मुलुकभर १० हजार भेन्टिलेटर र आइसीयूको व्यवस्था गर्न सरकारलाई निर्देशन

संघीय संसद प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले कोरोना संक्रमितको उपचारका लागि मुलुकभर १० हजार भेन्टिलेटर र आइसीयूको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको शुक्रबार बसेको बैठकले मुलुकमा काेराेना भाइरस संक्रमितकाे संख्या दिनदिनै वृद्धि भइरहेको र अवस्था भयावह भइरहेको भन्दै  सरकारलाई पर्याप्त स्वास्थ्य सामग्रीको जोहो गर्न निर्देशन दिएको हो।

'तत्काल १० हजारको संख्यामा भेन्टिलेटर र आइसीयूको व्यवस्था गर्ने एवं यस्ता उपकरणको समानुपातिक ढंगले वितरण गर्नुपर्ने। साथै भेन्टिलेटर र आइसीयूको संचालन गर्नसक्ने दक्ष जनशक्तिको आवश्यकताका आधारमा नियुक्ति गर्नुपर्ने,' निर्देशन दिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए। 

समितिले ७७ वटै जिल्लामा पीसीआर परीक्षणको व्यवस्था मिलाउन र संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गरेर अगाढि बढ्न पनि निर्देशन दिएको उनले बताए। 

समितिले दिएको निर्देशनमा कोरोना डेडिकेटेड अस्पतालको संख्या तत्काल वृद्धि गर्न पनि भनिएको छ। त्यस्तै, कोरोना र कोरोना बाहेकका बिरामी उपचार एउटै अस्पतालबाट गर्नुपर्ने अवस्थामा पूर्व सावधानी र उचित सतर्कता साथ गर्ने गरी तत्काल प्रबन्ध मिलाउन पनि भनिएको छ। 

सरकारले कोरोना लागेका व्यक्तिहरूको उपचार गराउनका लागि प्रत्येक अस्पतालालई ३० प्रतिशत बेड छुट्याउन भनेको थियो। 

संसदीय समितिले कोभिड- १९ को रोकथाम, नियन्त्रण र उपचारको लागि अग्रपंक्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतको सुरक्षाको सुनिश्चितता गरी उनीहरूको मनोबल बढाउन बीमा, प्रोत्साहन र उपचार लगायतको प्रभावकारी व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणबारे संसदीय समितिले गरेको भर्चुअल बैठकमा स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. रोशन पोख्रेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह र इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेको उपस्थिति थियो।

प्रकाशित मिति: : 2020-08-21 18:54:04

प्रतिकृया दिनुहोस्