कुनैबेला ढुङ्गेधाराकाे पानीले परिवार धानेकी थिइन् पाटनकी सुस्माले। तर एक दशकदेखि उनी पानीकाे संकट झेल्न बाध्य छिन्। त्यसैले अब पाटन क्षेत्र छाेड्ने याेजना बुन्दैछिन् उनी।
‘यो ठाउँमा धेरै बसें, पहिले ढुङ्गेधारामा पानी बग्थ्यो तर धेरै भयो पानीको समस्या भएको’, एक दशकदेखि पानीको समस्या भोग्नुपरेको बताउँदै उनले भनिन्, ‘जसोतसो १० वर्ष कटाएँ तर अब डेरा सरेर पानी पाइने ठाउँमा जान्छु।’
उनी जस्तै पीडित छिन् नयाँ बानेश्वरकी शानुमाया थापा। हालसम्म उनलाई पानीकाे अभावले सताइरहेकाे छ।
तर धन्न!
काठमाडाैं उपत्यकामा जार र बोटलको पानी प्रशस्त पाइन्छ।
दिनकाे १०–१५ हजार रूपैयाँकाे पानी किन्ने शानुमाया भन्छिन्, ‘पानी नकिन्नुकाे विकल्प नै छैन।’
पानीकाे अभाव झेलिरहेका सुस्मा र शानुमाया जस्ता धेरै जनाकाे समस्या समाधान गरिरहेकाे जार र बोटलकाे व्यापार २०७० सालपछि फस्टाउन थालेकाे थियाे।
भूमिगत उत्पादन हुने पानीबाट दिनमा साढे दुई लाख जार र २५ हजार बोटलको काटुन खपत हुन्छ। जसले काकाकुल उपत्यकालाई मज्जैले धान्न सक्छ।
‘काठमाडौं उपत्यकाको जनसंख्या अहिलेभन्दा तीन गुणाले बढ्यो भने पनि हामीले पानीको माग धान्न सक्छौं’, नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष धुव्रबहादुर गौतम भन्छन्, ‘तर हामीले उत्पादनलाई सही तरिकाले बढाउन सकेका छैनौं।’
काठमाडौं उपत्यकामा करिब २ सय वटा पानी उद्योगहरू छन्। जहाँबाट दैनिक २० लाख जार र साढे दुई लाख बोटलको पानी उत्पादन भइरहेको छ। त्यसैले उपत्यकाबासीहरूकाे पानीकाे मागलाई पूर्ति गर्न सक्छ।
अध्यक्ष गौतमका अनुसार बाेटल र जारकाे पानीले काठमाडाैं उपत्यकाबासीहरूकाे सय प्रतिशत माग पूरा गर्न सक्छ।
‘हामीले ३० लाख जार पानी उत्पादन गर्न सक्र्छौं, त्यसैले काठमाडौं उपत्यकाको सय प्रतिशत माग नै धान्न सक्छौं’, बिएल नेपाली सेवासँग उनले भने, ‘केयूकेएलले केही मात्रामा पानी वितरण गर्न सक्छ तर हामीले सय प्रतिशत माग धानिरहेका छौं।’ काठमाडौं उपत्यकामा पानीको हाहाकार भएतापनि जार र बोटलको पानीले आवश्यकता धान्न सक्ने उनको दाबी छ।
बजारमा पानी र जारको उत्पादन धेरै छ। तरपनि नेपालमा विदेशी पानी आर्यात भइरहेको छ। नेपालमा उत्पादित पानीलाई निर्यात गर्न सकिन्छ तरपनि निर्यात भन्दा धेरै आर्यात भइरहेको छ।
विदेशबाट नेपाल भित्रिएका पानीभन्दा नेपालमा उत्पादित पानी गुणस्तरीय रहेको गौतमकाे भनाइ छ।
‘सुपरमार्केटमा विदेशी पानीको बोटल देखिन्छ तर स्वदेशी बेचिरहेको हुँदैन’, आफूले विदेशी ब्राण्डको पानी नपिउने बताउँदै उनले भने, ‘हामीले नेपाली पानीलाई प्रमोट गर्नुपर्छ।’
नेपालबाट स्पीरिङ वाटर, अक्वा रसुवा, हिमालय टप अपलगायत ६ किसिमका पानीका ब्राण्डहरू विदेशमा निर्यात हुन्छन्। तर अझैपनि धेरै सम्भावना छ।
नेपालमा उत्पादिन पानीलाई उत्तर प्रदेश र बिहारमा पठाउन सकिए स्वदेशको लागि राम्रो हुने उनको विश्वास छ।
विदेशबाट आर्यात भइरहेको पानीलाई अनुमति दिइरहेको छ राज्यले। तर नेपालमा बनेका गुणस्तरीय पानीलाई वेवास्ता गरिरहेको उनको गुनासो छ। उनी भन्छन्, ‘विदेशीभन्दा स्वदेशी पानी नै गुणस्तरीय छ।’
कस्ताे पानी गुणस्तर?
नेपालमा उत्पादित सबै पानी गुणस्तरीय रहेको अध्यक्षको भनाइ छ। कुनैपनि पानीको गुणस्तर ब्राण्डले निधारण गर्दैन।
‘यहाँ उत्पादित सबै पानी गुणस्तरीय छ, यसको जाँचै गर्नुपर्दैन तर पानी कसरी प्रशोधन भइरहेको छ कुरामा भर पर्छ’, उनी भन्छन्, ‘लोकल र प्रिमियम गरेर पानी उत्पादन गरिन्छ।’
उनका अनुसार प्रिमियम कम्पनीले उत्पादन गरेको पानीको मूल्य महँगो पर्छ। तर उद्योगलाई प्रिमियम बनाउने ‘क्याइटेरिया’ नभएको उनले बताए।
‘प्रिमियम कम्पनीले उत्पादन गरेको पानीको मूल्यको निर्धारण उनीहरू आफैंले गर्न सक्छन्, त्यति अधिकार छ तर लोकल कम्पनीले मूल्य बढाउन पाउँदैन’, उनले भने, ‘कस्तो कम्पनीलाई प्रिमियम मान्ने त्यो अहिलेसम्म उल्लेखित गरिएको छैन। तर ती कम्पनीहरूले बोटलमा टाँस्ने स्टीकरदेखि बोटल र बिर्को पनि फरक राखेको हुन्छ।’
बजारमा धेरैजसो पाइने सामान्य पानीको मूल्य सस्तो पर्छ। एउटा जारको ४७ रुपैयाँ र बोटलको पानीको १६ रुपैयाँ पर्छ। तर बिचौलियाहरूले पैसा खाएर महँगोमा बेचेको उनको गुनासो छ।
‘वास्तविक पानी उद्योगीहरू धरासयी बनेका छन् तर बिचौलीहरूले पानीबाट पैसा कमाइरहेका छन्’, उनको आक्रोश पोख्छन्।
नेपालमा सबैभन्दा महँगो ब्राण्डका कम्पनीहरू रसुवा अक्वा, हिमालय टप अप, स्पीरिङ वाटरलगायत अक्वा हन्रेड हुन्। जसले बजारमा १४० रुपैयाँमा जार र बोटलका पानी बेचिरहेका छन्।
लोकल ब्राण्डले १९ ग्राम र प्रिमियम ब्राण्डले २४ ग्रामको बोटल प्रयोग गर्छ। यसकाराण पानीको मूल्यमा घटबढ भएको उनको भनाइ छ।
नेपालमा अहिले पानी उद्योगको प्रतिस्पर्धा भइरहेको छ। तर पुराना उद्योगीहरू विस्थापित हुने लयमा छन्। स्वदेशमा उत्पादित पानी पिउन रुचाउँदैनन् अनि विदेशी आर्यात रोक्दैनन्। त्यसैकारण पनि पानी उद्योगीहरू डुब्ने अवस्थामा रहेको उनको गुनासो छ।
बजारको माग र उत्पादित संख्या तालमेल नहुँदा उद्योगीहरूलाई मर्का पर्ने गौतम बताउँछन्। ‘उत्पादन धेरै छ तर बजार छैन। यी दुई चिज मिलेन भने केही नमिल्दो रहिछ’, उनी दुखेसाे पाेख्छन्।