सन् २००० मा पहिलोपल्ट रुसको राष्ट्रपति नियुक्त हुनुअघि भ्लादिमिर पुटिनले स्थानीय एक पत्रिका ‘नेजाभिजिमाया गाजेटा’ लाई अन्तर्वार्ता दिए। जसमा उनले भनेका थिए, ‘२००–३०० वर्षको इतिहासमा पहिलो पल्ट रुस विश्व शक्तिबाट दोस्रो–तेस्रो स्थानमा झर्ने डर भएको छ।’
सन् १९९० मा सोभियत संघको पतनसँगै विश्व राजनीतिमा रुसको कमजोर हुँदै गएको उपस्थिति पुटिनको अन्तर्वार्ताले बयान गरिरहेको थियो। सन् १९९० देखि २००० सम्म रुसको जुन हविगत भएको थियो, त्यो वास्तवमा पुटिनले दिएको अन्तर्वार्तासँग मेल खान्थ्यो। भ्रष्टाचार, परिवारवाद र विखन्डनवादी सोच रुसको आमचरित्र बनिरहेको अवस्थामा पुटिनको त्यो अन्तर्वार्तालाई धेरैले अन्य रूपमा लिएनन्। तर, उनको त्यो अन्तर्वार्ताभित्र उनको मनसाय लुकेको थियो।
सन् १९९९ मा पूर्व राष्ट्रपति बोरिस येल्तसिनको प्रतापले एक्कासी रुसी सत्तामा स्थापित भएका पुटिनले अन्तर्वार्तामा सोभियतकालीन प्रभाव फर्काउन रुसी जनतालाई एकजुट हुन आव्हान गरेका थिए।
उनको आव्हानले रुसी जनतालाई कति प्रभाव पार्यो, त्यो आफ्नै ठाउँमा होला। तर, त्यो अन्तर्वार्ता दिएको १६ वर्षपछि बेलायतको ‘दि टेलिग्राफ’ मा छापिएको अर्को लेखमा पुटिनले गर्व साथ भने, ‘रुस पुरानो सोभियतकालीन समयमा फर्किदैन भनेर मैले भने भने कसैले पत्याउँदैनन्।’
सन् २०१८ मा राष्ट्रपतिको चौथो कार्यकालभन्दा दुई वर्षअघि प्रकाशित यो लेखले पुटिनको सोचलाई निर्दिष्ट गर्छ। शीत युद्धताका अमेरिकालाई कडा टक्कर दिएको रुसको पछिल्लो समय भएको हविगतबाट विश्व समुदाय जति अवगत थियो, त्यो भन्दा नजिकबाट परिस्थितिलाई पुटिनले बुझेका थिए। त्यसैले उनले सन् २००० मा राष्ट्रपतिको कार्यभार सम्हाल्नु अघि त्यो अन्तर्वार्ता दिनु परेको थियो।
तर, १६ वर्षको अवधिमा उनले त्यस्तो के अपत्यारिलो काम गरे, जसका कारण उनी ४ वर्षअघि यो ठोकुवा गर्न सफल भए, ‘रुस सोभियतकालीन शक्ति आर्जन गर्ने हैसियतमा पुगेको छ।’
रुसको राष्ट्रपति नियुक्त हुनुअघि पुटिनसँग दुई वटा महत्वपूर्ण घटना घटेको थियो। जसका कारण उनी आफ्नो देशलाई सोभियतकालीन अवस्थामा फर्काउन चाहन्थे। पहिलो घटना थियो, सन् १९८९ को। जतिबेला उनी सोभियत संघको जासुसी निकाय (केजीबी) मा कार्यरत थिए। र, उनको कार्यथलो थियो, पूर्वी जर्मनीको ड्रेसडेन।
मस्कोमा कम्युनिस्ट शाषन समाप्त हुने संकेत देखिन थालेपछि ड्रेसडेनमा एउटा ठूलो जुलुसले केजीबीको कार्यालय घेराउ गरेको थियो। निकै उद्देलित त्यो भीडले कार्यालयभित्र प्रवेश गरेर जतिबेला जे पनि गर्न सक्थ्यो। पुटिन कुनै आदेशको इसाराका लागि लगातार मस्कोमा फोन गरिरहेका थिए। तर, मस्कोबाट त्यो विपतको स्थितिमा कसरी उम्किने भन्ने कुनै सुझाव आएन। यसपछि उनी सामान्य मानिस झै लुगा फेरेर भीडमा समावेश भए। र, उनले भवनभित्र सशस्त्र हतियारधारी सेनाको ठूलो जमात रहेको र जतिबेला जे पनि हुन सक्ने भन्दै त्यहाँबाट निस्किन सबैलाई सुझाव दिएका थिए।
उनको त्यो ‘प्रोपगण्डा’ का कारण भीड एकछिनमै तितर–बितर भयो। र, केजीबीका सबै अधिकारी ज्यान जोगाएर भाग्न सफल भए।
पुटिनले त्यो बेला आफूलाई निकै कमजोर महसुस गरेका थिए। उनी यो घटनाको कुरा गर्दा प्रायः भन्ने गर्थे, ‘मलाई किन हो, यो मुलुकै रहदैन जस्तो लाग्थ्यो।’
उनी आफ्ना शिक्षक तथा राजनीतिक गुरु सेन्ट पिटरवर्गका पूर्व मेयर आनाटोली सोब्चकको प्रभावले राजनीतिमा प्रवेश गरे। सन् १९९८ मा पुटिनको राष्ट्रिय सुरक्षा सल्लाहकार बन्न पुगेको बेला अर्को घटना भएको थियो। त्यति बेला सर्बियाको मुद्दालाई लिएर रुस र अमेरिकाबीच तानातानीको अवस्था थियो। रुसी राष्ट्रपति येल्तसिनले अमेरिकी समकक्षी बिल क्लिन्टनलाई सर्बियामा बम प्रहार नगर्न थुर्पै पल्ट आग्रह गरेका थिए। तर, क्लिन्टनले यसको वेवास्था गर्दै सर्बियामा बम प्रहार गरे। जुन घटनामा येल्तसिन अमेरिकासँग एकदमै आगो भएका थिए। तर, उनीसँग अमेरिकाविरूद्ध जवाफी कार्यवाही गर्ने कुनै उपाय थिएन।
पुटिनले यो घटनालाई अपमानको रूपमा हेरेका थिए। र, त्यति बेलै सोभियतकालीन हैसियत बनाउने अठोट लिएका थिए।
अझ, सन् १९९९ मा चेचेन पृथकतावादी आन्दोलनलाई पूर्ण रूपमा दबाउन नसक्दा रुसको सैन्य सामथ्र्यमाथि नै प्रश्न चिन्ह खडा भएको थियो। यसले रुसी जनताको सरकारप्रतिको विश्वास पनि गुम्दै गइरहेको थियो।
सन् २००० मा पुटिन राष्ट्रपति नियुक्त भएपछि उनले आक्रामक विदेश नीति अख्तियार गरे। आफ्नो न्यूक्लियर क्षमतालाई पुर्नस्थापित गर्ने अभियानमा जुटे। कच्चा तेल र नेचुरल ग्यासको निर्यातलाई बढाए। घरेलु समस्या निराकणतर्फ ध्यान दिए। अर्थतन्त्रलाई मजबुत बनाउने दिशामा अगाडि बढे। यसका लागि उनले सोभियतकालीन अर्थ नीतिभन्दा बाहिर निस्किएर खुला अर्थतन्त्रलाई अंगाले।
अहिले पनि रुसमा पूँजीको प्रभाह बढ्दा भ्रष्टाचार बढेको भन्दै पुटिनको आलोचना गर्ने गरिन्छ।
उनले विस्तारवादी सोभियतकालीन विदेश नीतिलाई पछ्याएनन्। तर, जर्जिया र युक्रेनको हकमा विस्तारवादी नीति प्रदर्शन गरे। तर, दुई देशको हकमा यस्तो गर्नुमा अमेरिका र युरोपेली महासंघ जिम्मेवार रहेको रुसी मत छ।
रुस अहिले कच्चा तेल निर्यातमा नम्बर १ देश मानिन्छ। उसले साउदी अरेबियालाई पनि पछि पार्दै तेल निर्यात गर्छ। यसले तेल निर्यातमा अमेरिकी बर्चश्वलाई तोड्ने काम गरेको छ। ग्यास निर्यातमा पनि रुस नम्बर एक देश हो। हाल पूर्वी युरोपको सबै बजार रुसको कब्जामा छ। युरोपको सबैभन्दा बलियो अर्थतन्त्र भएको देश जर्मनी ग्यासको मामिलामा रुससँग निर्भर छ। रुसले युक्रेन हुँदै पूर्वी युरोपमा पाइपलाइन नै बिस्तार गरिसकेको छ। यस्तो अवस्थामा युक्रेन रुसको लागि अति महत्वपूर्ण देश हो।
अमेरिकाले बेलाबेलामा रुसको अर्थतन्त्रलाई रोक्न युक्रेनलाई चलाउने काम गर्दै आइरहेको छ। तर, रोचक कुरा, युक्रेन प्रभावित भयो भने जर्मनीलाई यसको ठूलो असर पर्छ। फेरि जर्मनीमा असर पर्यो भने पुरै युरोप प्रभावित हुन्छ र युरोप प्रभावित भएको खण्डमा अमेरिकालाई पनि प्रभाव पार्छ।
पुटिन सत्तामा आएपछि उनले केजीबी झै आफ्नो जासुसी संस्थालाई निकै चुस्त बनाएका छन्। भनिन्छ, पुटिनले कुनै महत्वपूर्ण निर्णय लिँदा यसको जानकारी विदेशी नियोगहरूलाई थाहा नहनुमा क्रेमेलिनमा सशक्त भएको जासुसी सयन्त्रलाई लिने गरिन्छ।
केजीबीमा काम गरेको हुनाले पुटिन आफै पनि निकै अनुशासित तथा गोप्यता रुचाउने व्यक्ति हुन्। उनको पूर्व श्रीमति लुदमिलाले सन् २००५ मा दिएको एउटा अन्तर्वार्तामा भनेकी थिइन, ‘घरमा कामको कुरा गर्न मनाही थियो।’
पुटिनलाई एक्ल्याउन अमेरिकाले कहिले रुसमा प्रतिबन्ध लगाउने गर्छ भने कहिले ह्याकिङ त कहिले ड्रग्सको मुद्धा उठाउँदै आइरहेको छ। सन् २०१८ मा मस्कोमा आयोजना भएको विश्व कप फुटबल प्रतियोगिता रोक्न पनि अमेरिकाले निकै प्रयास गरेको थियो। तर, यी सबै कुरालाई पुटिनले निस्तेज पार्दै आइरहेका छन्।
उनले अमेरिकी प्रभाव रोक्न सन् २००७ मा जर्मनीको म्युनिखमा सुरक्षा नीतिलाई लिएर आयोजना भएको ‘४३ औं म्युनिख कन्फ्रेन्स अन सेक्युरिटी पोलिसी’ मा ब्रिकको अवधारणालाई बलियोसँग लैजानु पर्ने बताएका थिए। ब्रिकमा समावेश देश ब्राजिल, रुस, भारत, चीनको जिडिपी युरोपको भन्दा निकै धेरै रहेको र भविष्यमा अझैं बढ्ने भन्दै पुटिनले भारत र चीनलाई पनि मिलेर जान सुझाव दिएका थिए।
पुटिन पछिल्लो समय अमेरिकी प्रभावलाई कम गर्न युद्ध मैदानमा पनि उत्तिकै सक्रिय भएर लागेका छन्। सिरियामा अमेरिकी मनसाय पुरा हुन नदिन उनले बिनासको नमुना नै प्रस्तुत गरे। केही समयअघि अफगानिस्तानबाट अमेरिकी सेना निकाल्ने ट्रम्प प्रशासनको निर्णयलाई कार्यन्वयनमा ल्याउन नदिन पुटिनले तालिबानीहरूलाई पैसा खर्च गरेको समाचार बाहिरियो।
विश्वस्तरमा पछिल्लो समय बढ्दो रुसी प्रभावका कारण पुटिनको हरेक गतिविधि चर्चाको विषय बन्ने गरेको छ। उनी कहिले फाइटर प्लेनमा देखिन्छन्। कहिले घोडामा नाङ्गो शरीर देखाएर त कहिले जुडोको म्याटमा विपक्षीलाई पछार्दे चर्चामा आउने गरेका छन्।
सन् १९९८ मा अमेरिकी राष्ट्रपति क्लिन्टनले रुससँग वार्ताका लागि एक जना राजनीतिज्ञ स्ट्रोब टाल्बोल्टलाई दूतको हैसियतले पठाएका थिए। त्यति बेला रुसको पक्ष मन्द स्वरमा कठोरसँग राखेका पुटिनको क्षमतासँग टाल्बोल्ट जानकार भइसकेका थिए। पुटिनले उनीसँग भेट्नुअघि उनको सानो सानो कुराको जानकारी लिइसकेका थिए। उनी भन्थे–‘पुटिनलाई जासुसको रूपमा मात्र हेर्नु भयो भने त्यो गलत हुनेछ। उनी जासुसभन्दा केही भिन्न छन्।’