प्रेमीकालाई ‘आँखा झिम्क्याए’पछि प्रहरी जवानकाे हत्या (भिडियाेसहित)

गत बिहीबार रातकाे ८ बजे  ‘ड्यूटी’ सक्काएर ट्राफिक प्रहरी जवान युवराज घिमिरे घर जानुअघि एक होटलमा छिरे।

रातकाे ९ बजे तारर्केश्वर–११ को एक सानाे होटलमा खाजा खान पसेका उनकाे भेट सचिन परियार र अन्जली श्रेष्ठसँग भयो।  

सचिनसँग उनकाे पुरानै चिनजान थियो। तीनै जनाले एउटै टेबलमा बसेर नास्ता गरे। खाजा खाँदै घिमिरेले सचिनकी प्रेमीका अन्जलीलाई जिस्काउन थाले। सचिनकै अगाडि ‘आँखा झिम्काए’। 

आफूसँग ‘लिभ इन टुगेदर’मा रहेकी प्रेमीकालाई जिस्काउँदा चिढिएका सचिन रिसले चुर भइसकेका थिए। तर त्याेबेला उनले आफ्नाे रिस भित्रभित्रै दबाए। घिमिरेलाई केही भनेनन्।  

बरु, उल्टै अन्जलीलाई सन्चो नभएको बहाना बनाउँदै आफूहरू बसिरहेको ठाउँसम्म पुर्‍याइदिन अनुरोध गरे। 

सचिनकाे कुरालाई मानेर तीनै जना मोटरसाइकलमा बसेर मनमैजुको बासुकी नाग टोलस्थित जोनस भन्ने दामोदर खत्रीको २ तले निर्माणाधीन घर नजिकै पुगे। त्यहाँ पुग्नसाथ सचिनले युवराजलाई बाइक राेक्न लगाए। त्यसपछि आफ्नो साथीहरूलाई बोलाउँदै सचिनले युवराजलाई हेल्मेटले प्रहार गर्न थाले। 

सचिनको आवाज सुनेर विपना कार्की, नुनमाया कार्की, बुद्ध लामा, अमृत तामाङ र एक नाबालक घटनास्थलमा पुगे। अनि सातै जनाले पालैपालो नक, रड, ईट्टा र ढुङ्गाले प्रहार गरेर युवराजको हत्या गरिदिए। अहिलेसम्म उनीहरू एउटै समूहका ‘साथी’हरू रहेकाे पाइएकाे छ।

जवानकाे हत्या गरिसकेपछि उनीहरूले युवराजकाे सबै कपडा खोलेर आगो बालेर जलाइदिए। तर उनकाे पर्समा भएकाे २ हजार रुपैयाँ भने उनीहरूले आफैंसँग राखे। अनि युवराजकाे शवलाई भने निर्माणाधीन घरकाे भुइँ तल्लामा म्याट्रेसले छाेपेर फ्यालिदिए।

प्रहरी जवानको हत्या गरेपछि सातै जना राति नै जरंखुमा पुगे अनि त्यहींको एउटा घरको बार्दलीमा सुते। 

युवराजको हत्याको भोलिपल्ट शुक्रबार,

प्रहरी कन्ट्रोल रुममा अपरिचित पुरुषको शव फेला परेको भन्ने खबर आउँछ। साेही सूचना पाउनसाथ जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयको टोली घटनास्थल पुग्याे।

म्याट्रेसले ढाकिएको अवस्थामा खोटाङ मजुवागढी–१ का बासिन्दा, हाल टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने ट्राफिक प्रहरी प्रभाव दरबारमार्ग कार्यरत युवराजकाे शव थियाे, त्याे। 

शरीरका विभिन्न अंगमा चाेट देखिएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढायो।

शव भेटिएकाे घर नजिकैकाे कामदारहरूसँग साेधपुछ गर्‍याे। सीसीटिभी फुटेजबाट उनीहरूकाे पहिचान खुल्याे। जवानकाे हत्या गरेर फरार रहेका सात जनाकाे खाेजी गरिरहेकाे थियाे प्रहरी टाेली।  

शनिबार प्रहरीले सुरुमा १३ वर्षीय बालकलाई फेला पार्‍याे। उनले दिएकाे ‘क्लू’अनुसार नै प्रहरीकाे टाेलीले उनीहरूलाई शुक्रबार अस्ट नारायण हल पछाडि, २२ धारा जङगलबाट भाग्न लाग्दा १ राउण्ड हवाई फायर गरी समातिएको थियो। 

घटनाका मुख्य नायक सचिन यसअघि पनि पक्राउ परिसकेका छन्। यसअघि उनीविरूद्ध चोरी र अभद्र व्यवहार कसुरमा मुद्दा चलाइएकाे काठमाडाैं परिसरका एसएसपी बसन्त रजौरेले बताए।  

सचिन र घिमिरेकाे दाेस्ती पुरानै देखिन्छ तर उनीहरूकाे मित्रता कसरी भएको थियाे भन्ने पनि खुलेकाे छैन।

सात जना मिलेर युवराजको हत्या किन गरिएको भनेर अहिलेसम्म धेरै कारणहरू खुलेका छैनन्। तर प्रेमीकालाई जिस्काएको कारण र लुटपाटको उद्देश्यले हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।  

घिमिरे मारिएकाे त्याे एकान्त र सुनसान ठाउँ लागुऔषध प्रयाेगकर्ताहरूकाे ‘अड्डा’ नै मानिन्छ। समातिएका सचिनहरू पनि दुर्व्यसनी हुनेसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर हालसम्म यकीन भएको छैन। 

याेजनाका साथ युवराजकाे हत्या गरेका सातै जनामाथि अहिले कर्तव्‍य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रहरी जवानको हत्यामा संलग्न एक नाबालकसहित ७ जना सार्वजनिक

प्रकाशित मिति: : 2024-05-19 19:35:00

प्रतिकृया दिनुहोस्