ब्यङ्ग

सुकेको

राजीव घिमिरे

काठमाडाैं

हिजो इभिनिङ्ग वाकमा असन तिर गएको, अचम्म परें। नेपालीलाई सुकेको कुरा कति मन पर्दो रहेछ । सुकेको तेजपात, सुकेको केराउ गेडा, सुकेको खुर्सानी, मुलाको सुकेको चाना, तामा, मस्यौरा, सुकेका मसलाहरू…… !

सुकेको माछा त पूजामा नै चाहिन्छ क्यारे, फेरि मौसम पनि यही हो। त्यसैले जता ततै देखिने । नेपालीले गौरव गर्ने खाना भनेको सुकाएको साग वा गुन्द्रुक, मज्जाले बिक्री हुन्छ रे।

चीनबाट गुन्द्रुक आउन थाले पछि नाफा चाही नहुने नै भयो रे तर पनि ग्राहक सुक्लान् भनेर राखेको रे। यो अजिब सुकेको पदार्थ ‘गुन्द्रुक’मा नेपालीको राष्ट्रियता, पहिचान, गौरव र अहम कसरी जोडिन पुग्यो अचम्म पर्छु । सुकेको च्याउ र सुकेकै स्याउलाई कस्तो मज्जाले प्याक गरेर राखेको छ, प्याकिङ्गमा फोटो पनि छ सुकेको जिउ भएकी राम्री अभिनेत्रीको । 

नेपालीको प्रिय खेल भने कै सुकेको घाउ कोट्याउनु हो, अझ त्यसमाथि सुकेको सुकुटी र रक्सी खान बसेको हुनु पर्छ, बाजेको बेला देखीको घाउ कोट्याई सुरू हुन्छ,  हो ! त्यो सुकुटी पनि असनमा मज्जाले पाइने । त्यो मात्र होइन गोबर सुकाएर बनाएको गुइँठा समेत पाइने रहेछ ।

छेउ मै एक जना आमा थाकेको, निराश, अनि दिन भरि कराउँदा पनि बिक्री नभएको घामले सुकिसकेको सागको मुठा हातमा लिएर र भुईंमा आफ्नो सानो छोरा तिर घरी घरी हेरेर आत्तिएर सुकेको ओठ लिएर, सुके कै स्वरमा कराउँदै थिइन् “लौ मुठाको ५० मात्र, लैजानुस् न।” 

देखें, छेउमा सुकेनास लागेको उसको सानो छोरा बेफिक्रिले सुतिरहेको छ, उसलाई थाह छैन त्यो सुकेको साग बिक्यो भने मात्र उसले आज माम पाउँछ । साग मात्र सुकेको होइन कि मुठा पनि सुकि सकेछ, पहिले झन्डै दुई हातले नै समाउन पर्थ्यो ।

कोरोनाको यत्रो पीडा छ, सबैको पैसाको मुहान नै सुकेको छ, त्यसैले होला असन पहिले भन्दा  अलि फुङ्ग र निराश देखें, मन मनै सोचेँ “बेच्न राखेका सालका पातहरू समेत सुकि सकेकाछन्, असन पहिले जस्तो रहेन अलि सुके जस्तो छ ।“

जान्ने र भान्सा

को जान्ने भन्ने कुरा भान्साको सामानले निर्धारण गर्दो रहेछ ।
निजामतीमा विभागको डिजी भन्दा मन्त्रालयको सुब्बा जान्ने किन भने डिजीले हुन्छ बनेको फाइल फेरी उनैको टेबलमा पुग्छ । 

मन्त्रालयको सहसचिव भन्दा अर्थको उपसचिव ठुलो, उपसचिवले उसलाई ‘ठिक लागेन’ भनेर बजेट काटि दिन्छन्, अनि सहचिव ज्यू त हससचिव बनेर लुरुक्क फर्कनु पर्छ । जसकोमा ‘डाडु’ छ उ नै जान्ने ।

धेरै पहिले टोलमा पञ्चायतको विरोध गर्ने भन्ने कुरा आयो तर विरोध कसरी गर्ने कसैलाई थाह भएन, टोलका एक जना युवक भान्सामा गएर थाल लिएर आए अनि थाल ठटाउँदै अघि बढ्न थाले, सबै उनको पछि पछि हिँड्न थाले। जसको हातमा ‘थाल’ छ, उ नै जान्ने ।

रोल्पामा काम गर्दा एक चोटि साइटमा गएको, सँगै हिँड्ने गाउँले चुपचाप हिँड्ने कुरा पनि त्यति गर्न नचाहने । तर एक ठाउँमा चिया चमेना खाने भनेर बस्यौं, उसले गिलासमा झोल मगायो तनक्क पार्‍यो, अनि त्यस पछि त उसको दार्शनिक कुरा ननस्टप सुरु भयो। उसको हातमा ‘गिलास’ भइन्जेल उ जान्ने !

भारतमा कलेज पढ्दा हामी साथीहरू घुम्न निस्केका त्यहाँको लोकल मान्छे सँग खटपट पर्‍यो, विद्यार्थी उमेर उसले भनेको हामीले मान्दै मानेनौं, अर्को एक जना लोकल मान्छे पनि आयो, यसो हेरेको उसको हातमा चक्कु थियो, त्यस पछि उसले भनेको हामीले खुरुक्कै मान्यौँ । जसको हातमा ‘चक्कु’ छ, उ नै जान्ने ।

धेरै वर्ष अघि पढेको थिएँ, बोक्सी भनेर लगाएको आरोप एउटी १२ बर्षे बालिकाले नमाने पछि पन्यू तताएर डामेछ, त्यस पछि त धामीले जे जे चाह्यो बालिकाले त्यही त्यही बोल्न थालिन्, अनि त गाउँलेहरूको नजरमा त्यो धामी धेरै नै जान्ने कहलिएछ ।  जसको हातमा ‘पन्यू’ छ उ नै जान्ने ।

टुक्रिएका पार्टिका नेताहरूको समर्थकहरूको बीचमा कसले ठिक गर्‍यो भन्नेमा विवाद भएछ, उनका समर्थक बुद्धिजीवीहरूले विभिन्न तर्क पेश गरे, तर अन्त्यमा थाह भयो जसको हातमा धेरै ‘चमचा’ उही जान्ने ।

अन्त्यमाः जसको हातमा ‘बेलना’ छ उही जान्ने ! यसको भाव विस्तार गरि राख्न नपर्ला।

प्रकाशित मिति: : 2021-01-17 08:46:00

प्रतिकृया दिनुहोस्