‘एकताबद्ध एनआरएनए’का लागि नेतृत्व लिन तयार छु: आरके शर्मा

फाइल तस्बिर
फाइल तस्बिर

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियान्ता राजेन्द्रकुमार शर्मा (आरके)ले संस्थालाई एकताबद्ध बनाउने कार्यमा आफू नेतृत्व लिन तयार रहेको बताएका छन्।

गैरआवासीय नेपाली संघको मे ३ देखि ५ सम्म काठमाडौंमा तय भएको एकता महाधिवेशन नजिकिँदै गर्दा शर्माले एकताबद्ध एनआरएनएमा जोड दिए।

पूर्वअधयक्ष शेष घलेले एकता महाधिवेशन गराउन लागिपर्दा सचिवालयबाट कामकारबाही गर्दै आएको बद्री केसी समूह अक्टोबरमा महाधिवेशन गर्ने अडानमा रहेकै बेला शर्माले सबैले आफ्नो अडान छाडेर सहमतिका लागि इमानदार ढंगले प्रस्तुत हुनुपर्ने धारण राखेका हुन्।

एकताबद्ध एनआरएनएकै लागि आफू मेमा महाधिवेशन हुनुपर्छ भन्नेमा सहमत रहेको उल्लेख गर्दै शर्माले मन माझामाझ गरेर अब सबै मिल्ने बटोमा अघि बढ्न ढिला गर्न नहुने बताए।

उनले भने, ‘विश्वभरका गैरआवासीय नेपालीले एकता चाहेका छन्। कोही पनि अब एकताको बाटोबाट दायाँबायाँ गर्नुहुन्न। म एकताका लागि इमान्दार छु र एकताबद्ध एनआरएनए निर्माणका लागि नेतृत्व लिन पनि तयार छु।’

यद्यपि एकता महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने नदिने विषयमा भने उनले औपचारिक रुपमा घोषणा गरिसकेका छैनन्। तपाईंको उम्मेदवारी के हुन्छ? भन्ने प्रश्नमा उनले अहिले निर्णय लिइनसकेको र सबै एनआरएनए अग्रज र सहकर्मीहरूको राय सुझावका आधारमा आफू अघि बढ्ने बताए।

सर्वोच्चले एनआरएनएको विवादको सन्दर्भमा एकताको महाधिवेशन गर्न परमादेश दिनुअघि भएको ११औँ महाधिवेशनमा उनी अध्यक्षको उम्मेदवार थिए। तर, उक्त निर्वाचन विवादित भएसँगै उनले अर्का उम्मेदवार महेश श्रेष्ठसमेतको सहयोगमा बद्री केसीविरुद्ध अर्को समिति बनाएका थिए। यसम्बन्धमा अझै सर्वोच्चमा मुद्दा विचाराधीन रहेको छ।

बद्री केसीसँग विवाद चलिरहेकै बेला शर्माले एकता महाधिवेशनको पक्षमा भने बलियो साथ दिएका छन्।

एनआरएनएको एकता महाधिवेशन कुनै पनि हालतमा तोकिएको मितिमा हुने महाधिवेशन गराउने जिम्मेवारी पाएका डा. शेष घलेले बताउँदै आएका छन्।

प्रकाशित मिति: : 2025-04-22 19:07:00

प्रतिकृया दिनुहोस्