कांग्रेस महाधिवेशन

महामन्त्रीमा ‘नाति–नेता’ को दाबी, सभापतिमा आँट गरेन तन्नेरी पुस्ताले

File Photo
File Photo

सत्तारुढ नेपाली कांग्रेसको मंसिर २३ गते काठमाडौंमा हुने महाधिवेशनमा सो पार्टीको ‘नातिपुस्ता’ का नेताले मात्र महामन्त्रीमा रुचि देखाएका छन्।

पार्टीको सर्वोच्च पद सभापतिमा भने तन्नेरी पुस्ताका नेताहरुले उठ्ने आँट नै गरेका छैनन्। अहिलेसम्म तेस्रो पुस्ताका एक जना केन्द्रीय सदस्य कल्याण गुरुङले मात्र आफू सभापति उठ्ने घोषणा गरेका हुन्।

सभापतिपछिको सबैभन्दा शक्तिशाली पद महामन्त्री हो। महामन्त्रीमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र गगन थापाले यसअघि नै औपचारिक रुपमा समारोह आयोजना गरी महामन्त्रीको उम्मेद्वार बन्ने घोषणा गरिसकेका छन्।

विश्वप्रकाश शर्मा सभापति शेरबहादुर देउवा समर्थक हुन्। उनलाई देउवाले आफ्नो प्यानलबाट महामन्त्री भनेर चाहिँ अहिलेसम्म आधिकारिक भने बनाएका छैनन्।

युवानेता गगन थापा चाहिँ रामचन्द्र पौडेलले नेतृत्व गरेको ‘संस्थापनइतर समूह’ मा पुगेका छन्। यसअघिको १३औँ महाधिवेशनमा पनि महामन्त्री लडेर पराजित भएका थिए।

थापा त्यसबेला कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीको उम्मेद्वार बनेका थिए। यसपटक नेता सिटौला सभापति देउवा समूहसँगै नजिकिएका छन् तर थापाका सभापतिका उम्मेद्वार को भन्ने अहिलेसम्म प्रष्ट भएको छैन।

प्रतिनिधि चयन र जिल्ला/नगर अधिवेशनमा थापाको गठबन्धन प्रकाशमान सिंहसँग भएको छ। त्यसैले थापाको सभापतिको उम्मेद्वार सिंह वा शेखर कोइरालामध्ये एक हुनसक्ने अनुमान छ। उनलाई सभापति देउवाले आफ्नो प्यानल बनाउँदा त्यसभित्र अटाउने संभावना भने अत्यन्तै न्यून रहेको छ।

त्यसबाहेक वर्तमान सहमहामन्त्री प्रकाशशरण महतले पनि महामन्त्रीमा दाबी प्रस्तुत गरेका छन्। उनले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा आफू महामन्त्री उठ्ने दाबी गरेका छन्। उनी सभापति देउवाको अत्यन्तनिकट मानिन्छन्।

अर्का युवानेता धनराज गुरुङले पनि महामन्त्री दाबी गरेका छन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्। उनी पनि संस्थापनइतरकै कोटामा पर्ने प्रवल संभावना छ।

अर्का युवानेता प्रदीप पौडेल पनि महामन्त्रीका अर्का आकांक्षी हुन्। रामचन्द्र पौडेलले नेतृत्व गरिरहेको संस्थापनइतर समूहका हुन्– पौडेल पनि।यसबाहेक कांग्रेस केन्द्रीय सदस्य एनपी सावदले पनि महामन्त्री उठ्ने आकांक्षा देखाएका छन्।

उनले सामाजिक सञ्जालमा महामन्त्री उठ्ने त बताएका छन् तर महामन्त्री उठ्ने कि उपसभापति भन्नेमा उनी दोधारमा छन्। सभापति देउवानिकट मानिने उनी संस्थापन पक्षको आधिकारिक प्यानलका जे पदमा अटाइन्छ, त्यही पदमा लड्ने मनस्थितिमा छन्।

०४६ सालमा बहुदल आएपछि पहिलो पुस्ताका नेताहरु गणेशमान सिंह, शन्तनेता कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरु भौतिक रूपमा बिदा भइसकेका छन्।

अहिले कांग्रेसको नेतृत्वमा त्यसपछिको पुस्ताका शेरबहादुर देउवा र रामचन्द्र पौडेलले दोस्रो पुस्ताको नेतृत्व गरिरहेका छन्। संस्थापनइतर समूहबाट सभापति दाबी गरिरहेका प्रकाशमान सिंह, शेखर कोइराला, सशांक कोइराला, सुजाता कोइराला पहिलो पुस्ताका नेताकै सन्तति हुन्।

कांग्रेसका संस्थापक र पहिलो पुस्ताका नेताहरु बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाको विरासतमाथि उनीहरुको दाबी छ।

देउवा समूहमै रहँदैआएका उपसभापति विमलेन्द्र निधी पनि कांग्रेस पूर्वमहामन्त्री महेन्द्रनारायण निधीका छोरा हुन्। उनी देउवाको साटो आफू उम्मेद्वार हुन चाहन्छन्। त्यस्तै देउवासमूहबाट गोपालमान श्रेष्ठ पनि सभापति उठ्ने बताइरहेका छन्।

महामन्त्रीमा भने केबल ‘नाति पुस्ता’ को मात्र दाबी देखिएको छ। संस्थापन इतर समूहले एक जना सभापतिका उम्मेद्वार अघि सार्न नसकेकाले महामन्त्रीको टुंगो लागेको छैन। महामन्त्री दाबी गर्नेहरुले पनि आफ्नो सभापति को भनेर भन्न सकेका छैनन्।

प्रकाशित मिति: : 2021-12-07 17:50:00

प्रतिकृया दिनुहोस्