नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट डाक्टरको मृत्यु भएको छ।
बिहिबार भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ चिकित्सक हरि सापकोटाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।
भेरीको कोभिड आइसोलेसन वार्डमा उपचाररत् ती चिकित्सकको आज दिउँसो मृत्यु भएको अस्पतालका मेसु डा प्रकाश थापाले पुष्टि गरे।
हाल उनी प्रादेशिक अस्पताल सुर्खेतमा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए। उनको दरबन्दि भने भेरीमा थियो।
उनलाई भदौ २९ गते सुर्खेतमै भाइरस संक्रमण भएको थियो। सुरुमा उनलाई त्यही उपचार गरिएको भएपनि अवस्था गम्भिर भएपछि बाँके ल्याइएको थियो।
स्वास्थ्य कार्यालय बाँकेले एक विज्ञप्ति जारी गर्दै असोज २ गते सुर्खेतबाट ल्याएर भेरीमा भर्ना गरिएको जनाइएको छ।
कार्यालयका कोरोना फोकस पर्सन नरेश श्रेष्ठका अनुसार उनलाई रेमडिसिभिर औषधी दिइएको थियो। यसका साथै दुईपटक प्लाज्मा थेरापीबाट पनि उनको उपचार गरिएको थियो।
सापकोटालाई दुवै मृगौलामा निमोनिया हुनुका साथै कडा कोभिड १९ को संक्रमण भएको थियो।
बिहिबार नै बाँकेमा तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ। बाँकेमा अहिलेसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भएको छ।