कोरोना संक्रमणको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ।
नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकैदिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
कोरोनाको जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।
उनका अनुसार, अत्यावश्यकीय कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ। प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही गरिने कुरुम्बाङले बताए।
निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ।
त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालन गर्न दिइनेछ।
पछिल्लोपटक सङ्क्रमण देखिएका ३० जनाको सम्पर्कमा आएका ४२३ व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ। आन्तरिक राजश्व , यातायात व्यवस्था कार्यालयका कर्मचारी र व्यस्त रहने त्रिभुवनचोकको एक मिठाइ पसल सञ्चालकमा कोरोना सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए।
नेपालगञ्जका तीन आइसोलेसन केन्द्र र खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा गरी बाँकेका ५४ सङ्क्रमितलाई राखिएको छ। बाँकेमा हालसम्म कोरोनाबाट दुईजनाको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या ४३७ पुगेको छ। रासस