लाम्चो अनुहार, गोला गाजलु आँखा, चुच्चे नाक, फरासिलो बोली, हक्की स्वभाव, अग्लो कद प्रतिभा शाहीका चिनारी हुन्। जम्मा ३० वर्षकी उनी सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी अर्थात् ‘सिम्पल’ ब्रान्डकी संचालक हुन्। जसका कारण सानै उमेरमा उनले फराकिलो व्यवसायिक परिचय निर्माण गर्न सकेकी छन्।
औसत आम्दानी हुने घरपरिवारमा जन्मेकी प्रतिभाले जनज्योति मा.वि. बारकोटेबाडाबाट २०६६ सालमा एसएलसी दिएकी थिइन्। परीक्षाको नतिजा आउनुभन्दा पहिला उनी कम्प्युटरसम्बन्धी तालिम लिन सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजीमा भर्ना भएकी थिइन्। तालिम सिकाउने इनिस्टिच्युटका मालिक अथवा गुरु थिए, हिमा गाउँपालिका- १ बड्कीका हर्श शाही।
कम्प्युटर पढ्दै र पढाउँदै नजिकिएका प्रतिभा र हर्शले परिवारको सहमतिमा विवाह गरे। त्यतिबेला प्रतिभाले दिएको एसएलसी परीक्षाको नतिजा आइसकेको थियो। उनी पास भइन्।
भर्खरै सुरुवात गरेको नयाँ जिन्दगानीमा खुसीका बहारहरु थपिँदै थिए। कम्प्युटर तालिम भने आधा सिकिएको थियो। श्रीमानले भारतबाट आइटी पढेर आएका थिए। त्यसैले उनलाई कम्प्युटरका र आइटीका धेरै कुरा थाहा थियो। कम्प्युटर, फोटोकपी मेसिन, सफ्टवेयर आदिमा आउने समस्याहरु उनी सजिलै समाधान गर्थे। प्रतिभाले श्रीमानबाट कम्प्युटर र सफ्टवेयरका ज्ञान सिक्दै गइन्।
कम्प्युटर तालिमसहित सबै प्रकारका इलेक्ट्रोनिक सेवा दिइरहेका हर्श आफूले भने लोक सेवा आयोगको परीक्षा दिएका थिए। नासु तहको परीक्षा धनकुटाबाट पास गरे भने खडदार तहको परीक्षा जुम्ला जिल्लाबाट पास गरे। एक तह घटेर भएपनि जुम्लामै काम गर्ने घर सल्लाह भयो।
‘त्यसबेला जुम्लामा हाम्रोजस्ताे व्यवसाय अरुका थिएनन्। व्यापार साह्रै राम्रो थियो। त्यसैले छोड्न सकिने स्थिति थिएन,’ प्रतिभाले भनिन्, ‘उहाँ सरकारी जागिरे भएपछि उहाँको नाममा भएकाे फर्म मेरो नाममा भयो। व्यापार मैले धान्नुपर्ने भयो। त्यसमाथि मैले धेरै काम सिकेकी पनि थिइनँ।’
प्रतिभा आफ्नो पढाइलाई कुनै पनि हालतमा रोक्न चाहँदैन थिइन्। पढाइकै लागि जिल्ला छोडौँ भन्दा व्यापार चौपट हुन्थ्यो। अपार भनेर सुरु गरिएको व्यापार अलपत्र पार्नु थिएन। त्यसैले उनले पढाइ सँग-सँगै व्यापार गर्ने सोचिन्। बिहान साँझ श्रीमान् सघाउँथे, दिनभरि उनी आफैँ लाग्थिन्। प्रतिभा काम सिक्दै गइन्। सहज हुँदै गयो।
स्कुले जीवनमा उनी बोल्नमा साह्रै सिपालु थिइन्। स्कुलमा हुने प्राय: कार्यक्रम र जिल्लामा हुने राजनीतिक कार्यक्रमको उद्घोषणसमेत गर्थिन्। उनी व्यापारमा व्यस्त हुन थालेपछि उद्घोषण छुट्यो। तर, उनले पढाइ छुटाउन चाहिनन्। पढाइलाई निरन्तर अगाडि बढाउँदै गइन्। हाल उनले जुम्लामै बसेर व्यस्त व्यवसायिक जीवन छिचोल्दै स्तातकोत्तर तहसम्मको पढाइसमेत पूरा गरेकी छन्।
उनलाई लाग्छ, ‘मैले सिकेको सीपअनुसार सरकारी कार्यालयको कम्प्युटर अप्रेटर हुन सक्थेँ हुँला। तर, व्यापारको व्यस्तताले जागिर खाने मेसो मिलेन। अहिले यसैमा मनलाग्दो स्वतन्त्रता छ। मस्तै सन्तुष्टि छ। यसैबाट स्थापित हुन सकिएको छ।’
बिहेपछि साबिकको कर्णालीमा सिम्पलले पहिलो पल्ट फ्लेक्स व्यानर प्रिन्ट गर्ने मेसिन ल्यायो। यसका लागि डिजाइन गर्ने काम प्रतिभा आफैँले गर्थिन्। फोटो बनाउने। किताब सेटिङ गर्ने, कम्प्युटर, ल्यापटप, फोटोकपी, प्रिन्ट मेसिनका सानातिना समस्या उनी आफैँ समाधान गर्न सक्ने भइन्। महिलाहरुले सितिमिति नगर्ने काम प्रतिभा गरिरहेकी छन्। सानैदेखि हक्की स्वभाव प्रदर्शन गर्ने उनले यी काममा आफूलाई अब्बल सावित गरिन्।
बिहे गरेर आएदेखि व्यापारबाट पछाडि फर्किन नपरेको प्रतिभाको अनुभूति छ। कारोबारको दायरा बढ्दै जाँदा हरेक वर्ष केही न केही उपलब्धी भइरहेको उनले बताइन्। ‘आम्दानी राम्रो छ। व्यापार सोचेजस्तो छ,’ उनले भनिन्, ‘हाम्रो सरले पनि मलाई भरपुर साथ दिइरहनु भएको छ। त्यसैले पनि ठुला-ठुला आँट गर्न सकिएको छ।’
उनले निरन्तर व्यापार गरिरहेको बेला देशमा नयाँ संविधान निर्माण भयो। स्थानीय तहको संरचनामा व्यापक फेरबदल भयो। संविधानले स्थानीय तहलाई जनताको घर आगनको सरकार भनी परिभाषित गर्यो। अर्थात् सिंहदरबार गाउँगाउँमा पुगे। गाउँमा सिंहदरबार पुगिसक्दा पनि इन्टरनेट भने पुगेकै थिएन।
सरकारकबाट बीसौं करोडको अनुदान खाएर पनि इन्टरनेट सेवा प्रदायक संस्थाले कर्णालीका विकट बस्तीमा इन्टरनेट नपुगाएपछि स्थानीय तहहरु संचारविहीन भइरहेका थिए। संचारको पहुँच नहुँदा स्थानीय तहहरुले प्रभावकारी सेवा दिन सकेका थिएनन्। स्थानीय सरकारका आफ्नै खाले समस्या थिए। जनगुनासा व्यापक थिए।
यस्ता गुनासाका पोका सिम्पलसम्म आइपुग्न थाले। त्यहीबेला घर सल्लाह भयो, अब जुम्लामा इन्टरनेट सेवा दिनुपर्छ भनेर। यो सोच हर्शको थियो। नाम रह्यो उहीँ चर्चित ब्रान्डको एक अंश अर्थात, ‘सिम्पल नेट‘। उनले नै सबै कानुनी प्रक्रिया पूरा गरे। सेवा प्रदायकको नाम भने प्रतिभाको थियो। जिल्लामा सबै प्रक्रिया उनले पूरा गरिन्। केन्द्रमा सबै प्रबन्ध हर्शले मिलाए।
अथाह प्राविधिक ज्ञान भएका हर्श सुरुमा सबै सिस्टम आफैँ कन्ट्रोल गर्थे। विस्तारै प्रतिभाले पनि सिक्दै गइन्। ‘उहाँबाट मैले थोरै सिक्दा पनि सबैतिरको व्यापार सम्हाल्न सक्ने भएकी छु। उहाँले सिकाएका कयौं विद्यार्थी लोकसेवा आयोगमा नाम निकाली सरकारी सेवामा छन्,’ प्रतिभाले भनिन्, ‘कतिले जुम्लामै व्यापार गरिरहेका छन्। मेरा हरेक समस्याको समाधान उहाँ हो। लाग्छ म उहाँबाटै सुरु भएँ। र त यो सफल व्यवसायिक जीवन धानिरहेकी छु।’
स्थानीय निकाय हुँदा जिल्ला विकास समितिका कर्मचारी हर्श स्थानीय तह हुँदा पातारासी गाउँपालिकाको आइटी हेरिरहेका छन्। स्थानीय तहको अत्यधिक बोझले उनलाई फुर्सद हुँदैन। त्यसैले सिम्पलको जटिल काम प्रतिभाले नै धानेकी छन्।
अहिले उनी प्रविधिमा पोख्त हुँदै गएकी छिन्। जुम्लाका गाउँ-गाउँमा पुगेको सिम्पलको नेट जुम्ला आउन सुर्खेतदेखि १० वटा ठाउँमा टावर निर्माण भएका छन्। लाइन सुधार गरेपछि पातारासी गाउँपालिका, गुठीचौर गाउँपालिका, चन्दननाथ नगरपालिका र तातोपानीमा फाइबर सेवा दिइरहेका छन् भने हिमा, सिंजा र कनका सुन्दरी गाउँपालिकामा वायरलेस सेवा दिइरहेका छन्।
सिम्पल नेटको सेवा पछि मात्रै वर्ल्ड लिंक र नेपाल टेलिकमको फाइबर नेट जुम्ला पुगेको हो। यी ठुला नेटवर्कहरु जुम्ला चाँडो आउनुमा सिम्पल नेटको ठुलो भूमिका छ। जुम्लामा एकल इन्टरनेट सुविधा दिइरहेको सिम्पलभन्दा वर्ल्ड लिंक र एनटी फाइबर धेरै अगाडि र सम्पन्न छन्। तथापि, प्रतिभालाई प्रतिस्पर्धी बजारमा सिम्पल नेट उत्रिन सक्नु पनि ठुलो उपलब्धी हो जस्तो लाग्छ। त्यसैले उनी चाहन्छिन् निरन्तर सेवा दिएर ग्राहकलाई सन्तुष्ट बनाइरने।
‘अहिले म सबै सिस्टम कन्ट्रोल गर्न सक्ने भएकी छु। कुन ग्राहकले नेट चलाइरहेको, नचलाइरहेको थाहा हुन्छ। कहाँ समस्या छ, थाहा पाउँछु,’ उनले भनिन्, ‘हाम्रा कुनै टावरहरुमा समस्या आयो भने तुरुन्तै समाधान गर्ने तरिका थाहा छ। त्यसैले पनि सिम्पल ब्रान्ड सबैतिर परिचित छ।’
ठुला इन्टरनेट सेवा प्रदायक संस्थासमेत पुग्न नसकेको समयमा सिम्पल नेट गाउँ-गाउँमा पुग्न सक्यो। करोडौंको लगानी गरेर गाउँ-गाउँमा सेवा पुगाउने प्रतिभाको कारोबारको दायरा कोरोना अगाडिसम्म वार्षिक रुपमा चानचुन डेढ करोड पुग्थ्यो। कोरोनापछि आधा घटेको छ। उनले हाल ६ जनालाई रोजगारी दिएकी छन् भने आफू एक्लै तीन चार जनाले गर्न सक्ने काम गर्छिन्।
सानै उमेरमा प्रतिभाले बोकेको भारी गरुङ्गाे छ। त्यसमाथि तीनवटा बच्चाकी आमा बनिसकेकी प्रतिभा यो देशको विभिन्न पेशा व्यवसायमा सक्रिय महिलाजस्तै साहसिक काम गरिरहेकी छिन्। आधा जिन्दगी बाँकी छँदै गर्दा उनले गरेको कामले आउँदा दिनमा कस्तो आकार लेला? हेर्न बाँकी नै छ।