अर्चना अशोक चौरेले आफ्नो जिन्दगानी ‘उखु र चिनी’लाई नै सुम्पिइन्।
उनले उखुबारीमा काम गर्ने भारतको पश्चिम भेगका एकजना मजदुरसँग १४ वर्षमै विवाह गरिन्। ‘कलिलै उमेरमा हो नि,’ उनले भनिन्, ‘त्यतिखेर मलाई विवाहबारे पत्तो नै थिएन।’
वैवाहिक बन्धनमा बाँधिएपछि पतिसँगै उखु काट्थिन् उनी। उखु ओर्सांदै कमाएको पैसा साथीसंगीलाई सापटी दिन्थिन्।
उखुबारीका हजारौँ महिलाहरूले दशकौँदेखि उखुबारी र मिलमा नरकीय जीवन बाँचिरहेका छन्। उनीहरू नियमित रोगबाट असाध्यै ग्रसित छन्। ‘पीडादायी र असहज’ महिनावारीबाट थलिएका छन्।
गत हिउँदमा अर्चनाको ‘कम्मरमुनिको शरीर’ले नाटकीय मोड लियो। उनले पनि उखुबारी र चिनी मिलका ‘बँधुवा’ महिला मजदुरले भोग्दैआएको पीडा खप्नुपर्यो।
थकाइ र दुःखाइले सीमा नाघेपछि अस्पताल भर्ना भइन् उनी। शल्यक्रिया गरेर पाठेघर फ्याँकिन्। अनि, उनी उखुबारीमै फर्किन्।
०००
कोक र पेप्सीजस्ता बहुराष्ट्रिय कम्पनीहरूलाई ठूलो मात्रामा चिनी चाहिएको छ। चिनी उत्पादनका लागि ‘रोक, भोक र प्यास’ नभनी मराठी महिलाहरू बारी र मिलमा खटिएका छन्। तर, त्यो चिनीभित्र लुकेको ‘हिंसा र दुर्व्यवहार’को तीतो स्वाद छ।
चिनी उत्पादनमा महाराष्ट्रलाई पेय–पदार्थ कम्पनीहरूले ‘पावरहावस’का रुपमा हौस्याइरहेका छन्। तर, द न्यूयोर्क टाइम्स र फूलर प्रोजेक्टले उखुबारी र मिलभित्र डरलाग्दो तथ्य फेला पारेको छ। यी ब्रान्डहरूले मजदुरको रगत र पसिनामाथि कुठाराघात गर्दै करोडौँ रकम उठाइरहँदा ‘काम गरिखाने जमात भने जिउँदै मरिरहेको छ।’
जसले गर्दा बालबालिकाहरू श्रम शोषणको अत्यासलाग्दो खोपिभित्र हराइरहेका छन्। र, महिलाहरूलाई उखुबारीमा ‘वँधुवा मजदुर’का रुपमा प्रयाेग गरिएको छ।
श्रम दलालहरूले कलिला किशोरीहरूलाई पतिसँगै उखु काट्ने र बटुल्ने काममा खटाउनका लागि बालविवाहतिर धेकेल्छन्। अनि, उनीहरू मासिक पारिश्रमिक पाउनुको सट्टा आ–आफ्ना मालिकहरूबाट अग्रिम भुक्तानी लिन्छन्। ताकी छुट्टी बस्दासमेत ‘दलाललाई उल्टै पैसा फिर्ता गर्न सकियोस्।’
उखुबारीको काम सामान्य मानिएता पनि आर्थिक मन्दीले महिलाहरूलाई पाठेघरको शल्यक्रिया गर्न बाध्य तुल्याएको छ। दलालहरूले शल्यक्रियाको लागि पीडित महिलालाई ऋणको पासो थापिरहेका छन्।
उखुबारीका महिलाहरू दिन–प्रतिदिन थपिने कष्ट र पीडादायी महिनावारी सल्ट्याउन प्रयासरत छन्। तर तीमध्ये अधिकांश महिलासँग अर्को कुनै विकल्प नभएको मानवअधिकारीवादीहरू बताउँछन्। अशिक्षित भएकै कारण उनीहरू साहुबाट ऋण लगेर उखुबारीमा पेल्लिरहेका छन्।
शल्यक्रियामार्फत् पाठेघर हटाएपछि महिलाहरू फेरि क्षणभरमै काममा खटिन्छन्। ताकी महिनावारी भएको बेला ‘छुट्टी बस्न नपरोस्, अप्ठ्यरो परेको बेला चिकित्सककहाँ जान नपरोस्, शरीरबाट पानी बग्दा आराम गर्न नपरोस् र छिनछिनमा शौचालय धाउन पनि नपरोस्।’
तर, ४० वर्षमुनिका कुनै पनि महिलाले शल्यक्रिया गर्दा दीर्घकालिन रोगको सामाना गर्नुपर्छ। उखुबारीमा काम गर्ने धेरैजसो महिलाहरू डरलाग्दो स्वास्थ समस्याबाट घेरिएका छन्। भविष्य सहज बनाउने नाममा दलालबाट अग्रिम ऋण लिँदा उनीहरू झन्–झन् ऋणको जालोमा फस्दैछन्।
श्रमिक अधिकार समूह र संयूक्त राष्ट्र संघको श्रम एजेन्सीले उखुबारी र उखु मिलमा काम गर्ने महिलालाई जवरजस्ती काममा दलाएको उल्लेख गरेको छ।
‘अप्रेशन पछि म हतार–हतार काममा गएँ,’ अर्चनाले भनिन्, ‘पैसाको अघि मैले स्वास्थ्यलाई खासै महत्व दिइनँ।’
मजदुरको कथा–व्यथा उखु बेच्ने र किन्नेलाई थाहा नभएको होइन। तर दलालहरूले मजदुरमाथि बर्सारहेको हिंसाअघि आखाँ चिम्लिरहेका छन्।
सन् २०१९ मा कोकाकोला कम्पनीका सल्लाहकारले पश्चिम भारतको उखुबारी र चिनी मिलको भ्रमण गरेका थिए। त्यहाँ पुग्दा अधिकारीहरूले बालबालिकालाई उखु काट्ने काममा लगाएको र मजदुरलाई समयमै पैसा नदिएको प्रतिवेदन सार्वजनिक गरेका थिए। उक्त प्रतिवेदनमा १० वर्षमुनिका बालबालिकासँग अन्तर्वार्ता समेत गरेको उल्लेख छ।
सन् २०२४ मा प्रकाशित एक कर्पोरेट रिपोटकाअनुसार कम्पनीले भारतमा विस्तारै–विस्तारै बालश्रम घटाउने कार्यक्रमलाई प्राथामिकता दिनुपर्ने बताएको छ। महाराष्ट्रमा श्रम शोषण अत्याधिक छ। ‘पेप्सीको’ले सबै भन्दा धेरै चिनी यहीँबाटै किन्छ। अर्कोतिर कोकाकोलाले महाराष्ट्रमा नयाँ कम्पनी खाेल्दैछ। यसले पनि आधिकारिक रुपमा यहाँकै चिनी प्रयोग गर्ने निधो गरेको छ।
चरम गरीवीले थिचिएको ग्रामीण भेगमै पर्छ– बिड जिल्ला। जहाँका अधिकांश मानिसहरू उखु काट्ने काममा छन्। स्थानीय सरकारले सार्वजानिक गरेको एक सर्वेक्षणअनुसार बिड जिल्लाका ८२ हजार महिला उखुबारी र मिलमा काम गर्छन्। र, ती महिलामध्ये एकतिहाइले शल्यक्रिया गरेर पाठेघर फ्याँकेका छन्।
स्थानीय निकायको निगरानी, पत्रकारको रिपोर्टिङ र कम्पनीले बारम्बार चेतावनी दिँदा पनि मजदुरमाथि दुर्व्यवहार भइहेको छ। ‘शल्यक्रिया पछि धेरै काम गर्न सक्छौँ भन्ने महिलाहरूको सोच छ,’ जिल्ला न्यायधीश दीपा मुंडोल मुन्डेले भनिन्।
दलालहरू अनुहारअघि महिलाबारे उदार देखिन्छन्। उनीहरू बच्चा नजन्माउन दबाब दिँदैनन्। तर बच्चा नजन्मिदिए हुन्थ्यो भन्ठान्छन्। त्यसो त युवतीहरूले कारखानाभित्र बच्चा जन्माउँदा मालिकहरूको काम रोकिन्छ। उनीहरूको काम रोकिन्छ। त्यसकारण पनि पाठेघरको शल्यक्रिया गर्न तम्सिएका महिलाहरूलाई ऋण दिन दिन्छन् दलाल।
‘म अस्पतालबाट फर्केपछि अहिलेसम्म डाक्टरकहाँ गएकी छैन,’ उखुबारीमा काम गरिरहेकी ३० वर्षीया सविता दयानन्द लाङदागेले भनिन्। उनले गत वर्षमात्रै पाठेघरको सर्जरी गरेकी थिइन्।
भारत विश्वको दोस्रो ठूलो चिनी उत्पादन गर्ने देश हो। महाराष्ट्र राज्यले उत्पालनको लगभग एकतिहाइ हिस्सा ओगटेको छ। पश्चिमेली मुलुकका मुख्य कम्पनीलाई निर्यातसहित राज्यले दजनाैँ देशका नागरिकको मुख मिठ्याइरहेको छ।
०००
अर्चना सानो कदकी छिन्। झण्डै ५ फिट अग्ली। सुन आकारको डल्लो तर फूलजस्तै घुमेको नाख। जसले गर्दा उनको अनुहार चम्किलो देखिन्छ। जब उनी भावुक हुन्छिन् एकैसुरमा बोलिरहन्छिन्।
आफ्नो जीवन चिनीमै सम्मर्पित गरेको बताउँछिन् ३० वर्षीया अर्चना। ‘मानिसलाई हामीबाट फाइदा लिन सजिलो छ,’ उनले भनिन्, ‘किनकि हामी अशिक्षित छौँ।’
कलिलैमा उखु काट्न खटिएकी उनी बाँकी जीवन पनि उखुबारीमै बिताउने प्रतिज्ञा गर्छिन्।
अभावले गिजोल्लिएको छ, अर्चनाको परिवार। कठोर गरीवीका बाबजुत पनि उनले तीन सन्तान जन्माइन्। अर्चनालाई राम्रोसँग थाहा छ, उनका लागि उखु सबथोक हो। उखुबाहेक केही छैन। तर, उनी आफ्नो सन्तानलाई उखुबारीमा नखेदाउने कसम खान्छिन्।
(अमेरिकी अखबार द न्यूयोर्क टाइम्स र फूलर प्रोजेक्टमा प्रकाशित सामग्रीकाे संगीता शर्माले भावानुवाद गरेकी हुन्।)