अमेरिकाले इरानका भूमिगत र अरु केही महत्वपूर्ण आणविक प्रशोधन केन्द्रहरूमा आक्रमण गरेपछि अब इजरायल-इरान युद्धले कस्तो गति र दिशा तय गर्ला भन्ने तर्क अनि अनुमानहरू हुन थालेका छन्।
यद्यपि इजरायल-इरानको यो युद्धमा सामेल भएर अमेरिका के चाहन्छ भन्ने ट्रम्पले प्रस्ट पारिसकेका छैनन्। उनले पहिला कम्तीमा दुई सातासम्म इरानमाथि आक्रमण गर्ने वा नगर्नेबारे केही निर्णय नगर्ने बताएका थिए। त्यसको दुई दिनमै उनले इरानको फोर्दो पहाडमुनि रहेको विशाल भूमिगत आणविक भट्टीमा म्यासिव अन्डर्नेन्स पेनट्रेटर बम (१३ हजार ६०० किलोग्राम बराबर) हान्न अनुमति दिए।
आक्रमणपछि ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्दै इरानका परमाणु केन्द्रमाथि ब्यापक र सफल आक्रमण गरिएको दाबी गरे। यो आक्रमणबाट कति क्षति भयो भन्नेबारे अहिले नै केही अनुमान लगाउन सकिन्न। अमेरिकी आक्रमणको सम्भावना बढेपछि इरानले त्यहाँका परमाणु सामग्री अन्यत्रै सारिसकेको भन्ने समाचारहरू पनि आएका छन्। तर यसको कुनै पुष्टी छैन।
ट्रम्पको सम्बोधन पछि उपराष्ट्रपति जेडी भान्सले अमेरिकाको उद्देश्य इरानको सत्तासँग नभएर त्यहाँको परमाणु परियोजनाहरू नष्ट गर्नुमात्रै रहेको बताएका थिए। तर ट्रम्पले सामाजिक सञ्जालमा त्यसबारे लेख्दै भनेका छन् ‘राजनीतिक हिसाबमा सत्ता परिवर्तन भन्नु त्यति राम्रो मानिदैंन। तर अहिलेको सरकारले इरानका लागि केही गर्न सक्दैन भने सत्ता परिवर्तन किन नगर्ने? मेक इरान ग्रेट अगेन…।’
अमेरिकाले जे चाहोस्, अब धेरैको चासो इरानले के गर्ला भन्ने हो। अबको युद्धमा इरानले कस्तो रणनीति लिन सक्छ वा यो युद्ध अन्त्य र थप चर्काउनका लागि उसँग कस्ता बिकल्प होलान्?
अमेरिकी आक्रमणलगत्तै आक्रोशित र आक्रामक देखिएको इरानले लगागतार इजरायलमाथि मिसाइल बर्षाइरहेको छ। इजरायले पनि त्यसको जवाफ दिइरहेको छ।
यसअघि नै इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनेईले अमेरिका यो युद्धमा संलग्न भएमा उसका सैन्य बेस क्याम्पहरूमा इरानले आक्रमण गर्नसक्ने चेतावनी दिएका थिए। तर अमेरिकी आक्रमणपछि उनको आधिकारिक धारणा आइसकेको छैन। बरु इरानी अधिकारीहरूले त्यसबारे पटक पटक प्रतिक्रियाहरू दिइरहेका छन्।
इरानका इस्लामिक रिभोल्यूसनरी गार्ड कोर (आइआरजिसी)का प्रवक्ता इब्राहिम जोल्फगरीले अमेरिका अब सिधै यो युद्धमा प्रवेश गरिसकेको र इरानको ‘पवित्र भूमि’मा टेक्ने प्रयास गरेको बताएका छन्।
एक चेतावनीयुक्त भिडिओ सार्वजनिक गर्दै प्रवक्ता इब्राहिमले अमेरिकाले अकल्पनीय, अप्रत्याशित र ठूलै परिणाम भोग्नु’पर्ने धम्की दिएका छन्।
अँग्रेजी भाषामा बोल्दै उनले सिधै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम लिएका छन्।
‘ग्याम्बलर मिस्टर ट्रम्प, तिमीले यो युद्ध सुर गर्न सक्छौ। तर त्यसको अन्त्य हामी(इरान)ले मात्रै गर्नेछौं’ उनले भनेका छन्।
इरानले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका अमेरिकी सैनिक बेस क्याम्पहरूमा आक्रमण गर्ने पहिलो सम्भावना हो। खाडीका सामुद्रिक मार्गहरूमा धेरै नौसैनिक बेस क्याम्पहरू छन्। जसको सूची इरानले तयार पारिसकेको छ। खासगरी इराक, बहराइन, कतार, यूएई, साउदी अरब, कुबेत, जोर्डन तथा सिरियाजस्ता राष्ट्रहरूमा अमेरिकी सैन्य अड्डाहरू छन्। यी सबै इरानको ब्ल्यास्टिक मिसाइलको रेन्जमै पर्छन्।
यसअघि इरानका शीर्ष कमाण्डर कसिम सुलेमानीको हत्याको हत्याको बदला लिन यसअघि इराकस्थित अमेरिकी सैन्य बेस क्याम्पमा आक्रमण गरेको थियो। त्यो बेला पनि सुलेमानीको हत्या आदेश ट्रम्पले नै दिएका थिए।
त्यस्तै अर्को विकल्प भनेको उसले विश्व इन्धन आपूर्तिको एउटा सामुद्रिक बाटो बन्द गर्नसक्छ। होर्मुज स्ट्रेट भनेको एउटा साँघुरो सामुद्रिक बाटो हो। जहाँबाट विश्वबजारभरि इन्धनको आपूर्ति हुन्छ। र यसमा इरानको पहुँच छ। जसलाई उसले रोकिदिनसक्छ। इरानले तेल आयात-निर्यातको सबैभन्दा महत्वपूर्ण सामुद्रिक बाटो बन्द गर्ने निर्णय गरेको छ। त्यो सम्झौता खारेज गर्ने निर्णयलाई इरानको संसदले अनुमोदन गरिसकेको छ।
अरब र ओमन खाडीबीचको रणनीतिक रुपमा महत्वपुर्ण तेलमार्ग हो होर्मुजसमुन्द्री मार्ग क्षेत्र। जो विश्वको तेलमार्गको सेतुका रुपमा चिनिन्छ। करिव ४० किमी लामो होर्मुजसमुन्द्री तेल मार्ग तरल प्राकृतिक ग्यास ओसारपसार गर्ने महासागरको बाटो हो। यो मार्गमा अहिले कुनै पनि ढुवानी नगर्ने इरानले चेतावनी दिइसकेको छ।
त्यस्तै अर्को भनेको इरानले अब फेरि ‘प्रोक्सी वार’ सुरु गर्नसक्छ। त्यो भनेको इराक, प्यालेस्टाइन अनि यमनलगायत देशमा रहेका सशस्त्र विद्रोही समूहहरू हुन्। प्रोक्सी वार भनेको सिधै आफू नलडेर तेस्रो पक्षलाई त्यसमा सामेल गराउनु हो। यसअघि देखि नै यी समूहहरूले इस्लामिक राष्ट्रको ‘रक्षा’का लागि भन्दै इजरायलसँग दुश्मनी मोलिसकेका छन्। यी सबै समूहहरूमाथि इजरायलले पनि आक्रमण गर्दै आएको छ। हमाससँग उसको घोषित युद्ध जारी नै छ।
यसबाहेक अहिलेका लागि उसले अमेरिकालाई नचलाउन पनि सक्छ। कुटनीतिक बाटो अपनाउँदै उसले यसको समाधान पनि खोज्नसक्छ र वार्तामा सामेल हुनसक्छ। अमेरिकाले चाहेको एउटा कुरा त यो पनि हो।