कैलालीका दीपेन्द्र (नाम परिवर्तन) भारत जान्छु भन्दै गत फागुन–६ गते घरबाट निस्किए। १२ वर्षका उनी गाउँकै एकजना साथीसँग जंगलको बाटो हुँदै भारत जाँदै थिए। तर बाटाेमै प्रहरीले भेटायाे।
भारत जान खोजेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली पुर्याइयाे। स्कुल पढ्दै गरेका दीपेन्द्र जंगलमा फेला परेपछि प्रहरीले सरकारी संस्था ‘बाल हेल्पलाइन–१०९८’ लाई खबर गर्याे।
उनकाे उद्धारका लागि बाल हेल्पलाइन–१०९८ ले वडाअध्यक्ष र वडा चौकीसँग समन्वय गरेर परिवारको खोजी कार्य सुरु गर्याे। र, दुई दिनपछि संस्थाले दीपेन्द्रकाे परिवारसँग पुन: मिलन गरायाे।
दीपेन्द्र त एउटा उदाहरण मात्रै हुन्। उनीजस्ता लाखाैं बालबालिकाहरूकाे उद्दार ‘बाल हेल्पलाइन–१०९८’ ले गर्दैआइरहेको छ।
सिविन नेपालकाे नेतृत्वमा सन् १९९८ सालमा स्थापना भएकाे संस्थाले हालसम्म डेढ लाख बालबालिकाहरूलाई उद्दार गरिसकेकाे छ। जसमा घर छोडेर भागेका, अलपत्र परेका बालकालिका अनि श्रममा लगाइएकादेखि याैन शाेषणमा परेका बालबालिकाहरू समेत छन्।
आजभन्दा केही दशकअघि देशमा सबैभन्दा जटिलताको विषय बनेको थियो बालश्रम। त्यतिखेर बालश्रमकाे संख्या २६ लाख थियाे।
त्याेबेला प्रशस्तै बालबालिकाहरू सडकमा भेटिन्थे। गैरकानुनी रूपमा बाल गृहमा राख्ने अनि अनाथ बनाउने गरिन्थ्यो। र, विदेशीको धर्म पुत्रापुत्री बनाउने सपना देखाउँदै अवैध बाटोबाट बालबालिकाहरूलाई देशबाहिर लैजाने गरिन्थ्यो।
नेपालमा बालबालिकाहरूकाे बिगबिगी बढ्दै गयाे। त्यसपछि सिविनकाे सहकार्यमा सरकारले बाल हेल्पलाइन–१०९८ काे सुरुआत गर्यो।
त्यसपश्चात बालबालिकाहरूकाे जाेखिम पनि घट्दै गयाे। पछिल्लाेपटक तथ्याङ्कअनुसार अहिले ११ लाख बालबालिकाहरू श्रममा छन्।
र, अहिले तिनै बालबालिकाहरूकाे अधिकारका लागि वकालत गरिरहेकाे संस्थाका प्रबन्धक सागर भण्डारी बताउँछन्।
विगतकाे तुलनामा अहिले बालबालिकाकाे क्षेत्रमा केही सकारात्क भएपनि समस्या उस्तै रहेकाे उनकाे भनाइ छ।
भण्डारीका अनुसार बालबालिका हराउने संख्या बढीरहेकाे छ। उनीहरूकाे हराउनु भनेकै जाेखिममा रहेकाे उनकाे बुझाइ छ।
‘घरबाट बालबालिका हराउनु भनेको कुनै जोखिममा पर्नु हो। हराएका उनीहरू बालश्रम, बालविवाह, बेचबिखन र कुलतमा फस्न सक्छन्’, बिएल नेपाली सेवालाई उनले बताए।
नेपालभर १८ वटा बाल हेल्पलाइनहरू छन्। जसले तिनै जाेखिममा परेका बालबालिकाहरूकाे उद्दारका साथै सहयाेग गरिरहेकाे छ।
चन्द्रागिरी नगरपालिका–१५ मा रहेकाे बाल हेल्पलाइन–१०९८ मा दिनकै सयभन्दा बढी बालबालिकाहरूकाे समस्याबारे फाेन आउने गरेकाे छ। साेही समस्याअनुसार नै संस्थाले उनीहरूकाे उद्दार कार्य पनि गरिरहेकाे सागरले बताए।
जाेखिममा परेका बालबालिकाहरूकाे उद्दार मात्र हाेइन संस्थाले उनीहरूलाई नयाँ जीवन पनि दिइरहेकाे छ। जाेखिम परिस्थितीबाट उद्दार गरिएका बालबालिकालाई संस्थाले परिवारसँग पुनःमिलन पनि गराइरहेकाे छ।
अहिलेसम्म २० हजार बालबालिकाहरूलाई बाल हेल्पलाइनले घर पठाइसकेकाे उनकाे भनाइ छ। ‘हाम्रो पहिलो प्राथमिकता भनेकै परिवारसँग भेट गराउनु हो’, उनले सुनाए।
घर–परिवारसँग पीडित भएका बालबालिकालाई भने बाल हेल्पलाइनले उनीहरूसँग सम्बन्धित रहेकाे संस्थाहरूमा पठाएर उनीहरूकाे पुनःस्थापना गर्छ।
‘कहीकाहीं बालबालिकाहरू आफ्नै परिवारबाट पीडित हुन्छन् त्यस्ता बालबालिकालाई हामी संस्थामा रिफर गछौं’, उनी भन्छन्, ‘हामीले उद्धार गरेका बालबालिकाहरू आत्मनिर्भर नहुँदासम्म उनीहरूको स्याहार गरिरहेका हुन्छाैं।’
बाल हेल्पलाइने उद्दार गरेका बालबालिका१८ वर्ष नपुग्दासम्म संस्थाकाे निगरानीमा रहने उनले बताए।
त्यसैगरी संस्थाले बेचबिखनमा परेर परिवार र समाजकाे अपहेलना सहन बाध्य भएका बालबालिकाहरूकाे अधिकारकाे लागि पनि वकालत गरिरहेकाे छ।
र, उनीहरूलाई सम्मानका साथ बाँच्न पाउने हक दिलाइरहेकाे छ। त्याे अधिकार दिलाउनका लागि संस्थालाई महिनादेखि वर्ष दिनसम्म लाग्छ।
जोखिमपूर्ण जीन्दगी बिताइरहेका बालबालिकाहरूको उद्धारकार्य सहज छैन। तर कयौं बालबालिकाहरू बाल हेल्पलाइनले गरेको उद्धारकै कारण नयाँ जीवनको सुरुवात गरिरहेका छन्।
कस्ताे बालबालिकालाई जाेखिम भनिन्छ?
यदी कुनैपनि बालबालिका आफूले पाउनेपर्ने अधिकारबाट वञ्चित भएका छन् भने त्यस्ता बालबालिकालाई जाेखिमपूर्ण भनिन्छ।
बालकभन्दा धेरै बालिकाहरू जाेखिममा परिरहेका छन्। उनका अनुसार बालिकाहरू आमाको गर्भमा हुँदादेखि नै जाेखिमकाे सिकार बन्छन्।
‘अहिलेपनि मानिसहरूले गर्भमा छोरी छन् भनेर थाहा पाएर भ्रुण हत्या गर्छन्। राम्रोसँग स्याहार गर्दैनन् र सुत्केरी आमालाई पनि हेला गर्छन्। त्यहीबाट उनीहरू जोखिममा पर्न थाल्छन्’,उनले भने, ‘गर्भमा मात्र हाेइन बालिकाहरूठुलो भएपछि पनि यौन शोषणको सिकार बन्छन्।’
बालबालिकाहरू आफ्नै परिवारसँग पनि सुरक्षित छैनन्। आमा वा बुबाले दाेस्राे विवाह गर्दा उनीहरू हेलामा पर्छन् अनि यातना भाेग्न बाध्य हुन्छन्।
कतिपय बालिकाहरू आफ्नाे साैतेलाे बुबाबाट पनि याैन शाेषणमा परिरहेका छन। तर खुलेर बाेल्न सक्दैनन्। त्यहीकारण पनि बालबालिकाहरूकाे जाेखिम बढिरहेकाे छ।
बालबालिकाहरू प्रायः आफ्नै विश्वासिलो वा संरक्षकबाट नै यौन दुर्व्यवहारमा परिरहेकाे उनकाे भनाइ छ।
बालबालिकाहरू कतैपनि सुरक्षित नरहेकाे उनकाे दुखेसाे छ।
नेपालमा बालबालिकाकाे संरक्षणका लागि बाल गृह र हाेस्टेलहरू च्याउसरी उम्रिएका छन् तर बालबालिकाहरू सुरक्षित छैनन्। भण्डारीका अनुसार विद्यालयमा समेत बालबालिकाहरू पीडित छन्।
‘बाल गृह र होस्टेलहरूमा बालबालिकाहरू बलात्कृत भइरहेका छन्’, दुखेसाे पाेख्दै उनले भने, ‘स्कुलमा आफ्नै शिक्षकहरूबाट यातना भोग्न बाध्य छन्।’
उनीहरूले भाेगिरहेकाे समस्यालाई समाधान नगरे बालबालिकाहरूकाे भविष्य अन्धाकारमा डुब्ने उनकाे भनाइ छ। र, अहिले पछिल्लाे पटक अनलाइनकाे कारण बालबालिकाहरू जाेखिममा रहेकाे भण्डारीकाे बुझाइ छ।
उनका अनुसार सामाजिक सञ्जालमा भेटिएका अन्जान व्यक्तिसँग गरिने च्याटकाे कारण पनि बालिकाहरू शाेषणकाे सिकार भइरहेका छन्। त्यसैले बालबालिकाहरूलाई जाेखिमबाट बचाउनका लागि अनलाइनकाे पहुँचबाट टाढा राख्नुपर्ने प्रबन्धककाे सुझाव छ।