दैलैखी छाला जुत्ता शृङ्खला -१

जुत्ता सिउने रामबहादुरकाे फाटेकाे मन

दैलेख बजारले सबै पेसा, व्यवसाय वर्ग र क्षेत्रका नागरिकलाई स्पेस दिएको छ। यहाँ निम्न आय हुनेका लागि सस्ताे नास्ता र खाना पाइने ठाउँहरु छन्। तिनीहरुले दैनिक गर्ने काम पनि प्रशस्तै छन्।

यसरी दैलेख बजारमा स्पेस पाइरहेका छन्, नारायण नागरपालिका भूर्तीका ४२ वर्षीय रामबहादुर सार्कीले। जाे जुत्ता सिलाएर गुजारा गरिरहेका छन्।

उनलाई आफ्नै घर आगनमा भएका पञ्च देवल कसले बनाएका हुन थाहा छैन। काेही सिपालु मिस्रीले ठूला ढुंगामा बुट्टा भरेपछि बलशाली पैकेलाकाे सहारामा मन्दिर जस्ता देवल ठडिएका हाेलान् भन्ने अनुमान समेत गर्दैनन्। बरु सगाैरव भन्छन्, 'पञ्चदेवल पाँच भाइ पाण्डवले एकै रातमा बनाएका हुन्।'

तिथिमिति समेत उल्लेख गरिएका यस प्रकारका देवलहरू निर्माण गर्ने परम्परा सिंजा साम्राज्यको स्थापनासँगै विकास भएर उक्त शासनकालको अन्तसँगै समाप्त भएको देखिन्छ।

त्यो अवधि भन्दा पहिले र त्यो अवधि पश्चात निर्माण भएका देवलहरू आजसम्म कहिँ कतै फेला परेका छैनन्। तैपनि कथा बुन्नेहरुले सिंजा साम्राज्य कालभन्दा कता हाे कता अगाडिकाे तिथिमितिसँग जाेडेर केही कलात्मक संरचना देखिने बित्तिकै पाण्डवसँग जाेडिहाल्छन्।

गाउँका देवल पाण्वसँग जाेडिए पनि रामबहादुरकाे मन पाण्डवलाई पुजा गर्ने समाजसँग जाेडिन सकेकाे छैन। फाटेका जुत्तामा आराे र धागाेले सिएर, गमले चिप्काएर जाेडिदिएपनि ती जुत्ता सिउने र इतरकाे समाज बीच आजपर्यन्त सहअस्तित्व र भाइचाराकाे सम्बन्ध जाेडिन सकेकाे छैन।

त्यसैले नयाँ नयाँ डिजाइनमा छालाका जुत्ता बनाएर गुजारा गर्नेहरुकाे मन भने फाटेकै छ। दैलेखी छाला जुत्ताको चर्चा देशभर छ। दैलेखी साबरकाे जुत्ता लगाउनेकाे त समाजमा मान-प्रतिष्ठा समेत उचाे छ। तर ती जुत्ता बनाउनेकाे जात र प्रतिष्ठा भने उति नै हाेचाे छ, जति उनकाे टहरा मुल सडक भन्दा हाेचाे छ।

राजा, राणादेखि मन्त्रीसम्मकाे राेजाइमा पर्ने दैलेखी छाला जुत्ताको बजार बिस्तारै साँघुरिँदै गएकाे छ। बजार साँघुरिएसँगै त्यस पेसासँग जाेडिएका सार्कीहरु पनि बाध्यताले अन्य पेसा र व्यवसाय राेजिरहेका छन्। अपमानकाे बिल्ला लाएर नयाँ पुस्ता पुरानाे पेसामा रमाउन सकिरहेको छैन।

बाबु बाजेकाे पुर्ख्याैली पेसा राेजेका रामबहादुरकाे मानमा पनि आजभोलि सन्ताेषकाे घाम लाग्दैन। जीउमा चिसाे पसिरहन्छ।

उनले जुत्ता बनाउन र सिलाउन आफ्ना बाबु झुप्रे सार्कीबाट सिकेका थिए। बुबा दैलेख, जुम्ला गरिरहन्थे। वर्षामा जुम्ला पुगेर जुत्ता सिलाउने उनी हिउँदमा दैलेखबजारमा जुत्ता सिलाउँथे। त्यसैले गुजारा गरिरहेकाे थियाे।

बुबासँग जुम्ला-दैलेख गर्दागर्दै उनले आराे र धागाेले फाटेका जुत्ता सिलाउन सिके। थाेर बहुत गर्दागर्दा जुत्ता बनाउन पनि सिके। त्यसरी आउने आम्दानी घर परिवारकाे मुखमा माड पसाउने माध्यम बन्याे।

उनले आफ्ना जुम्ला बसाइका दिन सम्झिए। 'जुम्ला त धेरै पटक गएकाे छु। तर जुम्लामा बिजुली बलेकाे सालबाट गइन,' उनले भने, 'पछि बुबा बित्नुभयाे। त्यसपछि यतै बसेर काम गर्न थालेँ। हेल्बटास र घरेलुले तालिम पनि दिए। त्यसपछि तयारी जुत्ता बनाउन पनि सिकेँ।'

उनले भने अनुसार त्याे २०४० सालतिरकाे कुरा हाे। त्यस पछिबाट अन्तर जिल्लामा उनकाे सीप पुग्न सकेकाे छैन। तर, यतिबेला उनी फाटेका जुत्ता बाहेक नयाँ बनाउँदैनन्। नयाँ जुत्ता बनाउनकाे लागि उनकाे टहरामा कुनै पनि खालकाे कच्चा पदार्थ (छाला, साेल, सर्तल्ला, तना) छैन।

अघिल्लो वर्ष उनले जुत्ता सिलाएर कमाएकाे केही रकम जम्मा गरेर काेहलपुर गएर छाला, साेल, धागाे लगायतका सामग्री लिएर टहरा व्यवस्थित गरी धेरै नयाँ जाेर जुत्ता ल्याएर व्यापार चम्काउने साेचेका थिए। तर त्यही बेला काेराेनाकाे डरले लकडाउन भयाे। त्यसपछि उनकाे मनमा घाम लाग्न सकेकाे छैन।

'गाडी चडेर जान नपाइने। दाेकान खाेल्न पनि नपाइने। समूहमा हिँडडुल गर्न नपाइने। दाेकानमा दुई मान्छे बुस्न नपाइने। कमाउने अरु उपाय भएन,' उनले भने, 'त्यही सामान किनाैंला भनी बचाएका रुपियाँले घर खर्च चलाउनुपर्ने भयाे। छ जनाकाे परिवार छ। खानखर्चमै ठिक्क भएपछि दाेकानकाे हालत यस्तै भयाे।(खाली टहरा देखाउँदै)'

त्यसपछि उनकाे व्यवसायले हाँगा हाल्न पाएन। व्यवसाय नफैलिएपछि हाल उनकाे दाेकान फाटेका जुत्ता सिलाउने टहरामै सिमित हुन पुगेकाे छ।

'फाटा, पुराना जुत्ता चप्पल सिलाएर त गुजारा मात्रै हुने हाे। घरखर्च बाहेक केही जुट्दैन। अब नयाँ जुत्ता बनाउनलाई चाहिने सरसामान जुटाउन लगानी चाहिन्छ। लगानी हामीसँग छैन,' उनले भने, 'ऋण काडेर व्यापार गराैं भने किस्ता तिर्न मुस्किल पर्छ। सस्ताे ब्याजदरमा ऋण पाउनलाई हाम्राे पहुँच पुग्दैन।'

बैंकबाट ऋण पाउन धिताे चाहिन्छ। उनीसँग धिताे राख्ने जमिन र बैंकले पत्याउने खालकाे घर छैन। त्यसैले उनले जुत्ता बनाउन नपाएकै एक वर्ष भयाे। सायद आगामी दिनमा पनि उनले जुत्ता बनाउन मुस्किल छ। आउने पुस्ताकाे त परम्परागत पेसाप्रति कुनै रुचि नै छैन।

काेराेना आउनुभन्दा अगाडि उनी छाला ल्याउन पटकपटक काेहलपुर, बुटवल गरिरहन्थे। पछि काेराेनाले दिएन। अहिले उनीसँग लगानी छैन।

पहिला उनकाे पुर्खाले छाला आफैँ बनाउँथे। गाई, भैंसी, मृगकाे छालाबाट जुत्ता बनाउने उच्च काेटीकाे छाला बन्थ्याे।(छाला बनाउने प्रविधि यस शृङ्खलाकाे अन्तिममा प्रस्तुत गरिनेछ।) धागाे भैंसीकाे मेरुदण्डको नसाबाट बन्थ्याे।

बाबु बाजेले नसाका रेसाहरुबाट धागाे बनाउन अपनाएकाे तरिकालाई उनले यसरी सुनाए, 'भैंसीकाे मेरुदण्डको नसा निकालेर सुकाइन्थ्याे। सुकाएपछि त्यसमा टाँसिएकाे मासु आफैँ उप्किन्थ्याे। त्यसलाई भिजाएर मसिना सिराहरु तानेर धागाे बनाइन्थ्याे। त्याे निकै बलियाे हुन्थ्याे।'

माैरीकाे चाकाबाट मैन लगाएपछि डाेरी झन् बलियाे हुन्थ्यो। बागा, पाउदानी, आराेलगायतका सामग्री घरमै तयार हुन्थे।

आज अधिकांश सामग्री उद्याेगमा तयार भएर आउँछ। मैन समेत रेडिमेड पाइन थालेकाे छ। खाली आराे मात्रै आफैँ बनाउनुपर्छ। त्यसैले पनि लगानी नभई व्यवसाय विस्तार सम्भव नभएकाे राम बहादुरले सुनाए। 

प्रकाशित मिति: : 2021-12-03 18:20:00

प्रतिकृया दिनुहोस्