गाउँले दाइ गोपाल तामाङ रानीस्थित मिल्स एरियामा एकवर्षे मेकानिकल ट्रेनिङ लिँदै हुनुहुन्थ्यो।
एक दिन १ बजेसम्म क्याम्पसमा भाषण सुनेपछि तीनचक्के टेम्पु चढेर गएँ। गोपाल दाइ विराटनगर जुट मिलको इन्जिनियरिङ वर्कसपमा हुनुहुँदो रहेछ। गन्जी र हाफपाइन्ट मात्र लगाएर असिनपसिन हुँदै मोटरको सामग्री बनाइरहनुभएको थियो। निकै बेरमा मात्र मलाई पुलुक्क हेर्नुभयो र बस्दै गर्ने इसारा गरेर काममा लागिहाल्नुभयो। एउटा रिङ बनाइसकेपछि मेसिन बन्द गरेर म सँग हात मिलाउनुभयो। मलाई एकछिन पर्खन भनेर दाइ फेरि मेसिन चलाउन थाल्नुभयो। नेपाली बोल्न गाह्रो लाग्ने हुनाले कम बोल्ने र नयाँ मान्छेबाट सकभर पर बस्ने उहाँको स्वभाव थियो।
काम सकिएपछि अर्को कोठामा गएर केही बेर कुरा गर्यौ। दाइले उहाँकै डेरामा बास बस्न आग्रह गर्नुभयो। एक जना चाखलाग्दो कमरेडसँग भेट गराइदिने बताउनुभयो। एकछिनपछि दुवै बाहिर निस्कियौं। उहाँले मलाई मिलभित्र घुमाइदिन एउटा मजदुरलाई अह्राउनुभयो। ती मजदुर गाइडले चर्खामा धागो कातेको देखि लुम (तान) लाइन पुर्याउँदै बोरा बुनिँदै गरेका विभिन्न चरण देखाए। त्यति ठुलो कारखाना पहिलो चोटि देखेको थिएँ। हजारौं मजदुर थिए। जुटको धुलोले भने टाउको दुखाउने रहेछ। धुलो दिनभर खाँदा उनीहरुको स्वास्थ्य कस्तो होला !
गोपाल दाइ र म नेपाल बैकं लिमिटेड, मिल्स एरिया छेउको इँटा छापेको सानो बाटोबाट भित्र पस्यौं। बैकंबाहेक अरु सबै घर छाप्रा थिए। निकै भित्र भाटाको बारले घेरिएको सानो दुईकोठे घरमा पुग्यौं। भित्रपट्टिको कोठामा उनका साथी र बाहिरकामा गोपाल दाइ बस्नुहुँदो रहेछ। अर्को कुनातिर अलिकति टाटीले घेरेर भान्सा बनाइएको थियो। गोपाल दाइकामा जुटको डोरीले बुनेको चारपाई थियो। दाइ त्यहीं सुत्नुहुँदो रहेछ। म छेउको बेन्चमा बसें। एकछिनमा भित्रबाट फराकिलो निधारमाथि टोपी लगाएका हृष्टपुष्ट व्यक्ति मुस्काउँदै निस्के। गोपाल दाइले ‘यो मेरो गाउँले साथी क्रान्तिकारी कमरेड कालुराम हो’ भनेर चिनाए। दाइले त्यसरी विशेषण हालेर परिचय दिँदा म अकमक्क परें। ती मानिसले ‘लौ बसौं, मेरो नाम माधव नेपाल हो’ भन्दै हात मिलाए।
जुँगा कटाइ ठ्याक्क हिन्दी फिल्मको हिरो शत्रुघ्न सिन्हाको जस्तो, अझ हिटलर कट। अनुहार रातो वर्ण। हँसिलो, लक्का जवान। शिरमा टोपी। थर नेपाल भने पनि बोली ठ्याक्कै मधेसीको जस्तै। गोपाल दाइले कमरेड भन्नुहुन्थ्यो तर उहाँको निधारमा चन्दनको गोलो टीका थियो। मलाई त लागेको थियो, तराइकै कोही पण्डित वा पूजामा विश्वास गर्ने शिक्षक होलान्। परिचयले मलाई अचम्भित पार्यो।
उहाँले मेरो पढाइ सोध्नुभयो। मैले क्याम्पसको हाल बताएँ। ‘ओह ! कालुरामजी, यो कलेज पो हो त, स्कुल जस्तो सीधा पढाइ कहाँ हुन्छ ? घुमघाम गर्नुहोस्, मित्रहरु बनाउनुहोस् ! बस् भैगयो नि ! हडताल सकिनुपर्ने हो, हेर्दै जानुस् !’ उहाँले भन्नुभयो।
उहाँ नेपाल बैकं लिमिटेडका कर्मचारी हुनुहुँदो रहेछ। व्यवस्थापनमा इन्टरमिडियट गरिसकेर ब्याचलर लेभल पढ्ने तरखरमा हुनुहुँदो रहेछ। घर रौतहट अरे तर मेरो खुलदुली मेटिएन। सोध्न भने अनुचित ठानेँ।
मैले नौलो मान्छेसँग पहिलो भेटघाटमै धेरै कुरा गर्न चाहिनँ तर उहाँले फ्याट्ट सोधिहाल्नुभयो, ‘ल भन्नुहोस्, झापाका नक्सलाइटहरुको के छ नौलो खबर ?’
यो प्रश्नले मलाई उकुसमुकुस बनायो। कमरेड हुँ भन्छन् तर पञ्चायती सुराकी वा प्रहरीले जस्तो प्रश्न सोध्छन्। ‘नक्सलाइट’ शब्द प्रतिक्रियावादीहरुले झापाली क्रान्तिकारीलाई नङ्ग्याउन प्रयोग गर्थे। ‘खोइ, आफू नक्सलाइट भए पो त्यसको खबर बुझ्नु ! मलाई के थाह ?’मैले भनेँ।
‘होइन, डराउनुपर्दैन। यहाँ कसैले सुन्दैन, यो मजदुर एरिया हो। भन्नुस न ! गोपालजीले भनेको तपाईँ त्यहाँका ठूला नेताहरुसँग हिँड्नुहुन्छ रे !’ झन उहाँले त डुबाउने खालको कुरा गर्न थाल्नुभयो।
मलाई कुरा गर्न डर लाग्यो।
मैले भनेँ, ‘हेर्नुस् माधवजी, भारतको नक्सलबारी भन्ने ठाउँमा क्रान्ति गर्ने भारतीयहरु नक्सलवादी हुन् भन्ने थाह छ। झापाको आन्दोलन झापालीले गरेका हुन्। अनि मलाई तिनीहरुको खबर कसरी थाह हुन्छ ?’
‘लौ बाबा मानेँ ! झापाका आन्दोलनकारीहरुकै खबर भन्नुस् न त,’उहाँले भन्नुभयो।
त्यसपछि जानेजति घटनाबारे बताएँ अनि ‘यतातिरको बखर के छ ?’भनेर सोधेँ। उहाँले मुस्काउँदै ‘खोइ यता त त्यस्तो घटना भएको छैन, बरु तपाइँले कलेजतिरको खबर सुनाइसक्नुभयो’ भनेर टार्नुभयो। मैले थप कुरा खोतल्न चाहिनँ। बरु गोपाल दाइले खाना बनाएको हेर्न थालेँ। उहाँ आफ्नो कोठातिर लाग्नुभयो।
गोपाल दाइले भात पकाएको देखेर मलाई विरक्त लाग्यो। भाँडा पनि कसौंडीजस्ता डल्लाडल्ला, थालबटुका सबै हलुङ्गेका, चुलो थोत्रो बाल्टिनजस्तो ! सानो प्लाष्टिकको पोकोबाट कालो धुलो निकाल्दै चुलोमा छुस्सछुस्स लगाउनुहुन्थ्यो। त्यो पत्थर कोइलाको धुलो रहेछ। रेलले पत्थर कोइला ल्याउँदा लिकमा खसेको धुलो भेला पारेर काम चलाइँदो रहेछ। साँच्चै सर्वहारा मजदुरहरु बसेका रहेछन् जस्तो लाग्यो। बर्माको मन्डाले रङ्गुनको बोर्डिङ स्कुल पढेको व्यक्तिले रेलवे लाइनको धुले कोइला टिपेर खाना पकाएको देख्दा विश्वासै लागिरहेको थिएन।
खाना खाएपछि तीनै जना गफ गर्न थाल्यौं। गोपाल दाइले मेरो बारेमा माधवलाई भएभरको कुरा सुनाइसक्नुभएको रहेछ। माधवले मलाई ‘गोपालजीले भनेको हो कि होइन ?’भन्ने पाराले केरकार गर्न लाग्नुभयो। उहाँको अनुहार हँसिलो भएकाले भित्री मन पनि हँसिलै होला जस्तो लाग्यो। ‘तपाईँ त क्रान्तिकारी गीत पनि गाउन जान्नुहुन्छ रे ! लौ सुनाउनुहोस्,’उहाँले भन्नुभयो।
स्वर घोर्लेघोर्ले थियो। लक्का जवान थिएँ। क्रान्तिकारी हुँ भन्ने आडम्बर छँदै थियो। मैले ‘जोत्नेको यो भूमि हो, भूमि सबैको साझा होस्’ देखि ‘ताजै छ रगत मुटुमा, सहिदको बाटो भुल्दैनौं’ सम्मका गीत घोक्रो फुलाईफुलाई गाएँ। गोपाल दाइले बङ्गाली गीत ‘पूर्व दिक लाल, सूर्य उठील, चीन दिलो पृथ्वीके मुक्तिदाता’ र ‘युग युग जियो चियरमेन’ गाएर सुनाएँ। माधव छक्क परेर सुनिरहनुभयो।
‘वाह ! निकै मजाले क्रान्तिकारी गीत गाउनुहुँदो रहेछ ! मानेँ तपाईँलाई,’उहाँले फुक्र्याउनुभयो। ‘लौ बाँकी भोलिलाई राखौं’ भन्दै गफगाफ बिसायौं। राति म र गोपाल दाइ झुलन खाटमा सुत्यौं।
बिहान ५ बजेतिर ब्युँझिँदा भित्र चण्डी पाठ गरेको सुनेँ। गोपाल दाइ अघि नै उठेर बाहिर बाहिर घुम्दै हुनुहुँदो रहेछ। म पनि बाहिर निस्केर हातमुख धोएँ। गोपाल दाइलाई ‘भित्र पण्डितजस्तो पाठ गर्ने को नि ?’भनेर सोधेँ। दाइले ‘माधवजी हुन्, सधैँ पाठ पूजा गर्छन्’ भन्दा म छक्क परेँ। म कम्युनिष्ट विचारमा लाग्दा ‘धर्म भनेको अफिम हो जुन खाँदा मातिन्छ, असल कम्युनिष्टहरु यसरी मात लाग्ने कुनै धर्ममा विश्वास गर्दैनन्’ भनेर सिकाइएको थियो।
एकछिनपछि घण्टी पनि बज्यो। पूजापाठ सिद्धिएछ। चट्ट कपाल कोरेका माधव निधारमा चन्दनको टीका लगाएर बाहिर आउनुभयो। अभिवादन साटासाट गरेर केही बेर गफियौं। त्यसपछि फेरि रमाइलो भेट गर्ने भन्दै म बाटो लागें। बाटैभरि ती फुर्तिला चन्दन लाउने नयाँ साथीसँगको भेट र कुराकानी सम्झिँदै आफैँ रोमाञ्चित भइरहेँ।