जुम्लामा एकै दिन ५६ जना काेराेना संक्रमित थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणबाट बिहीबार थप ५६ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे।
जिल्लाका हिमा गाउँपालिकाका ८ जना र नगरपालिकाका १ जनामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा हिमा गाउँपालिकाका कर्मचारीसहित ५६ जनामा कोरोना संक्रमण देखिएको हो।
एक सय २९ जनाको नमुना संकलन गरिएकोमा हिमा गाउँपालिकाका ५१ जना र नाग्मका ५ जना रहेका छन्। शिक्षण अस्पतालको आइसोलेसन वाडमा १४ जना संक्रमित भर्ना भइ उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ।
याे जुम्लामा हालसम्म धेरै संक्रमित देखिएको पहिलो पटक हो।
जुम्लाको चन्दननाथ नगरपालिकासहित सातवटै स्थानीय तहमा निषेधाज्ञा जारी छ। गत शुक्रबारदेखि गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मको लागि भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।