प्रिय अजनवी,
मनभित्रबाट कर्णालीको छालसरी उर्लेर आएका जीवन भोगाइका अनुभूतिहरुलाई कोसीको बेगसरह तीव्र रुपमा व्यक्त गर्नसक्ने कलात्मक सीप मसँग छैन। थाहा छैन मैले सोचेअनुसार, मेरो मनले चाहेअनुसार तिम्रो मन छुनेगरी पत्रलाई पूर्णाता दिन सक्छु या सक्दिनँ। तैपनि झिनो प्रयास भने गरिरहेको छु।
तर कुनै साहसिक पर्यटकको रोमाञ्चक पदयात्राको आख्यानझैं पत्रको पठनसँगै तिमी बहनेगरी लेख्न भने पक्कै पनि सक्ने छैन झैं लागिरहेको छ। अत्यन्तै गहकिला, ओेजनदार, तार्किकताले भरिपूर्ण लेख रचनाहरुको अध्ययनबाट प्रभावित हुने तिमीलाई कहिले कतै कुनै पनि खालको सक्ने सीप प्रभाव पार्नसक्ने सीप र क्षमता नभएको म र मेरो पत्रले तिम्रो मन नछुन सक्छ। खैर यी सबै कुरालाई बिर्सिएर तिमीलाई पत्र लेखिरहेको छु।
आजभोलि नेपालगन्जमा हिजो अस्ति लाग्ने हुस्सु पातलिदै गएको छ। मौसम परिवर्तनसँगै बिहानको वातावरण सफा र रमणीय हुन थालेको छ। दिउसो भने हुरी चल्ने गर्छ । सायद् वसन्तको आगमन हुने संकेत मिल्यो कि?
हुरी नचली बसन्त आउँदैन भनिन्छ, यसै भएछ क्यारे ! हुनत कति ठाउँ वसन्त आउनुभन्दा अगाडि विपत्ति आउन थाल्यो । दु:खका दिन सुरु भए पनि भन्ने गरिन्छ तर पनि यतिबेला म तिमीलाई सम्झिरहेको छु।
तर हामी भने खुसी हुन्छौं। यसको अलग खालको विशेषता छ। नयाँ पालुवाहरु पलाउन थाल्छन्, कोपिलाहरु फुल्न थाल्छन्। वातावरणमा हरियालीको पुनरागमन हुन्छ तर यी सबै देख्न अलि कठिन छ यहाँ। हामी मान्छेको जीवन पनि ऋतु परिवर्तन भएझैं हुँदो रहेछ। विभिन्न समयमा हुने विभिन्न खाले उतारचढाव त प्रकृतिको नियम नै हुँदो रहेछ।
दु:खमा निराश हुने, सुखमा खुशी हुने मानवीय स्वभाव नै हो। जीवन व्यथित गर्दै जाँदा जीवनको कुनै कालखण्डमा यस्ता घटना पनि घट्दा रहेछन्। त्यसपछि त मान्छे मनभित्रको नदीमा मनभित्रकै पहाड खसेजस्तो हुँदो रहेछ। फुटेको ऐनासरी हुँदा मन धमिलो हुँदो रहेछ।
जब सारा सपनाहरु साउनको भेलसरी बगेर जान्छन् तब त जीवनको एक अध्याय नै समाप्त भएझैं लाग्दो रहेछ। त्यसपछि त मनमा यति ठुलो ज्वालामुखी विस्फोट भएझैं लाग्दो रहेछ कि सारा ब्राह्मण नै सखाप भएजस्तो, ब्राह्मणको आयु नै सकिएजस्तो, दोस्रो विश्वयुद्धपछिको हिरोसी र नागासाकीको जस्तो मन। उजाड मरुभूमिजस्तो मन मरुभूमिमा सिंचाइ गरी अन्न फलाउन सकिने तथ्यहरुझैं मनभित्रका आशाहरु भने मर्दा रहेछन्।
जीवन बाँच्दै जाँदा धेरै कुराहरु भोग्नु पर्दो रहेछ। त्यस भोगाइलाई आत्मसात गर्दै जाँदा मान्छेलाई अर्को मान्छेको आवश्यकता पनि त्यतिकै पुर्दो रहेछ। यसै पृष्ठभूमिमा वैवाहिक जीवनलाई प्रकृतिले जोडेको हुनुपर्छ, सायद्।
लाग्छ, अनेकौं असमानताका बाबजुद पनि प्रकृतिको यही नियमका कारण होला तिमीप्रति आकर्षण झन् बढिरहेको छ। तिमीजस्तो आदर्श नारीलाई जीवन साथी बन्न मैले गरेको प्रस्तावलाई तिम्रो स्वीकृति पाए भने प्रशन्न हुनेछु। यदि तिम्रो स्वीकृति पाए हाम्रो प्रेम संघर्षका नालिबेली पार गर्दै दृढ सङ्कल्पका साथ अघि बढ्दै जानेछ।
लाग्छ, प्रेम अनुभूतिको विषय हो। भावना छुन सकिन्न तर अुनुभव हुन्छ। प्रेममा त्याग, समर्पण र विश्वास हुन्छ। प्रेममा वार्ता र सम्वाद हुन्छ। एकले अर्काको आशा र इच्छा एक अर्कोमा लादिन्नन् बरु शालीन अस्वीकृति हुन्छ। एकको स्वार्थमा अर्कोलाई प्रयोग गरिन्न। प्रेममा अनुशासन हुन्छ, लाज हुन्छ तर निर्लज्जता हुँदैन।
एकको विचारको स्वातन्त्रताको निम्ति अर्कोले गर्दन पनि थाप्छन्। प्रेममा वेमेलमा पनि मेल हुन्छ। मेल हुँदाहुँदै पनि बेमेल हुन सक्छ। विचार उही, दृष्टिकोण फरक । लक्ष्य उही बाटो फरक हुनसक्छ। फरक दृष्टिकोणमा पनि कोही निराश हुन्न। प्रेममा सुखदुःख घामछाँयाजस्तै हुन्।
माओेको पालामा चिनियाँ केटीहरुले वर खोज्दा हातमा माटो लागेको खोज्थे रे ! श्रमको सम्मान गर्ने श्रमिकलाई माया गर्ने, कामगरी खान लज्जाबोध नगर्ने देशको सार्वऋमिकतालाई प्राणभन्दा प्यारो ठान्ने, सामूहिक भावनालाई प्राथमिकता दिने, कमजोरलाई उठ्न साहारा दिने, सत्य बोल्न निर्भिक हुने। गलत कुरालाई जस्तोसुकै परिस्थितिमा पनि गलत नै भन्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने आदि गुण भएको। यी सबै गुण त मसँग छैनन् तर यो भावनाबाट म प्रभावित छु।
प्रभावित हुनुमात्र ठूलो कुरा होइन, त्यसलाई व्यवहारमा लागु गर्नु महत्त्वपूर्ण हो। यी चुनौतीको पहाडसँग जुध्ने कोशिश हामीले सँगै गरेर उदेश्यमा पुग्ने लक्ष्यसहित मैले तिमीलाई प्रेम प्रस्ताव गरेको छु। तिमीबाट अस्वीकार हुने छैन भन्ने आशासहित तिम्रो जवाफ कुरी बस्नेछु।
उही
सुवास