मनसुन ट्रेक

पाँचपोखरी–आमा याङ्ग्री पदमार्ग खोज्दै हिमालको काखमा दुई साता [फाेटाे फिचर]

सञ्जीव गुरुङ

सिन्धुपाल्चोक

पदयात्रामा ननिस्केको धेरै भइसकेको थियो। प्राय: मुख्य 'टुरिष्ट सिजन'मा पर्यटक डुलाउँदै पहाड र हिमालको फेदी हुँदै कैयौँ दिनसम्म गाउँबस्ती, भञ्ज्याङ चौतारी चहार्ने गर्थें म।

कोरोनाको विश्वव्यापी महामारीले पर्यटन क्षेत्र ठप्प भएको पनि वर्षदिन नाघिसकेको थियो। गत एक वर्षदेखि महामारीले कुनै पदयात्रा गर्ने अवस्था थिएन।  

असारको पहिलो साता  'पाँचपोखरी टु याङ्ग्री ट्रेल एक्स्प्लोर टीम' मा समावेश हुने अवसर पाएँ। लामो 'ब्रेक' पछि गाउँ–बस्ती, पाखा, बेंसी विचरण गर्ने मौका मिल्दा निकै उत्साहित थिएँ। 

काठमाडौदेखि करिब १० घण्टाको जीपयात्राबाट साँझ सिन्धुपाल्चोकको भोताङ पुगियो। १८४२ मिटर उचाइमा अवस्थित भोताङ पहाडी भेगको सानो बजार हो। बेलुकी हाम्रो बास भयो– स्थानीय होम स्टेमा। हाम्रो टोलीलाई पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले न्यानो स्वागत गरे। पदयात्रा 'एक्स्प्लोरेशन' का लागि शुभकामना दिए र बिदा गरे। 

पाँचपोखरी क्षेत्र आसपासमा रहेका धार्मिक, प्राकृतिक र सांस्कृतिक पर्यटकीय स्थलहरूको अध्ययन अवलोकन गरेर 'ट्रेकिङ ट्रेल एक्स्पलोर' गरी 'ब्रान्डिङ' गरेर पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले बजेट विनियोजन गरेको जानकारी दिए।

पहिलो दिनको पदयात्रा बिहानै सुरु भयो। बर्खा मास। दिनभरि झरी। उकालो पदमार्ग, जंगलको वाटो, भिरपखेरा, खोला नाला। जुका टिप्दै खर्क, छिम्ती गाउँ, टुपीडाँडा हुँदै नोस्यामपाटी पार गर्दै दिनभर लगातर १२ घण्टाको ट्रेक गर्दै नोस्यामपाती पुग्दा त्यस्तै साँझ ८ बजेको हुँदो हो। 

कोरोना महामारीका कारण लामो समय बन्दाबन्दीले हिँड्ने बानी हराइसकेको रहेछ। निकै थकाइ लाग्यो  तर बेलुकी स्थानीय भट्टीको बास निकै रमाइलो भयो। ढिँडो, भेडाको सुकुटी र छ्याङले दिनभरको भोक मेटायौं। छ्याङ अमृत जस्तै भयो, लखटरान परेको ज्यानलाई 'पेन किलर' को काम गर्‍यो। बेलुकी मस्तको निद्रासँगै दोस्रो रात बित्यो।

तेस्रो दिन, बिहानै जुगल हिमश्रृंखलासहित दोर्जे लाक्पालगायत दक्षिणतर्फ पहाडी बाटो। बादलले ढाकेको हरियाली वनजंगल। दृश्य रोमाञ्चक थियो। बर्खा मास भएकोले हिमाल राम्रोसँग नखुले पनि बादलुको घुम्टोमा लुकेको हिमालको दर्शन पाउँदा मन पुलकित भयो।  त्यस दिनको हिँडाइ करिब चार घण्टा भयो। पाँचपोखरी पुगेर बास बसियो।

पाँचपोखरीको महिमा

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी गाउँपालिका वडा नम्बर ३, भोताङको छिम्तीगाउँमा अवस्थित छ– पाँचपोखरी। पाँचपोखरीमा साँच्चै ५ वटा पोखरी छन्। यो हिन्दू धर्मवालम्बीका लागि पवित्र धार्मिक स्थल पनि हो। 

इन्द्रावती नदीको उद्गम स्थल हो– पाँचपोखरी। यहाँ अवस्थित पाँचवटा पोखरी समुद्र सतहबाट ४१०० मिटरको उचाइमा अवस्थित ५ वटा सुन्दर कुण्ड निकै रमणीय छ। त्यहाँका भैरवकुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड निकै प्रख्यात छन्। यो क्षेत्र स्कन्ध पुराणमा उल्लेख गरिएको छ। ठूली एकादशी र जनैपूर्णिमाका दिन पाँचपोखरी धाममा भव्य मेला लाग्छ जसमा सयौँ भक्तजनहरुको घुइँचो लाग्छ।  

तिब्बती धर्मग्रन्थअनुसार, पाँचपोखरी तपोभूमि र तन्त्रमन्त्र सिद्धि गर्ने पवित्र थलो मानिन्छ। महागुरु पद्मसंभव, महायोगी मिलारेपा, आमा याङ्ग्रीदेखि अनन्त अवतारी लामा गुरुले तपस्या गरेको भूमि मानिन्छ। मौसमले साथ नदिँदा आकाश त्यति खुलेको थिएन तर धित मर्ने गरी पाँचपोखरीको सेरोफेरो डुलियो। 

चौथो दिन छ्यक्साल पास हुँदै अति रमणीय स्थान 'लेङ्सिङ भ्याली' पुगियो। यो उपत्यकामा जोरझरना छन्। फरकिलो मनोरम छ उपत्यका। भेडीगोठलगायत थुप्रै साना झरना पनि छन्। गन्छोर्पो हिमालको काखमा अवस्थित मनोमोहक दृष्यले सबै थकाइ बिर्सायो। यहाँ पुग्दा हामी युरोपको अति सुन्दर ठाउँ डोलमिटी पुगेको अनुभव भयो। यो ठाउँ अति नै सुन्दर र रमणीय छ।

लेङ्सिङ भ्यालीमा दुई दिन बसी गन्छेर्पो हिमाल अरोहण गर्न, पाँचपोखरीबाट थाङ्पाल गाउँपलिका हुँदै आरोहण रूट खोल्न  सही 'बेस क्याम्प' पत्ता लगायौँ। यसका लागि दुई दिनको कडा खोजसहितको मेहनत पर्‍यो।  हामीले गन्छेर्पोको  दक्षिण हिमनदीनजिक 'गन्छेर्पो बेस क्याम्प' तय गर्न पाउँदा अति नै हर्क्षित भयौँ। 

त्यसपछिका दिनहरुमा पनि यस्तै रमणीय यात्राहरु निरन्तर अघि बढिरहे। हामीले बाटोमा पदमार्गको विवरण, उचाइ र चिन्हहरु लगाउँदै हिँड्यौँ। 

हाम्रो रात्रीबास 'क्याम्पिङ' मा हुन्थ्यो। किरण मगरले हाम्रो 'क्याम्पिङ' भरि मीठो भोजनले तृप्त पारे। 'पोर्टर टीम' ले दिनहुँ टेण्ट, खाद्यान्न, भाँडाकुँडा बोकेर सहयोग गरेका थिए, जुन उनीहरूको जिम्मेवारी थियो।  

यो यात्रामा अर्को पुग्नैपर्ने ठाउँ अवलोकन गर्ने अवसर पनि मिल्यो– ड्रागन शिला र ड्रगोन गुफा। जुन जोकसैले नपाउन नसक्छ। ड्रागन शीला र ड्रागन गुफा यस पदमार्गको अर्को आकर्षण हो। 

१०औँ दिनमा १० घण्टालामो लगातार हिँडाइले बेस्सरी थाकियो। मालिङ्गो घारीभित्रको बाटो पहिल्याउँदै हिँड्न निकै मुश्किल भयो। बाटो हराएर कति ठाउँमा अल्मिलिदै बित्यो। त्यस दिन सबै यात्राको सबभन्दा दु:ख पाएको  दिन। झरीले गाग्रीभित्र पसेको मुसाझैँ निथ्रुक्कै ज्यान भिजेको थियो। बाटो पहिल्याउँदै मालिङ्गो घारीमा बाटो खोज्दै हिँडेको ती दिन अहिले सम्झिँदा रोमाञ्चक लाग्छ। आखिर यात्रा भनेको सधैँ सुखद् हुँदैन। आकस्मिक आइपर्ने समस्याले हामीलाई  संघर्ष र धैर्य गर्न सिकाउँछ र जीवनको महत्वको आभाष दिलाउँछ।

एघारौँ दिनको यात्रा पनि विशेष रह्यो। यो दिन ह्योल्मो समुदायको पवित्र टाकुरो आमा याङ्ग्रीको दर्शन मिल्यो। 

आमा याङ्ग्रीको आकर्षण

तीन हजार सात सय ७१ मिटर अग्लो टाकुरो हो। यहाँबाट दोर्जे लाक्पा,गणेश हिमाल, लाङ्टाङ हिम–श्रृङ्खला,गौरीशंकर हिम–श्रृङ्खला, भैरव टाकुरा, ग्याल्जेन 'पीक', याङ्ग्री हिमाल, किमसुङ, भेमडाङ हिमाल, उर्कुमा हिमाल, यान्सा छेञ्जी हिमाल लगायतका दुई दर्जनभन्दा बढी हिमालहरु देखिन्छन्।

पद्मसम्भव (गुरु रिम्पोचे) र मिले रेप्पाले आमा याङ्ग्रीमा पाइला टेकेर भोटतर्फ लागेको भन्ने जनविश्वास छ।

बौद्ध धर्मालम्बीहरू र हिन्दूहरू गुरु पद्मसम्भवले तपश्या गरेको यस तपोभूमिमा पाइला राख्दा मोक्ष मिल्ने  जनविश्वास छ। त्यसपछि  हामीले हेलम्बुको सेर्माथाङ हुँदै ककनीमा आएर यात्रा टुङ्ग्यायौँ। 

पदयात्राले खोल्ने संभावनाको ढोका

यो 'ट्रेक' धेरै सम्भावना बोकेको पदमार्ग हुन सक्छ। केही ठाउँहरुमा पदमार्गको मर्मत–सम्भार हुनुपर्छ, पुल बनाउनुपर्छ। सूचना वोर्ड र पदमार्ग चिन्ह पनि ठाउँ–ठाउँमा राख्नु आवश्यक छ।

धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण 'पाँचपोखरी–आमा याङग्री पदमार्ग' काठमाडौंदेखि नजिकको सुन्दर पर्यटकीय गन्तव्य हो। तामाङ र ह्योल्मो समुदायको बाहुल्य रहेको यस क्षेत्रमा पदयात्रा गर्दा स्थानीय मौलिक संस्कृतिसँगै हिमाली सौन्दर्यको मिठास पनि पाइन्छ। पदमार्गमा दोर्जे लाक्पा, जुगल, गौरीशंकरसहित दर्जनौँ हिमालको दर्शन हुन्छ। 

त्यही सुन्दर र पावन भूमिमा हामीले असारको अघिल्ला दुई साता साता बितायौँ। 'पाँचपोखरी टु आमायाङ्ग्री पदमार्ग' पत्ता लगाउन पाँचपोखरी–थाङपाल गाउँपालिकाले सहयोग गरेको थियो। 

पदमार्ग 'एक्स्प्लोर टीम' मा दावा जाङ्बु शेर्पा (टीम लिडर), सुमन पाठक र दोर्जी शेर्पा (ट्रेल मार्किङ), पेमा टासी तामाङ (फोटो/भिडियो), किरन मगर (कुक), सञ्जीव गुरुङ (जिपिएस), रिन्जी शेर्पा (ड्राइभर). सिङ्गि तामाङ लोकल गाइड सहित अरु ११ जना सहयोगीसहित १८ जनाको सहभागिता  थियो। उक्त कार्य ७ असारदेखि २२ असारसम्म लगाएर सम्पन्न भएको थियो।     

संभावित पदमार्ग रूटः 
पहिलो दिनः काठमाडौं-भोताङ (जीपयात्रा ७-८ घण्टा)
दोस्रो दिनः भोताङ -नोस्याम पाटी (३६५७ मी.), पदयात्रा
तेस्रो दिनः  नोस्याम पाटी -पाँच पोखरी (४०६५मी.), पदयात्रा
चौथो दिनः पाँच पोखरी -छयाक्साल (४४७३ मी.), पदयात्रा
पाँचौँ दिनः छ्याकसाल-लेङसिङ भ्याली (४०५५ मी.), पदयात्रा
छैटौँ दिनः लेङसिङ भ्याली-गनछेर्पो (४९०० मी.), पदयात्रा
सातौँ दिनः लेङसिङ भ्याली-सेमथाङ सिदि (४५०३ मी.), पदयात्रा
आठौ दिनः सेमथाङ सिदि- पेडाले ढुंगा (४०८२ मि), पदयात्रा
नवौ दिनः पेडाले ढुंगा- ड्रागन गुफा, पदयात्रा
दसौ दिनः पेडाले ढुंगा- गिलदाङफु (४२७० मि), पदयात्रा
एघारौ दिनः गिलदाङफु - आमा याङग्री- छोमाथाङ (३१२६मि), पदयात्रा
वार्‍हौ दिनः छोमोथाङ - ककनी (१९५५ मि), पदयात्रा
तेर्‍हौ दिनः ककनी- काठमाडौं (जिपयात्रा ७-८ घण्टा)

०००

गुरुङ माउन्टेन गाइड तथा ट्रिप हिमालायका अपरेशन म्यानेजर हुन् । 

प्रकाशित मिति: : 2021-07-16 19:29:00

प्रतिकृया दिनुहोस्