छाेरालाई कसरी भनूँ, म बलात्कार भएर तँ जन्मिएकाे हाेस्

घाँस काट्न गएकी उनी जंगलमै बलात्कृत भइन्। श्रीमान विदेशमा थिए। बलात्कारपछि गर्भ रह्याे। उनले श्रीमानकाे घर छोडिन्। छाेराे जन्मियाे। बलात्कारकाे पीडा त जीवनभरि कसरी भुल्न सकिन्छ र! अब जति बाँच्नुछ उनलाई छाेराकै लागि बाँच्नुछ। 


गाेरखाकी कल्पना (नाम परिवर्तन) घरकी कान्छी छाेरी थिइन्। उनीमाथि तीन दिदी र चार जना दाजु-भाइ थिए। सबैकाे मायाले पुलपुलिएर हुर्किएकी थिइन्।

बुबा वैदेशिक रोजगारमा थिए। आमाले घर ब्यवहार धानिरहेकी थिइन्। बुबाको कमाइ र घरको खेतीपातीले परिवार राम्रै चलिरहेकै थियो। खानु र लगाउनुमा कुनै कमी थिएन। 

सबै जना दाइ–दिदीहरूले विवाह गरिसकेका थिए। उनी मात्र थिइन् अविवाहित। तर उनलाई विवाह गर्नु थिएन।

कक्षा– ६ पढ्दै गरेकी कल्पनाको सोच थियो, जागिर खाएर बुबा-आमालाई पाल्ने। तर आफूले सोचेको जस्तो कहाँ हुन्छ र!

परिवार थेगिरहेका बुबा थला परे। उनी नेपाल फर्किए। बिरामी परेर ओछ्यानमा लम्पसार पल्टिएका बुबाले उनलाई विवाह गर्न लगाए।

बुबाले कल्पनासँग भनेका थिए, ‘तेरो विवाह हेरेर मात्र मर्न चाहन्छु छोरी’। बुबाको शब्द सुनेर भावुक भएकी उनले विवाहको लागि सहमति जनाइन्।  

परिवारकाे सहमतिमा उनकाे २०७२ सालमा विवाह भयाे। २१ वर्षकाे उमेरमा विवाह गरेर कल्पना चितवन पुगिन्। श्रीमानकाे घरमा सासु–ससुरा, जेठान–जेठानी र दुई नन्दबहिनीहरू थिए। 

पहिलाेपटक अर्काे परिवारकाे हिस्सा बन्दा कल्पना निकै डराएकी थिइन्। घरका मान्छेले माया नगर्ने पो होकि! 

‘नयाँ घरमा जाँदा डर हुँदो रहेछ। घरकाले हेला गर्छ कि भनेर डराएकी थिएँ’, उनले विवाहपछिको अनुभव सुनाइन्। 

माइतीघरमा सबै जनाकाे स्नेह पाएर हुर्किएकी कल्पनाले आफ्नो घरमा कसैकाे माया पाइनन्। श्रीमानकाे प्रेमकाे लागि पनि उनी तड्पिनुपर्‍याे। सासु र नन्दहरूले त देखिसहदैन थिए।

‘मेरो श्रीमानले मलाई मान्छेको अगाडि देखावटी माया मात्र गर्नुहुन्थ्यो’, उनी भन्छिन्, ‘ससुराले केही माया गर्नुहुन्थ्यो तर सासु र नन्द बहिनीहरूले मलाई मनपराउनु हुँदैन थियो।’

सासु आमाकाे राेजाइ थिइनन् कल्पना। त्यसैपनि उनी परिवारकाे हेलाकाे सिकार मात्र भइरहिन्। उनलाई सासु–आमाले भन्ने गर्थिन्, ‘तँ मेरो रोजाइको बुहारी होइनस्। तँलाई म कहिल्यै बुहारी स्वीकार गर्दिनँ।’

आमाको कुरामा लागेका दुई बहिनीहरूले पनि भाउजूलाई कहिल्यै राम्रो गरेनन्। सधैं दाइलाई कुरा लगाएर झगडा गराइरहे। नन्दहरूकाे कारण कल्पनालाई धेरै पटक श्रीमानले गालीगलाैज गरे। तर सहेर बसिरहिन् उनी। 

घरपरिवारकाे अपहेलनाले थाकिसकेकी थिइन् कल्पना। माइतीलाई सम्झिएर रूने गर्थिन् तर कहिल्यै आफूले दु:ख पाएको बाआमालाई सुनाइनन्।

बरू, आफैं राेइरहिन्। 

विवाहकाे गरेकाे वर्ष दिनपछि कल्पना दुईजिउकाे भइन्। त्यसपछि श्रीमानकाे मनमा उनकाे लागि मायाकाे टुसा पलाउन थाल्याे। 

कल्पनाकाे स्याहार गर्न थालेका थिए श्रीमानले। तर उनकाे त्याे प्रेम पनि क्षणिक बन्याे।  

‘आमा र बहिनीको कारण मैले श्रीमतीले पाउनुपर्ने माया कहिल्यै पाइनँ’, उनले बिएल नेपाली सेवासँग दुखेसो पोखिन्। 

वि.स २०७३ सालमा छोरा जन्मिए। त्यही छोराको भविष्यका लागि कल्पनाका श्रीमान मलेसिया उडे। एक महिनाको छोरालाई छोडेर। 

‘बुबाको नाममा पैसा पठाइदिनुहुन्थ्यो। बुबाले मलाई छोराको पढाइ खर्चमात्र दिनुहुन्थ्यो’, उनी भन्छिन्, ‘म आफैं काम गरेर खर्च बनाउँथेँ।’

विवाह गरेर छाेरा जन्मिसकेका थिए तर परिवारकाे मनमा कल्पनाकाे लागि माया अझै पलाएकाे थिएन। तर उनकाे लागि साहारा बनेका थिए छाेरा। 

घरकाे कामधन्दा र छाेरालाई पढाउनु नै कल्पनाकाे काम थियाे। छाेरासँग खुसी थिइन् कल्पना तर उनकाे खुसीमा परिवारकाे नजर लाग्याे। 

एक रातले बदलियाे कल्पनाकाे जीवन

२०७७ सालताका। पुसकाे महिना। दिउँसाेकाे ३ बजेतिर। सासुले कल्पनालाई घाँस काट्न पठाइन्। दुई नन्दहरूकाे साथमा। 

घरबाट आधा घण्टा टाढा थियाे मकैबारी। त्यही बारीमा घाँस काट्न दुई वटा डाेकाे बाेकेर तीनजना गएका थिए। 

दुईजना मिलेर छिट्टै घाँसकाे भारी बनाए अनि घरतिर फर्किए। भाउजूलाई पर्खिएनन् पनि।

‘मलाई पर्खिनु भनेर बहिनीहरूलाई भनेकी थिएँ तर उहाँहरूले मान्नुभएन। मलाई एक्लै छाडेर जानुभयाे’, उनले सम्झिइन्। 

रातकाे ७ बजे घर पुगेकी थिइन् कल्पना। तर कसैलाई आफूमाथि भएकाे घटना सुनाइनन्।  सुनाए पनि कसले बुझिदिन्थ्याे र कल्पनाकाे बेथा? उनले आफैंसँग राखिरहिन् त्याे कहालिलाग्दाे रातकाे घटना। 

आफू बलात्कृत भए पनि उनी गुपचुप रहिन्। तर बलात्कार भएकाे दुई महिनापछि कल्पनामा परिवर्तन देखिन थाल्यो। ‘महिनावारी रोकिएको थियो। रिंगटा लागिरहन्थ्यो र वान्ता पनि भइरहन्थ्यो’, उनले सुनाइन्।

कल्पनाको अवस्था देखेर सासु–ससुराले उनलाई अस्पताल लगे। पिसाब जाँच गराए। त्यसपछि थाहा भयाे उनी ‘गर्भवती’ भएकी रहिछिन्। आफू दुई जिउकाे भएको कुरा थाहा पाएपछि उनीमाथि आकाश खसेजस्तो भयो। केही साेच्न सकिनन्। 

घाँस काट्न जाँदा बलात्कृत भएकी कल्पनााले त्याे रातको घटना सासु–ससुरालाई सुनाइन्। तर कसैले पत्याएनन् उनकाे कुरा। बरू, उल्टै कसकाे ‘पेट बाेकिस्’ भन्दै हपार्न थाले। घरबाट निस्के भनेर रातदिन गाली गर्थेर

कल्पनाले गर्भपतन गराउने साेच बनाएकी थिइन्। तर सासुले उनलाई गाली गर्दै भनेकी थिइन्, ‘जसकाे भुँडी बाेकेकाे छस् उसैकाे घर जा। मेराे घरमा बस्नु पर्दैन।’ विदेशमा भएकाे छाेरालाई कुरा लगाइदिने धम्की दिँदै सासुले थपिन्, ‘तैले याे बच्चा फ्यालिस् भनेपनि मेरो छोराले स्वीकार्दैन।’ 

सासुले अस्पतालबाटै घरबाट निकालेपछि एक्लिएकी थिइन् कल्पना। त्यसपछि उनले बच्चालाई जन्माउने याेजना बनाइन्। तिनै बच्चालाई उनले बुढेसकालको साहारा बनाउने लक्ष्य लिइन्। 

त्यही साेचले कल्पनालाई आफूले कहिल्यै प्रेम नपाएकाे घरलाई त्याग्ने हिम्मत दियाे।

‘उहाँहरू घर जानुभयो तर मलाई लैजानुभएन। त्यसैले म पनि घर गइनँ’, त्याे दिनपछि कल्पना अस्पतालकाे महिला आश्रय घरमा बस्न थालिन्। तर उनकाे मनमा डर थियाे, बिरामी छाेराकाे।

‘मेरो छोरा बिरामी थियो। ऊसँग भेट्न पाइनँ। उसकाे धेरै माया लागेकाे थियाे तर के गर्नु मायामात्र सबथाेक हाेइन रहिछ’, उनी भन्छिन्, ‘त्यो दिनदेखि म घर गइनँ। लुगाफाटा पनि लिन पाइनँ र श्रीमानसँग सम्पर्क पनि गरिनँ।’

महिला आश्रममा बस्न थालेको केही दिनपछि कल्पनालाई दाइले माइतीघर गोरखा लगे। त्यहीँ एक वर्ष बिताएकी कल्पनाले छाेरालाई जन्म दिइन्। तर कहिले उनले माइतमा विवाहअघि जस्तो माया पाइनन्। 

‘विवाह गरिसकेपछि माइतीघर पनि आफ्नो नहुँदो रहिछ। म पाहुना जस्तै भएकी थिएँ, कत्ति गाली खाएँ तर छाेराकाे लागि सहेर बसें’, उनले दुखेसाे सुनाइन्।

विवाहअघि दाइकी प्यारी बहिनी थिइन् कल्पना। तर माइमा बस्न थालेपछि उनै दाइकाे लागि बाेझ भइन्। उनकाे छाेरा देखेर सधैं तर्किरहे दाजु। कहिल्यै भान्जा भनेर सम्बाेधन गरेनन्। 

छाेराले छाेरीलाई गरेकाे अपहेलनाकाे कारण दु:खी थिइन् आमा। उनले छाेरालाई कयाैंपटक सम्झाउने काेसिस गरिन् तर आमाकाे कुरा कहिल्यै सुनेनन् छाेराले। बहिनीकाे साथ दिएकाे भन्दै आमासँग पनि रिसाउन थालेका थिए कल्पनाका दाइ।

कल्पनाकाे कारण दिनरात घरमा झगडा हुन थालिसकेकाे थियाे। त्यहीकारण आमाले कल्पनालाई काठमाडाैं पठाइन्।

गोरखाबाट काठमाडौं आउनेबेला उनलाई आमाले हातमा गाडी भाडा थमाउँदै भनेकी थिइन्, ‘छोरालाई उतै हुर्काउनू। माइतमा तैले दु:ख मात्र पाइस्।’

काठमाडाैं आएपछि दिदीकाे घरमा बस्न थालिन् कल्पना। तर सधैं विवाहित दिदीकाे घरमा बस्न कहाँ सकिन्थ्याे र? त्यहाँ बसेकाे चार–पाँच दिनपछि उनले गाेंगबुकाे एक वृद्धाश्रममा काम पाइन्।

अहिले त्यही वृद्धाश्रममा काम गरेकाे उनले २ वर्ष भइसकेकाे छ। छाेरा पनि तीन वर्षका भए। आश्रमका बाआमाकाे स्नेहले पुलपुलिएका छन् छाेरा। कसैकाे मायाकाे कमी छैन। तरपनि उनकाे मनमा एउटा डर उब्जिएकाे छ, छाेराले बुबाकाे नाम साेध्ने हाेकि!

छोराको साहारामा बाँचिरहेकी कल्पना भन्छिन्, ‘छाेराले ठुलाे भएर बुबा खाेज्याे भने मर्‍याे भनिदिन्छु तर सत्य कुरा भन्दिनँ। बलात्कारकाे कारण ऊ जन्मिएको भनेर म कसरी भन्न सक्छु र!’ 

त्यो एक रातकाे कारण कल्पना जीवन नै बदलियाे। उनले जीवनसाथी मात्र हाेइन आफन्तहरूलाई पनि गुमाइन्। त्यही कारण कल्पना आफूलाई बलात्कार गरेका ती व्यक्तिलाई भेट्टाए कडा सजाय दिलाउन चाहन्छिन् तर छोरालाई आफूसँगै राख्ने बताउँछिन्। उनी भन्छिन्, ‘छोराबिना म बाँच्नै सक्दिनँ।’

छाेराकाे लागि बाँचिरहेकी कल्पना अब छोराकै भविष्यका लागि अगाडि ढ्दैछिन्।

प्रकाशित मिति: : 2024-05-19 09:40:00

प्रतिकृया दिनुहोस्