गरिन्। सुरूमा तालिम लिन अस्वीकार गरेकी सुमिराले प्रमाणपत्र पाउने भएपछि खुसी हुँदै तालिममा सहभागिता जनाइन्।
क्याम्पस नजिकै मानव सेवा आश्रममा भएको तालिममा उनले ९ दिन बिताइन्। साेही तालिममा सहभागी भएपछि उनको विदेश जाने सोच आश्रमतिर मोडियो।
‘९ दिनको तालिम लिँदा त्यहाँ छुट्टै सम्बन्ध बनिसकेको थियो’, उनले भनिन्, ‘मलाई आश्रम छोड्ने मनै लागेन।’ आश्रममा जीवन बिताउने सोचेकी सुमिराले घर छाडेर आश्रमलाई घर बनाइन्। ‘मैले बाआमालाई आश्रममा बस्ने कुरा सुनाउँदा उहाँहरु मान्नुभएन तर पछि मेरो खुसीको लागि मलाई रोक्नुभएन’, उनले भनिन्।
आश्रममा बदलिएको सुमिराको जीवन
२२ वर्षको उमेरमा घर त्यागेकी सुमिरा आश्रममा रमाउन थालिन्। सडक मानवलाई नयाँ जीवन दिने लक्ष्य लिएको उक्त आश्रममा सानादेखि ठुला उमेरका मानिसहरु थिए। जो सहाराको खोजीमा बेसहारा बनेर भौतिरहेका थिए।
बेसहाराहरूका लागि सहारा बनेकी सुमिरालाई घरभन्दा पनि प्यारो लाग्न थालिसकेको थियो, हेटौंडाको मानव सेवा आश्रम। त्यसैले उनले आश्रममा कहिल्यै नगरेको काम पनि गर्न थालेकी थिइन्। घरमा सबैकाे माया पाएर पुल्पुलिएर हुर्किएकी, ‘चाउचाउ’ समेत पकाउन नजान्ने सुमिराले आश्रममा सय जनाकाे लागि खाना पकाइन्।
आफूभन्दा ठुलो भाडाँमा पहिलोपटक खाना पकाउँदा उनी घरपरिवार सम्झिएर भावुक बनिन्। उनी भन्छिन्, ‘घरमा कहिले पनि खाना पकाएकी थिइनँ, त्यसैले आश्रममा पहिलो पटक खाना पकाउँदा भावुक भएँ, आँसु झारेँ।’
आश्रम आएकी सुमिराकाे व्यवहार महिनादिनमै बदलिन थाल्याे। मिजासिली स्वभावकी उनी चुलबुले थिइन् तर आश्रम आएपछि उनको व्यवहार नै परिवर्तन भयाे। ‘यहाँ आउनुअघि म सबै जनालाई तँ भनेर बोलाउँथेँ तर पछि भाइबहिनीले मेरो व्यवहारमा बदलाव ल्यायो’, उनी सुनाउँछिन्, ‘आश्रमका भाइबहिनीहरुले मलाई यतिधेरै सम्मान दिनुभयो कि म नयाँ सुमिरा भइदिएँ।’
घुमफिरमा रमाउने उनी विस्तारै व्यवहारिक हुन थालिन्। चलचित्र हेर्नमा रुचि राख्ने उनी मानिसको सेवा गर्नमा व्यस्त हुन थालिन्। ‘आश्रममा आएपछि मैले धेरै दुख पाएका मानिस देखेँ, त्यसैले मेरो मन रमाइलो गर्नमा भन्दा पनि सेवा गर्नमा जान थाल्यो’, उनले बिएल नेपाली सेवासँग भनिन्, ‘उहाँहरुलाई देखेर मैले मलाई बिर्सिएँ।’
मानवलाई सडकबाट मुक्त गर्ने उद्देश्य लिएको मानव सेवा आश्रमले शनिबारको दिन रात्रिकालीन कार्यक्रम गर्ने गरेको थियो। सोही कार्यक्रममा सहभागी जनाएकी उनी हातमा ‘तन्ना, चिया र बिस्कुट’ लिएर चितवनको नारायणी नदी पुगिन्।
पहिलो पटक सडक मानवकाे खोजीमा हिँडेकी उनले नदी किनारमा छटपटाइरहेकी बूढी आमा देखिन्। जुन दृश्य देखेर उनी भक्कानिँदै रुन थालिन्। ‘नदी किनारमा भेटिएकी ती आमा अन्तिम श्वास फेर्दै हुनुहुन्थ्यो, उहाँलाई देखेर म दुखी भएर रोएँ’, उनले भनिन्, ‘त्यो क्षण मेरो लागि एकदमै दुखको थियो।’
सदाका लागि संसार त्यागेकी आमा देखेर रोएकी उनलाई देखेर साथीहरुले सम्झाउँदै भन्न थाले, ‘यस्तो दृश्य हाम्रा लागि नौलो होइन, सुमिरा। त्यसैले आफूलाई सम्हाल्न सिक है।’ साथीहरुको कुरा सुनेर आफूलाई सम्हाल्न सिकेकी उनले आत्मविश्वास बढाउँदै गइन्। र आश्रमकाे काठमाडौं उपत्यका इञ्जार्च बन्न सफल भइन्।
आश्रममा वर्षदिन बिताइसकेपछि उनलाई बाआमाले घर बोलाउँदै भनेका थिए, ‘छोरी, तँलाई हाम्रा माया लाग्दैन र? तँलाई समाजसेवा गर्न अझै पुगेन? पढे-लेखेकाे मान्छे भएर जीवनभर आश्रममै बिताउने हो र?’ आश्रम छोडेर घर आउन बोलाइरहँदा उनी पनि बाआमालाई भन्ने गर्छिन्, ‘म घर फर्केँ भने यहाँ कसले सेवा गर्छ?’ घर बाेलाएपनि छाेरी नफर्किएपछि उनकै खुसीमा रमाइरहेका छन्, सुमिराका बाआमा।
‘आमा’ शब्दले भावुक हुन्छिन्, सुमिरा
सडक मानवको सेवामा ८ वर्षदेखि जुटिरहेकी उनी अहिले दुई सय जनाको अभिभावाक बनेकी छिन्। सडक मानवलाई सहारा दिने लक्ष्य लिएकी उनलाई आश्रमका भाइबहिनीहरुले ‘आमा’ भनेर सम्बोधन गर्छन्। जुन शब्द सुनेर उनी भावुक हुन्छिन्। विवाह गर्नुअघि नै ‘आमा’ बन्न पाउँदा आफूलाई खुसी लागेको उनी बताउँछिन्। ‘आमा शब्द आफैँमा गर्व लाग्दो छ’, उनले भनिन्।
पहिलो पटक आमा बनेको क्षण उनलाई अझै याद छ। जब उनले गर्भवती महिलालाई सडकबाट उद्धार गरेर अस्पताल लगेकी थिइन्, अस्पताल पुर्याएपछि ती महिलाले छोरीलाई जन्म दिइन्। उनै छोरीलाई सुमिराको हातमा दिँदै डाक्टरले भने, ‘तपाईंको छोरी, तपाईं जस्तै छिन्।’ डाक्टरको कुरा सुनेपछि उनी एक्कासी रुन थालिन्। उनी भन्छिन्, ‘डाक्टरले त्यसो भनिरहँदा छोरीलाई मैले नै जन्माएको जस्तो लाग्यो। त्यसैले आँसु थाम्न सकिनँ।’
शिशुदेखि हुर्काएका बालबालिकाहरुको ‘आमा’ बनेकी उनले छोराछेरीहरुलाई स्कुल पठाउन पनि थालिसकेकी छिन्। दिनभरि आश्रमको भागदौडमा थाकेकी उनी ‘आमा’ शब्द सुनेर सबै दुख भुल्छिन्। ‘मलाई जब मेरा छोराछोरीहरुले आमा भनेर बोलाउँछन् मेरो सबै थकानै मेटिन्छ’ उनले भनिन्, ‘मेरो बच्चाहरुको मलाई धेरै माया लाग्छ।’ त्यसैले त उनी घरपरिवारको माया बिर्सिएर आश्रममा खुसी छिन्।
आश्रमकाे मायाकै कारण त उनी चाडपर्व पनि त्यहीँ मनाउँदै आइरहेकी छन्। ‘म दशैं-तिहारमा गाउँ जाँदिनँ, किनकी मेरो घरमा भन्दा पनि धेरै आश्रममा आवश्यक छ’, उनी भन्छिन्, ‘हाम्रो लागि भन्दा पनि उहाँहरुको लागि चार्डपर्व महत्व हुन्छ। यदि म नै घर गएँ भने उहाँहरुको साथमा काेही हुँदैन। त्यसैले मलाई चाडपर्वमा आश्रम छोडेर घर जान मन लाग्दैन।’
जब सुमिराले भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीका सल्लाहकारलाई परिवारसँग भेटाइन्...
मानव सेवा आश्रममा उनी असहाय र अशक्तहरूको सेवा मात्र गर्दिनन्, सडकमा भेटिएर उद्धार गरेकाहरुलाई परिवारसँग पुनर्मिलन गराउँछिन्। हालसम्म आश्रममा आएका २० जनाभन्दा बढीलाई उनले पुनर्मिलन गराएकी छन्।
सुमिराले भारतीय पूर्वप्रधानमन्त्री स्व.इन्दिरा गान्धीका सल्लाहकारलाई पनि उनको परिवारसँग भेटाइसकेकी छिन्।
‘८५ वर्षीय जमुनादेवी दीक्षित पशुपति मन्दिर अगाडिको सडकमा खुट्टा भाँचिएको अवस्थामा भेटिनुभएको थियो। घाइते आमाको कोही मान्छे नभेटिएपछि हामीले उहाँलाई आश्रय दिएका थियौँ’, वर्ष दिनअघिको कुरा खोतल्दै उनले भनिन्, ‘हामीसँग आमा भएकाे कुरा थाहा भएपछि उहाँकाे परिवार मुम्बईबाट आमालाई लिन आश्रम आउनुभयाे।’
महिनाैँ दिनसम्म सँगै समय बिताएका आमासँग छुट्टिनु पर्दा दुख लागेकाे बताउँदै उनले भनिन्, ‘उहाँसँग छुट्टिने बेला खुसी र दुखी दुवै थिएँ। त्यसैले आँसु थाम्न सकिनँ। उहाँ पनि आश्रम छोड्ने बेला उत्तिकै दुखी हुनुहुन्थ्यो, जति हामी दुखी भएका थियौँ।’
सन् १९८० देखि ८४ सम्म गान्धी प्रधानमन्त्री बन्दा ८५ वर्षीय जमुनादेवी दीक्षित सल्लाहकार बनेकी थिइन्।
सरकारी जागिर र अमेरिकाको ‘अफर’ त्यागेर आश्रममा रमाइरहेकी सुमिरा
स्नातक तहसम्मको पढाइ पूरा गरेकी सुमिरालाई अमेरिका जाने ‘अफर’ नआएको पनि होइन। तर उनलाई आश्रम छोडेर अमेरिका जानै मन लागेन। २०७२ सालमा उनलाई अमेरिका पठाउन घरपरिवार र आफन्तले झकझकाउन थाले। अमेरिकामै ‘सेटल’ हुन आग्रह गरे तर उनले कसैको कुरा सुनिनन्।
‘हाम्रो निकट आफन्तले मलाई अमेरिका पठाउने भन्नुभयो तर मैले अस्वीकार गरेँ’, उनले भनिन्, ‘धेरै पैसा कमाएर के गर्नु? जबकी मेरो सारा ध्यानै आश्रममा छ। अमेरिकाको अफर त्यागेपछि मेरा आफन्तहरु मसँग बोल्न मान्दैनन्।’ उनले आश्रमका लागि अमेरिका मात्र त्यागिनन्, ‘सरकारी जागिर’ पनि छोडिन्।
आश्रमको सेवा गर्ने उद्देश्यले उनी सरकारी जागिर खान तयार भइन्। त्यसैले उनीसहित आश्रमका ४० जनाले सरकारी जागिरका लागि परीक्षा दिए। नभन्दै उनले परीक्षामा नाम पनि निकालिन् तर आश्रमबाट टाढा जानुपर्ने भएकोले उनले सरकारी जागिर पनि छोडिन्। सरकारी जागिरमा नाम निकालेको सातादिनमै उनले राजीनामा दिइन्।
‘आश्रममा बसेरै हामी जागिर गर्न चाहन्थ्याैँ, त्यसैले हामी ४० जनाले बागमती प्रदेशमा सरकारी जागिरका लागि परीक्षा दिएका थियाैँ, जसमध्ये दुई जनाकाे नाम निस्कियाे’ उनी सुनाउँछिन्, ‘सरकारी जागिरमा नाम निस्किएर म धेरै खुसी थिएँ तर आश्रमबाट निस्किनुपर्ने भएपछि मैले जागिर नै छोडिदिएँ, मेरो लागि जागिरभन्दा ठुलो आश्रममा भएका मानिसहरुको सेवा गर्नु हो।’
अमेरिकाको अफर र सरकारी जागिर छाडेर बाँचुन्जेल आश्रम बसेर सडक मानवको सेवा गर्न चाहने उनी तीनै बेसहाराहरुकाे सहारा बनेर आफ्नो जीवन समर्पित गर्न चाहन्छिन्।