प्रतिष्ठानका अध्यापक/प्राध्यापककाे गुनासाे

‘स्थायित्व नहुँदा काम गर्ने वातावरण बनेन’

विगत ५ वर्षअघि कर्णाली आएका प्राध्यापक डा. शेषानन्द संजेल हालसम्म कर्णालीमै बसेर सेवा गरिरहेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वृद्धि विकासमा टेवा पुर्‍याइरहेका उनी लामाे समय बस्नलाई जागिरकाे स्थायित्व छैन। उच्च तहकाे जनशक्तिलाई टिकाई राख्न प्रतिष्ठानले अध्यापक/प्राध्यापकलाई स्थायित्व दिने विषयमा साेचेकाे छैन।

'कयौं भाैगाेलिक कठिनाइ हुँदाहुँदै पनि, स्रोत साधनको अभाव, दैनिक जीवनयापनका कठिनाइ र आपतकालीन अवस्थामा बेहाेर्नुपर्ने शारीरिक र मानसिक कठिनाइका बाबजुद पनि हामी कर्णालीमा छाैं,' उनले भने, 'कर्णालीलाई हिलाे छ्याप्न निर्माण गरिएका भाष्यहरुलाई बदल्ने संस्थामा काम गरिरहँदा गर्व लाग्छ। तर आफ्नै सेवा सुविधालाई हेर्दा भने मन अमिलाे हुन्छ।'

सह-प्राध्यापक डा. सन्दीप श्रेष्ठ र डा. कपिल अम्गाई पनि विगत पाँच वर्षदेखि नै प्रतिष्ठानमा रहेका कर्णालीका नागरिककाे सेवा गरिरहेका छन्। लामाे समय कर्णालीमा बस्दा कर्णालीकै मान्छे हाे जस्ताे भइसकेका उनीहरुलाई कर्णालीमै टिकाइराख्नु भनेकाे सेवाले दीर्घकालीन सुनिश्चितता हुनु हाे। सरकारले आफैँ साेचिदिनुपर्ने ठाउँमा उनीहरु नै सरकारलाई साेचिदेऊ भन्ने स्थितिमा पुगेका छन्।

विगतका दिनहरुमा डाक्टर देख्न नपाउने कर्णालीमा नागरिकले राेजेर सेवा लिन सक्ने गरी डाक्टरकाे उपलब्धता छ। तर उनीहरु लामाे समय कर्णालीमै बस्ने प्रभावकारी संयन्त्र भएन भने विगतकै स्थितिमा नपुगिएला भन्न सकिँदैन।

सरकारले नै दुर्गममा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीकाे सेवाकाे सुनिश्चितता गरिदिनुपर्ने ठाउँमा आफैँ गरिदेऊ भन्नुपर्ने स्थिति आएकाे सह- प्राध्यापक डा. सन्दिप श्रेष्ठले बताए।

'दक्षिण एसियामा नै अति विकट मानिने कर्णालीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिंगो नेपाललाई नै विश्वसामु परिचित गराइरहेकाे छ,' उनले भने, 'तर याे संस्थामा काम गर्नेलाई स्थायित्व दिने विषयमा सरकार माैन छ।'

त्यसैले लामाे समयदेखि प्रतिष्ठानलाई आफ्नाे कर्मथलाे बनाएका अध्यापक र प्राध्यापकहरुले प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत सेवाकाे स्थायित्वकाे लागि ज्ञापनपत्र बुझाएका छन्।

हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीपीएत र बीएमएसको पाचौं ब्याच, बी फर्का, बीएनए र एमबीबीएसकाे तथा एमडी/एमएसकाे तेश्रो ब्याच गरेर विभिन्न संकायमा सफलतापूर्ण कक्षा सञ्चालनका भइरहेका छन्। यी सबै कक्षाहरुमा अधिकांश अस्थाइ र करार अध्यापक तथा प्राध्यापकहरुले पढाइरहेकाे सह-प्राध्यापक डा. कपिल अम्गाईले बताए।

'हामीले साथसाथै अस्पतालको जिम्मेवारीसमेत निभाइरहेका छौं। केन्द्र सत्तादेखि दुर्गम ठाउँप्रति आफ्नो सामाजिक दायित्व मनन गरिरहेका छाैं,' उनले भने, 'राज्यले हामीलाई उत्प्रेरित गरेर आगामी दिनमा कर्णालीमा सेवा गर्न आफैँ उत्साहित पाराेस् भन्ने चाहन्छौं।'

प्रतिष्ठानमा कार्यरत अध्यापक/प्राध्यापकहरु, जसले यस प्रतिष्ठानलाई विश्वस्तरीय नमुना प्रतिष्ठानको रूपमा लान सक्ने अठाेट भएपनि सक्षम र कर्तव्यपरायण अध्यापक/प्राध्यापकहरुले ज्यालादार कामदारको सरह करारमा कार्य गराई निरुत्साहित गरिरहकाे बताएका छन्।

काम गर्न थालेकाे ६, ७ वर्ष बितिसक्दा समेत स्थाई गराउने प्रक्रिया अघि नबढाउदा सम्पूर्ण अध्यापक/प्राध्यापकहरु मर्माहित भएकाे उपप्राध्यापक सुष्मा काफ्लेले बताइन्। 

हालसम्म स्कुल अफ मेडिसिनकाे बेसिक साइन्समा एकजना पनि स्थायी नभएकाे, क्लिनिक साइन्समा १० जना अस्थायी रहेकाे, स्कुल अफ फार्मेसी र स्कुल अफ पब्लिक हेल्थतर्फ शून्य तथा स्कुल अफ नर्सिङतर्फ र पदाधिकारीसमेत गरेर १५ जना अध्यापक/प्राध्यापकसम्म पनि स्थायी नरहेको कुरा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीलाई जानकारी गराइएकाे फरेन्सिक विशेषज्ञ डा. अपुर्व आचार्यले बताए।

२०७२/७३ पछि हालसम्म अध्यापक/प्राध्यापकहरुलाई स्थायी गरिएकाे छैन। भविष्यको अनिश्चितताले एक वर्षको अन्तरालमा करिब ३० जनाले राजीनामा दिएका छन्। 

प्रकाशित मिति: : 2023-06-23 12:50:00

प्रतिकृया दिनुहोस्