पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ७ सय ८६ नमुना परीक्षणमा २२४ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा १५१ जना कोरोनामुक्त भएका छन्। यो सँगै कुल १४ हजार २ सय ९९ जना कोरोना निको भएर घर फर्किएका छन्।
थप चार जनाको मृत्यु
पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ५६ पुगेको छ।
मृतकहरू
पर्सा विरगन्ज महानगरपालिका ११का ५६ वर्षिय पुरूष छन्। मुटुको रोगीसमेत रहेका उनको साउन ६ गते कोरोना पुष्टि भएको थियो।
पर्साको विरगन्ज महानगरपालिका १६ का ३५ वर्षिय पुरूषको साउन १५ गते गण्डक अस्पतालमा निधन भएको हो। उनलाई साउन १५ गते कोरोना पुष्टि भएको थियो।
पर्साको विरगन्ज महानगरपालिका २ छपकैया बस्ने ६५ वर्षिया पुरूषको साउन १५ गते बिहान निधन भएको थियो। उनलाई सोहीदिन साँझ कोरोना पुष्टि भएको थियो।
यस्तै पर्साकै विरगन्ज महानगरपालिका ११ घर भइ हाल ललितपुरको थसिखेलमा बस्दै आएकी एक महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ। मधुमेह रोगबाट पीडित उनलाई साउन ६ गते कोरोना पुष्टि भएको थियो। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।
काठमाडौं उपत्यकामा ५ सय बढी सङ्क्रमित
काठमाडौं उपत्यकामा हालसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५१९ पुगेको छ।
शुक्रबार काठमाडौंमा २४ जना, ललितपुरमा ५ जना र भक्तपुरमा एक जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।
कुल सङ्क्रमितको सङ्ख्या काठमाडौंमा ४१४ जना, ललितपुरमा ९६ जना र भक्तपुरमा ५६ जना पुगेको छ। सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ।
विगत २४ घण्टामा पीसीआर विधिबाट सबैभन्दा बढी १०,७६८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।यो सँगै कुल पीसीआर परीक्षणको सङ्ख्या ३,७५,४१६ रहेको छ।
अझै देशभरिका विभिन्न क्वारन्टाइनमा १२ हजार भन्दा बढी मानिस छन्।
हाल कोरोना संक्रमित नभएका ६ जिल्ला
नेपालको ७७ जिल्लामध्ये हाल ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।