म्याडम लेफ्टिनेन्ट गभर्नर अरूणा मिलर :

मेरिल्याण्ड राज्यले पायो पहिलो भारतीय मूलकी लेफ्टिनेन्ट गभर्नर

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्यको लेफ्टिनेन्ट गभर्नरमा भारतीय मुलकी अरूणा मिलर भारी बहुमतले बिजयी भएकी छिन् । डेमोक्रेटिक पार्टीको तर्फबाट गभर्नर उम्मेद्वार वेस मुरकी लेफ्टिनेन्ट गभर्नरका रूपमा उम्मेद्वार भएकी उनी भर्भनर मुरसँगै विजयी भएकी हुन् । यो जोडीले ९०८,०७४ (५९.६५%)  मत प्राप्त गर्यो भने उनीहरूको प्रतिद्वन्दी रिपब्लकिन पार्टीको उम्मेद्वार जोडीले ५६२,४८१ (३६.९५%)  मत प्राप्त गर्यो । 

यो जीतसँगै अरूणा मेरिल्याण्ड राज्यको लेफ्टिनेन्ट गभर्नर हुने पहिलो एसियालीमूलकी राजनीतिज्ञ भएकी छिन् । 

वेस मुर र अरूणा मिलरको जोडीले डेमोक्रेटिक पार्टीभित्रको मध्यमार्गी धारको प्रतिनिधित्व गर्दछ । शिक्षा, जलवायु र अर्थव्यवस्था तीन मुद्दालाई केन्द्रमा राखेर चुनाव जितेको यो जोडी आप्रवासीमैत्री नीतिको हिमायति हो ।  

को हुन् अरूणा मिलर ?

अरूणा मिलर भारतीय मूलकी एक चर्चित अमेरिकी राजनीतिज्ञ हुन् । भारत हैदराबादको एक भारतीय परिवारकी सात वर्षीय सानी नानीका रूपमा सन् १९७२ मा उनी सपरिवार अमेरिका आएकी थिइन् । सुरूमा न्युयोर्क आएकी उनका पिता एक मेकानिकल इन्जिनियरका रूपमा आइबीएममा कार्यरत थिए । सन् १९६४ मा जन्मिएकी ५८ वर्षीय मिलर पेशाले एक सिभिल इञ्जिनियर हुन् । सुरूवाती शिक्षा न्युयोर्कमा पूरा गरेकी उनले उच्च शिक्षा मिजौरी युनिमर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट पूरा गरिन् । 

पेशाले एक सिभिल इन्जिनियर उनले मेरिल्याण्ड राज्यमा २५ वर्ष सेवा गरिन् । मिलर २००६ मा डेमोक्रेटिक पार्टी मेरिल्याण्डको केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएर राजनीतिमा प्रवेश गरेकी हुन् ।

सन् १९९० मा मेरिल्याण्डको मोन्टेगोमेरी काउन्टीमा बसाइ सरेकी उनले आफ्ना कलेज सहपाठी डेभिड मिलरसँग विवाह गरिन् । सन्तानका रूपमा यो जोडीका तीन छोरी रहेका छन् । 

सन् २०११ मा मेरिल्याण्ड हाउस अफ एसेम्बेलीमा डिस्ट्रिक्ट १५ बाट निर्वाचित उनले मन्टिगोमरी काउन्टीको प्रतिनिधित्व गरिन् । सन् २०१८ मा डेमोक्रेटिक पार्टीको तर्फबाट  अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्यका लागि उम्मेद्वारी जित्न प्राइमरी चुनावमा उत्रेकी उनलाई सफलता हात लागेन ।  मेरिल्याण्ड कंग्रेस डिस्ट्रिक्ट ६ का लागि उनी प्रतिस्पर्धामा थिइन् । घना नीलो डिस्ट्रिक्टमा उनी डेभिड ट्रोनसँग पराजीत भइन् । 

अहिले उनी डेमोक्रेटिक पार्टीका गभर्नर उम्मेद्वार वेस मुरको लागि लेफ्टिनेन्ट गभर्नरकी उम्मेद्वारका रूपमा राजनीतिको दोस्रो इनिङमा फर्केकी छिन् । यो जोडीले अत्याधिक बहुमतका साथ डेमोक्रेटिक प्राइमरी जितेको थियो ।

 

प्रकाशित मिति: : 2022-11-10 02:56:00

प्रतिकृया दिनुहोस्