नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या ३० हजार ४ सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लाे २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ५ सय ७९ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा ८ सय ३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
सङ्क्रमितहरू काठमाडौंका सर्वाधिक १४२ जना, पर्साका ८०, जुम्लाका ५३, मोरङका ४५ र बाराका ४० जना छन्।
यस्तै गएको २४ घण्टामा दुई सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किका छन्। योसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १८ हजार २ सय १४ पुगेको छ।
अब नेपालमा १२ हजार एक सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन्। यस्तै १२ हजार दुई सय ३४ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
काठमाडौं २०० भन्दा बढी संक्रमित
काठमाडौं उपत्यकामा शुक्रबार थप २०८ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।
उनका अनुसार काठमाडौं १८२, ललितपुरमा २५ र भक्तपुरमा १ संक्रमित थपिएका हुन्। गौतमका अनुसार काठमाडौं जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। यसअघि बिहीबार उपत्यकामा २ सय संक्रमित थपिएका थिए।
थप ११ जनाको मृत्यु
यस्तै गएको २४ घण्टामा १ महिला र १० पुरूष गरी ११ जिल्लामा ११ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, पर्सा, बारा, सर्लाही, काठमाडौं, सप्तरी, चितवन, ललितपुर, मकवानपुर, दोलखा र प्युठानमा एक/एकजनाको मृत्यु भएको हो।
योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ३७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
आइसोलेशनमा उपचाररत
सङ्क्रमितहरूमध्ये ३,५८६ जना घरमै र बाँकी ८,५४६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
सक्रिय सङ्क्रमितमध्ये १३३ जना सघन उपचार कक्षमा र काठमाडौंमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।
५०० भन्दा बढी सक्रिय संक्रमित
अहिले मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौंमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
शून्य संक्रमित
मुलुका ७७ जिल्ला मध्ये भोजपुर, मनाङ, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।