काठमाडौँ गुर्खाजसँग पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअप होडबाट बाहिरिएको छ। लुम्बिनी बुधबार दिउँसो गुर्खाजसँग १८ रनले पराजित भयो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय टोलीका अनुभवी खेलाडी करण केसीको कप्तानीमा रहेको काठमाडौँले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो।
पिच र मौसमी अवस्थालाई ध्यानमा राखेर त्रिवि क्रिकेट मैदानमा दिउँसो हुने खेलमा प्रायः टोलीले पहिला ब्याटिङ गर्ने इच्छा राख्ने गरेका छन्। काठमाडौँले पनि त्यही गर्यो।
पहिला बलिङ गरेपछि उच्च स्कोर तयार पार्ने लक्ष्य काठमाडौँको थियो। तर, लुम्बिनीले स्पिनरलाई प्रयोग गर्दा काठमाडौँ निर्धारित २० ओभरमा मात्रै १०३ रनमा समेटियो।
जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले उक्त स्कोर सजिलै पूरा गर्ने अनुमान गरिएको थियो। तर, लुम्बिनी ८५ रन बनाउँदा अलआउट हुन पुग्यो। र, काठमाडौँ १८ रनले विजायी भयो।
जारी एनपिएलमा लुम्बिनीको यो लगातार पाँचौं हार हो। यो हारसँगै लुम्बिनी एनपिएलको प्लेअप (उपाधि) होडबाट बाहिरिएको छ।
लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले र तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो। भने, चौथो खेलमा जनकपुर बोल्ट्ससँग १ रनले पराजित भएको थियो।
एनपिएलमा लगातार तीन तथा चार खेलमा पराजित हुने पहिलो टोली बनेको लुम्बिनीले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गर्यो। कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनीमा चितवनमाथि जित निकालेको लुम्बिनीले प्लेअप सम्भावना जिवित राखेको थियो। तर, बुधबार आफ्नो छैठौं खेलमा काठमाडौँसँग पराजित भएसँगै लुम्बिनीको प्लेअप (उपाधि) होडबाट बाहिरिएको हो।
७ मध्ये ६ खेल खेलेको लुम्बिनी २ अंकसहित अंक तालिकाको छैठौं स्थानमा रहेको छ। अब लुम्बिनीले शुक्रबार कर्णाली याक्ससँग अन्तिम खेल्नेछ। यो खेल यस वर्षको एनपिएलमा लुम्बिनीको लागि अन्तिम खेल हुनेछ।
रोहित पौडेलको उत्कृष्ट प्रदर्शन
लुम्बिनी लायन्स जारी प्रतियोगितामा प्लेअप होडबाट बाहिरिने पहिलो टोली बनेतापनि कप्तान पौडेलले भने उत्कृष्ट प्रदर्शन गरेका छन्।
अहिलेसम्मको नतिजाअनुसार एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडीकोे सूचीमा रोहित पहिलो स्थानमा छन्। ६ खेल खेलेका रोहितले २ सय ६९ रन जोडेका छन्।
रोहितले विराटनगर किंग्सविरुद्ध ४६, पोखरा एभेन्जर्सविरुद्ध ९५, सुदूरपश्चिम रोयल्सविरुद्ध ५, जनकपुर बोल्ट्सविरुद्ध ३५, चितवन राइनोजविरुद्ध ३५ र काठमाडौँ गुर्खाजविरुद्ध ८ रन प्रहार गरेका छन्।
दोस्रो स्थानमा रहेका जनकपुर बोल्टसका लाहिरु मिलान्थले ५ खेलबाट १७५ र तेस्रो स्थानमा रहेका चितवन राइनोजका रवि बोपराले ५ खेलबाट १६९ रन मात्रै जोडेका छन्।
रोहितपछि सबैभन्दा धेरै रन जोड्ने नेपाली खेलाडीमा रहेका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले मात्रै १ सय ४० रन जोडेका छन्।
त्यस्तै रोहितले बलिङमा पनि उत्कृष्ट प्रदर्शनी गरेका छन्। उनले ६ खेलमा ७ विकेट लिएका छ। जारी एनपिएलमा सबैभन्दा बढी विकेट लिनेहरुको सूचीको पहिलो स्थानमा रहेका चितवन राइनोजका सोशाइल तान्वीरले ९ विकेट लिए छन्।
प्लेअप सम्भावना
जारी प्रतियोगितामा समूह चरणका २८मध्ये १८ खेल सम्पन्न भएका छन्।
अहिलेसम्मको खेलअनुसार अंक तालिकाको पहिलो स्थानमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स, दोस्रो स्थानमा अनिल साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स, तेस्रो स्थानमा कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज तथा चौंथो स्थानमा सोमपाल कामी कप्तान रहेको कर्णाली याक्स रहेको छ।
त्यस्तै पाँचौं स्थानमा करण केसी कप्तान रहेको काठमाडौँ गुर्खाज, सातौं स्थानमा कुशल भुर्तेल कप्तान रहेको पोखरा एभेन्जर्स र आठौं स्थानमा सन्दीप लामिछाने कप्तान रहेको विराटनगर किंग्स रहेको छ।
अहिलेसम्मको अंक तालिका अनुसार पहिलो स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानमा रहेको जनकपुरको प्लेअप सम्भावना बलियो रहेको छ। अब सुदूरपश्चिमले पोखरा एभेन्जर्स र कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्ने छ। यी दुई खेल जिते पनि या गुमाए पनि सुदूरपश्चिमको प्लेअप सम्भावना कायम नै रहनेछ।
त्यस्तै जनकपुर बोल्ट्सले काठमाडौँ र चितवनसँग प्रतिस्पर्धा गर्न बाँकी छ। जनकपुरले पनि यी दुई खेल जिते पनि या हारे पनि प्लेअप सम्भावना कायम नै रहनेछ।
तेस्रो स्थानमा रहेको चितवनले पनि काठमाडौँ गुर्खाज र चितवन राइनोजसँग गरी दुई खेल खेल्न बाँकी छ। चितवनले बाँकी दुवै वा एक खेल जित्दा पनि प्लेअप सम्भावना कायम रहने छ। र, हार्दा पनि प्लेअप सम्भावना कायम रहने छ। तर, दुवै खेल हारेको अवस्थामा चितवनका लागि अन्य टोलीको नतिजाले अर्थ राख्ने छ।
त्यसैगरी चौथो स्थानमा रहेको कर्णालीको पनि प्लेअप सम्भावना कायम रहेको छ। काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्ससँग गरी अब कर्णालीले दुई खेल खेल बाँकी रहेको छ। बाँकी दुवै वा एक खेल जित्दा पनि कर्णालीको प्लेअप सम्भावना कायम रहने छ। र, दुवै खेल हार्दा पनि कर्णाली याक्सको प्लेअप सम्भावना जिवित नै रहनेछ।
पाँचौं स्थानमा रहेको काठमाडौँ गुर्खाजको पनि प्लेअप सम्भावना कायम छ। काठमाडौँले अब जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ। काठमाडौँले प्लेअपमा पुग्नका लागि बाँकी सबै खेल जित्नु पर्ने हुन्छ। र, तीनमध्ये दुई खेलमा विजयी भएपनि प्लेअप सम्भावना त कायम नै रहनेछ। तर, अन्य टोलीको नतिजाले मात्रै प्लेअप टुंगो लाग्ने छ।
त्यस्तै लुम्बिनीपछि सातौं र आठौं स्थानमा रहेका पोखरा र विराटनगर किंग्सले ३–३ खेल खेल्न बाँकी छ। प्लेअप सम्भावना कायम राख्नका लागि दुवै टोलीले बाँकी सबै खेल जित्नु पर्नेछ। र, जितेर मात्रै पनि पुग्ने छैन अन्य टोलीको नतिजाले मात्रै प्लेअप यात्राको तय गर्ने छ।
जारी एनपिएलमा समूह चरण्को अन्तिम खेल पुस १ गते हुन्छ। र, सोही दिन प्लेअप खेल्ने सबै टोलीको टुंगो लाग्ने छ। त्यसपछि प्लेअप खेल र पुस ६ गते शनिबार फाइनल खेल हुनेछ।