नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको हो।
३ मृतकमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका १ पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको रहेकाे उनले बताए।
टोखाकी ती महिलालाई साउन १८ गते काेराेना संक्रमण पुष्टि भएको थियो। पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी रहेकी ती महिला आईसीयूमा उपचाररत थिइन्। उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको हो।
कोरोनाबाटै पर्सा वीरगन्ज महानगरपालिका ३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको पनि मृत्यु भएकाे छ। मधुमेह तथा दमका रोगकाे समस्या रहेकाे उनकाे साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जमा निधन भएको मन्त्रालयले जनाएको छ। ती पुरुषमा मृत्युपछि लिइएको स्वाब नमुनाको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो।
यस्तै, मोरङ विराटनगर ९ बस्ने ५८ वर्षीय पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको थियो। उनी उच्च रक्तचापका रोगी थिए।
शुक्रबार पनि कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको थियाे। मृत्यु हुनेमा पर्साका तीन जना, सर्लाही र सिरहाका एक-एक जना रहेका थिए।