विराट नर्सिङ होममा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

विराटनगरस्थित विराट नर्सिङहोम (विराटनगर अस्पतालमा) कार्यरत थप चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार अस्पताल सञ्चालकलाई संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका ५८ जनाको पीसीआर जाँच गर्दा चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो।

संक्रमित मध्ये एकजना कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी समेत हुन् ।

२१, ३०, ३१ र ५६ वर्षीया नर्सिङ स्टाफमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पताल सञ्चालकलाई कोरोना पुष्टि भएपछि उनीहरु क्वारेन्टाइनमा बसेका थिए। संक्रमण पुष्टि भएकालाई आइसोलेशनमा भर्ना गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

अस्पताल सञ्चालकलाई भने काठमाडौं लगिएको छ ।

यस्तै कोशी अस्पताल विराटनगरले संक्रमित नर्सले काम गरेको पोष्ट नेटल वार्ड सिल गरेको छ। अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार चिकित्सक र बिरामीको कोराना जाँचका लागि वार्ड बन्द गरिएको हो।

यसैबीच विराट नर्सिङहोम र विराट मेडिकल कलेजमा कार्यरत कर्मचारीले सबैका कोरोना जाँच गर्न माग गरेका छन्। नर्सिङहोममा २५० बढी कर्मचारी कार्यरत छन्। उनीहरुमध्ये पहिलो चरणमा ५८ जनाको स्वाब संकलन गरिएको थियो।

यता विराटनगर महानगरपालिकाले स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यन्वयनमा कडाई गर्ने निर्णय गरेको छ। कोरोना भाईरस (कोभिड–१९) संक्रमण समुदायस्तरमा फैलन सक्ने सम्भावनालाई मध्यनगर गर्दै महानगरले सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सचेतना पालनामा कडाई गरिने भएको हो ।

आइतबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमणको समुदायस्तरको रोकथामका लागि अपनाउनुपर्ने सबै विधि कडाईपूर्वक कार्यन्वयन गरिने निर्णय गरिएको छ।

महानगरपालिकाका मेयर भीम पराजुलीले संक्रमण समुदायस्तरमा पुग्न नदिन अपनाउनुपर्ने स्वास्थ्य प्रोटोकलमा कडाई गरिने जानकारी दिए।

बैठकले भिन्नै कार्यदल बनाएर समुदायस्तरमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने विधिको अनुगमन तथा कार्यन्वयन गराउने निर्णय गरेको छ।

महानगर क्षेत्र भित्रका पसलका सञ्चालक तथा कामदारले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने निर्णय गरिएको छ। महानगरले गठन गरेको कार्यदलले नियमित अनुगमन गर्दा पहिलो पटक मास्क नलगाएको अवस्थामा भेटिएका व्यवसायी तथा कामदारलाई १० रुपिँया लिएर मास्क उपलब्ध गराइने छ।

यदि दोस्रो पटक समेत मास्क नलगाएको र स्वास्थ्य सुरक्षा प्रोटोकल नपनाएको पाइएमा १५ दिनका लागि पसल बन्द गरिने निर्णय गरिएको छ ।

प्रकाशित मिति: : 2020-07-27 13:42:37

प्रतिकृया दिनुहोस्