पर्सामा कोरोना संक्रमणबाट १८ वर्षीया युवतीको मृत्यु

 पर्सामा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरीया नगरपालिका वडा नम्बर ९ बार्वास्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवती छन्।

सोमवार राति पटकपटक बान्ता हुन थालेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंजमा लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।

उनको शव नेशनल मेडिकल कलेजमै राखेर आकस्मिक स्वाब संकलन गरी मंगलवार नारायणी अस्पतालमा पठाइएको थियो। 

पिसीआर प्रयोगशालामा गरिएको परीक्षणको क्रममा साँझ किशोरीको रिपोर्ट पोजेटिभ आएको र निजको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए।

पोखरिया–८ जगतपुर घर भएकी उनी पोखरिया–९ स्थित मामा घरमा बस्दै आएकी थिइन्।

यो सँगै कोरोना संक्रमणबाट पर्सामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

प्रकाशित मिति: : 2020-08-05 08:15:25

प्रतिकृया दिनुहोस्