समय उही छ, परिस्थितिले प्रविधिको सहायतामा प्रशस्त प्रगति गरेको देखिन्छ। मानिसहरू मूर्त साक्षर भएका छन। विशिष्टिकृत मानिसले ठोस आर्थिक छलाङ मारेका छन। गाउँ/घरमा विकासका अश्रुग्यास छरिएका छन। लाभग्राहीहरू पिसाबको न्यानोमा समाजवादी ठट्टा गरिरहेछन। अछुरका चुस्की खोजेर नपाउनेहरू क्रान्तिकारी भाषणमा अहोरात्र खटिरहेका देखिन्छन। युवाहरू राजनीतिक कुशलता, बस्तुनिष्ठता, बैधता र स्पष्टताको खोजीमा देखिन्छन। महिलाहरू विभेद र हिंसाजन्य निर्मम गतिविधिका लागि लडिरहेका देखिन्छन र भनिरहेछन।
हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाउन त गाऊ
तर, यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ
हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहिर्याउँदै
तिमी भन्छौ– लेख्न त लेख
तर, यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ
हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ– हिँड्न त हिँड
तर, यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ।
-प्रतिबन्ध/कृष्ण सेन 'इच्छुक'
दलितहरू चिच्याइरहेर भनिरहेछन्- अनागरिक र जात व्यवस्थाको फोहोरी ऐना फुटाएर विभेदमुक्त समाजमा समतामूलकताको शृङ्गार गर्छौं। सँगै हुंकार छोडिरहेछन्-
ओ शासक, प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरंकुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारकाविरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ।
उठाइरहन्छौँ हामी तिम्राविरुद्ध संघर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्राविरुद्ध विद्रोहका मुठीहरू
ओ, अत्याचारका पहरेदारहरू !
अन्तिम जित हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ।
-प्रतिबन्ध/कृष्ण सेन 'इन्छुक'
जनजातिहरू भनिरहेछन, नश्लीयताले ओतप्रोत भएर बनाएको शब्दकोष च्यात र मूलबासीहरूको शाब्दिक अर्थ लेख।
झट्ट हेर्दा देशको ऐनामा विभेदका मिराजमय छाया र मुक्तिका स-साना क्लेसहरू देखिन्छन। परिस्थितिसँगै विभेदका प्रकृतिहरू परिवर्तन भएका छन। किन्तु मूलतः दलितहरू अमूर्त रूपमा जात व्यवस्थाको चंगुलमा चुर्लुम्म डुबेका देखिन्छन। चौक/चौक र चौताराहरूमा नेताहरू समाजवादी भाषण गर्नका लागि शब्द र वाक्य संरचना मिलाइरहेको देखिन्छ। किन्तु दलितहरू विवाह गरेको नाउँमा, धारा छोएको नाउँमा, घर भाडाको नाउँमा, घर/मन्दिर पसेको नाउँमा र प्रेम गरेको नाउँमा चरम विभेद र नरसंहारको सिकार हुन विवश छन। प्रत्येक दिन दलितहरूमाथि जघन्य विभेदका घटनाहरू हुन्छन। सरकार चुप बस्छ। शासकहरू वास्ता गर्न र माफी माग्न त टाढाको कुरा सिधा–सिधा हस्तक्षेप गर्न लाग्छन। यो जत्तिको विडम्बना के हुन सक्छ ?
जन्मको आधारमा मानिसले मानिसलाई गर्ने जातीय विभेद भारतीय उपमहाद्वीपको विशिष्ट विभेद हो, जो कति जटिल र जब्बर छ भने यसले भारतीय उपमहाद्वीपको हिन्दू समाजको समग्र मानव विकासलाई नै चुनौती दिएको छ।
जन्मको आधारमा मानिसले मानिसलाई गर्ने जातीय विभेद भारतीय उपमहाद्वीपको विशिष्ट विभेद हो, जो कति जटिल र जब्बर छ भने यसले भारतीय उपमहाद्वीपको हिन्दू समाजको समग्र मानव विकासलाई नै चुनौती दिएको छ। मान्छेको उत्पत्ति, समाजको उद्विकास र तमाम मानव संघर्षका वैज्ञानिक आधारलाई अस्वीकार गर्ने जात–व्यवस्था आज पनि नेपाल–भारतलगायत दक्षिण एसियाली हिन्दू समाज र राज्य सञ्चालनको प्रमुख सिद्धान्तकै रूपमा छ। आजको भूमण्डलीकृत पुँजीवादी विश्व–व्यवस्थामा, उत्पादन र उपभोगका साधनहरूको विश्वव्यापी विस्तार भएजस्तै जातीय विभेदको पनि विस्तार भएको छ। भारतीय उपमहाद्वीपको जात–व्यवस्था आज संसारका सबै कुनामा पुगेको छ, जहाँ दक्षिण एसियाली हिन्दूहरू पुगेका छन्।
नेपाली भूमिमा दलित समुदायले न्याय र समानताका लागि प्रतिरोध गरेको लिखित इतिहास हेर्ने हो भने २००३ साल हो। यानिकि ७७ वर्षदेखि निरन्तर दलित प्रतिरोध जारी छ। उत्पीडनविरुद्ध विद्रोह जरुरी छ। मुक्तिका लागि विद्रोह जरुरी छ। न्यायका लागि प्रतिरोध गर्दा कहिले सफल हुन सकिन्छ र कहिले नहुन पनि सक्छ। त्यसको हिसाब–किताब हुँदै गर्छ। मुलतः प्रयास गर्नु पनि हो। त्यस सन्दर्भमा जातीय विभेद न्यूनीकरण र जात व्यवस्थाविरुद्ध जे-जस्ता आन्दोलनहरू भएका छन ती आन्दोलनले जातीय विभेदको कमि त गर्न सक्यो तर पूर्ण रूपमा हटाउन भने सकेन।
जतीय विभेद हटाउन भएको एउटा महत्त्वपूर्ण र ऐतिहासिक आन्दोलन दस वर्षे जनआन्दोलन पनि एक हो। तर, दुर्भाग्यपूर्ण कुरा के छ भने त्यसले विशिष्टिकृत समयसम्म मात्र प्रभाव पार्यो र हाल जातीय विभेदका चेतनशील पुस्ताले गर्ने नविन पराकम्पनहरू यत्रतत्र देखापर्न थालेका छन्, जसले जातीय विभेदविरुद्धको ७७ वर्षे आन्दोलनको नजरअन्दाज मात्र हाेइन खिसिट्युरीसम्म गरिरहेको छ।
आज जेष्ठ १० गते। २ वर्ष बितेको छ रुकुम नसंहार भएको। चौरजहारीको सोतीमा माओवादी पार्टीकै तर्फबाट वडा अध्यक्ष बनेका डम्बरबहादुर मल्लको नेतृत्वमा सयौँको संख्यामा घेरा हालेर लाठी र घरेलु हतियारले आक्रमण गरी नवराज विकसहित ६ जनाको बीभत्स हत्या गरिएको थियो। अहिले संयोग परेको छ, स्थानीय तहको निर्वाचनमा रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको नगर प्रमुख पदमा माओवादी केन्द्रका नेता, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य पुष्प वादी विजयी भएका छन। जो तत्कालीन नेकपा (माओवादी र एमाले) ले चौरजहारी घटनाको अनुसन्धान गर्न बनाएको तीन सदस्यीय कमिटीको सदस्य हुन। तर, सो छानबिन कमिटीले प्रतिवेदन नै सार्वजनिक गरेन। अब उनी नगर प्रमुख भएपछि उनले यो घटनाबारे के उद्घोष गर्छन् ? सुन्न/हेर्न बाँकी छ।
यो मुलुक र मुलुकको एकल नश्लवादी शासन सत्ता संञ्चालन गर्ने कुनै शासकले यस घटनाप्रति आजसम्म न कुनै ठोस निर्णय लिन्छ न कुनै माफी नै माग्छ। यो देशको मानवअधिकार चुप छ। सत्ताको हस्तक्षेप र निर्देशनमा राज्यका सबै संयन्त्रहरू निष्क्रिय पारीएको छ।
ऐतिहासिक अन्याय भएको भनी स्वीकार गर्नु र त्यसका लागि माफी माग्नु विगतको गल्ती सच्याउने पहिलो कदम हो। यस्ता घटनामा विकसित मुलुकको राज्यसत्ताको भूमिका हेर्ने हो भने-
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ‘कोमागाटामारु घटना’ र ‘जलियाँवाला बाग नरसंहार’ का लागि माफी मागेका छन। बेलायत सरकारले त्यसो गरेको छैन। अमेरिका सरकारले मूल अमेरिकी निवासीसँग माफी मागेको छैन। दास व्यापारमा संलग्न साम्राज्यवादी मुलुकहरूले दास व्यापारका लागि पनि माफी मागेका छैनन। अष्ट्रेलियाका प्रधानमन्त्री केभिन रुडले सरकारका तर्फबाट ‘आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डवासी बच्चाहरू’ का लागि माफी मागेका छन्, जसलाई अष्ट्रेलियाली सरकारहरूद्वारा परिवारबाट जबरजस्ती अलग गरिएको थियो।
दलित मुद्दामा भीमराव अम्बेडकर बराबर कोही छैन, भनिन्छ। अम्बेडकर विश्वस्तरीय धर्मनिरपेक्ष बौद्धिक थिए; कम्युनिज्म, हिन्दूवाद र मुस्लिमका बारेमा गहिरो ज्ञान र आलोचनाका कारण उनी समकालीन गान्धी र नेहरूभन्दा विद्वान मानिन्थे। नेपाल र भारतमा परम्परागत दक्षिणपन्थी बौद्धिकहरूले दलित मुद्दामा खासै वास्ता गर्दैनन। दलितहरूलाई हिन्दू समाजमा समाहित गर्ने भन्ने भारतीय जनता पार्टी (भाजपा) को माउ संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले हरेक वर्ष अम्बेडकर जयन्ती मनाउँछ। अम्बेडकर विचार हिन्दूत्व दर्शनसँग मेल खान्छ भनी आरएसएस नाराबाजी हुँदै छ। आरएसएसलाई हिन्दू सुधारक भन्नु ज्ञानविरोधी हुन्छ। दक्षिणपन्थी बौद्धिकहरू धार्मिक पुस्तकलाई इतिहासका रूपमा लिन्छन। चरम वामपन्थी बौद्धिकहरू यो कुरालाई साहित्यिक नभई इतिहासलाई चुनौती दिने सामग्रीका रूपमा लिन्छन्।
विभेदका भाइरसहरू नयाँ–नयाँ भेरियण्टमा यस्तो दूरगामी असर गर्ने गरी आएका छन कि भाइरसहरू नवीन छन्, सिर्जनात्मक छन् र डर लाग्दो कुरा त के छ भने ती भाइरसहरू समाजमा शिक्षित मानिसहरूबाट सञ्चालित भएर बलशाली र दूरगामी हुने चेष्टा गरिरहेका छन। विद्यालयमा, धारामा, सार्वजनिक स्थलमा, गैरहिन्दुको घर आँगनमा र बोलीचालीमा अनि विभेदका नवीन भेरियन्ट भेटिएका छन्/भेटिन्छन्।
म एउटा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुँ। मसँग धेरै गैरदलित साथीहरू छन। म उनीहरूको घर पनि धेरै गएको छु। त्यहाँ हाम्रा बुबा आमाले सुनाए/भनेजस्ता विभेदहरू देखिँदैन तर विभेदभने पहिले हुनेभन्दा खतरनाक र आत्मसम्मानमा ठेस पुग्ने खालको हुन्छ। यसर्थ चेतनशील पुस्ताले गर्ने विभेदका पराकम्पनले हामीलाई ५ सय वर्षपछि धकेलिरहेको छ।
(खोटाङ घर भएका लेखक विष्णु उपरकाेटी दिक्तेल बहुमुखी क्याम्पस खोटाङमा स्नातक चौथो वर्षमा अध्यायनरत छन्। उनी राजनीतिमा पनि सक्रिय छन्। हाल उनले अनेरास्ववियु खोटाङको जिल्ला सचिव पदमा रहेर काम गरिरहेका छन्।)