अध्यागमन विभागका कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालय बन्द

अध्यागमन विभागका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। बिदामा घर गएर एक महिनापछि फर्किएका कर्मचारीमा कोरोना संक्रमण देखिएको विभागका महानिर्देशक रमेशकुमार केसीले बताए।

तराई घर भएका ती कर्मचारी एक महिना घर बसेर फर्केपछि विभागमा काम गर्न थालेको पनि एक महिना भएको छ।

शुक्रबार विभागका कर्मचारीसहित ८४ जनाको कोरोना परीक्षण गरिएकोमा उनै एक जनाको मात्रै पोजिटिभ रिपोर्ट आएको थियो।

कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै केही दिनका लागि अध्यागमन विभागको सेवा बन्द गरिएको छ।

बुधबार पुनः स्वाव संकलन गर्ने र सबैको रिपोर्ट आएपछि कार्यालय सञ्चालनको निर्णय गरिने महानिर्देशक केसीले बताए।

विभागले एक सूचना जारी गरी अत्यावश्यक काम परे विभागका कर्मचारीलाई फोन सम्पर्क गर्न भनेको छ।

प्रकाशित मिति: : 2020-08-10 13:12:52

प्रतिकृया दिनुहोस्